८ वैशाख २०८१ शनिबार
समाज

यौनधन्दा र मानव बेचबिखन : दुई जना जेल, दुई जना धरौटीमा रिहा

इटहरी - एक महिनाअघि १४ वर्षीया बालिकालाई होटलमा काम लगाइदिने वहानामा जबरजस्ती यौनधन्दा गर्न लगाएकोमा दुई जनालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । दुई जनाविरुद्ध मानव बेचबिखन मुद्दा चलाएकोमा धरौटीमा छुटेका छन् ।

बालिकालाई इटहरी प्रहरीले भदौ २९ गते उद्धार गरेको थियो । यहाँको वडा नं. ६ मा सञ्चालित दियालो होटलमा बालिकालाई काम लगाइदिने वहानामा धनकुटा लेगुवा पुलडाँडा घर भएकी आरती केसी भन्ने पवित्रा थापाले परिवारको अनुमतिबिनै ल्याएर यौनधन्दामा संलग्न गराएको सूचनाका आधारमा प्रहरीले उद्धार गरेको थियो ।

बालिकालाई उद्धार गरेपछि इटहरी वडा नं. २ का २२ वर्षीय हरि भन्ने लक्ष्मण राउत र भोजपुर घोरेटार वडा नं. १ घर भई इटहरी वडा नं. ५ मा बस्दै आएका २२ वर्षीय प्रदीप कोइराला पक्राउ परेका थिए । यी दुई जना पक्राउ परेपछि बालिकालाई यौनधन्दामा लगाउने भूमिकामा थापासँगै इटहरी वडा नं. २ का श्याम भन्ने अर्पण मगर पक्राउ परे ।

सात वर्षअघिसम्म इटहरी क्षेत्रका विभिन्न स्थानमा सञ्चालित केही होटलमा बालिका र युवती राखेर यौनधन्दा हुने गर्थे

जिल्ला अदालत सुनसरीका न्यायाधीश धर्मराज पौडेलको आदेशअनुसार थापा र मगरलाई वेश्यावृत्तिमा संलग्न गराएकोमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिइएको हो । यस्तै, लक्ष्मण र प्रदीपलाई मानव बेचबिखनमा मुद्दा चलाएकोमा १५–१५ हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको अदालतका प्रवक्ता गोपाल गिरीले बताए ।

अज्ञानता र आर्थिक प्रलोभन देखाएर बालिका र युवतीलाई ग्राहकसँग बसाएर यौनधन्दा गराउने पछिल्ला समयमा छुटपुट घटना भइरहेका बेला दुई जना पुर्पक्षका लागि जेल चलान र दुई जना मानव बेचबिखनमा धरौटीमा छुटेका हुन् ।

सात वर्षअघिसम्म पूर्वपश्चिम तथा कोसी राजमार्ग आसपासका इटहरी क्षेत्रका विभिन्न स्थानमा सञ्चालित केही होटलमा बालिका र युवती राखेर यौनधन्दा हुने गर्थे । त्यो बेला एकैसाथ सात जना होटल सञ्चालकलाई मुद्दा चलाए पनि केही महिनासम्म यौनधन्दाका घटना नगण्य भए । पछिल्लो समय निरन्तर प्रहरीको कडाइले गर्दा रोकिए पनि आंशिक घटना हुने क्रम भने रोकिएन ।

यौनधन्दा गराउने उद्देश्यले होटलमा बालिका, किशोरी र युवतीलाई राख्दा जिल्लाका विभिन्न स्थानभन्दा सबैभन्दा बढी इटहरी क्षेत्रमा सञ्चालित होटल सञ्चालकलाई मानव बेचबिखन मुद्दा चलाइएको छ । २०७५ साउनदेखि २०७६ असारमसान्तसम्म परेका कुल १३ वटा मुद्दामध्ये अहिलेसम्म पाँच वटा पछ्र्यौट भएका छन् ।

प्रकाशित: २ कार्तिक २०७६ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App