७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारलाई दिएकाे समर्थन तत्काल फिर्ता लिँदैनाैं : यादव

काठमाडौं–मधेसी मोर्चाका नेता महेन्द्र राय यादवले मोर्चाले सरकारलाई दिएको समर्थन अहिले नै फिर्ता नलिने बताएका छन्। तराई मधेस सदभावना पार्टीका अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव ल्याउनेमा आफूहरु अझै विश्वस्त रहेको बताउँदै सरकारलाई दिएको समर्थन अहिले नै मोर्चाले फिर्ता नलिने बताएका हुन्। यादवले भने, ‘सरकारले प्रस्ताव ल्याउँछ, मलाई पूर्ण विश्वास छ ।’

मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले सरकार गठनको पूर्वसन्ध्यामा काँग्रेस र माओवादी केन्द्रसँग मोर्चाले गरेको तीन बुँदे सहमति अहिलेसम्म कार्यान्वयन नभएको उल्लेख गर्दै सहमति कार्यान्वयनमा गम्भिर बन्नुपर्ने बताए। उनले संविधान संशोधनकालागि सरकारसँग आफूहरुको अझै विश्वास कायमै रहेको बताउँदै त्यसकालागि सत्तारुढ दलमात्रै नभई प्रमुख तीन दलहरु नै गम्भिर बन्नुपर्ने बताए। उनले सरकारले अविलम्ब संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने माग गरे।

मोर्चा सम्मिलित संघीय गठबन्धनका तर्फबाट संविधान संशोधनकालागि सरकारलाई दिएको समयसीमा आजैबाट समाप्त भएको जनाउँदै अझैपनि प्रमुख दलहरु गम्भिर बनेर सहमतिका आधारमा प्रस्ताव दर्ता गराउनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको उनको भनाइ थियो।

उनले अघि थपे, ‘हामी अझैपनि आशावादी छौं, सरकारले सबैसँग सहमति गरेर प्रस्ताव ल्याउँदा राम्रो हुन्छ, हामी प्रस्ताव आओस् भन्ने पक्षमा छौं, अब ढिलाई गर्नुहुँदैन।’
 प्रस्ताव ल्याउने मिति तय गरेर प्रधानमन्त्रीले पटक–पटक झुक्याउने काम गरेको भन्दै अब म्याद तोक्ने कुरा आफूहरुलाई स्विकार्य नभएको बताए।

उनले प्रदेशको सीमांकनबारेको समस्या आयोगबाट टुँगो लगाउने कुरा आफूहरुलाई कुनै हालतमा मान्य नभएको भन्दै अहिले नै संशोधनमार्फत टुँगो लगाउनुपर्ने बताए । उनले प्रस्ताव ल्याउन ढिलाई गरे आफूहरु बाध्य भएर सडक आन्दोलनमा जाने समेत चेतावनी दिए।

प्रकाशित: १४ मंसिर २०७३ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App