८ वैशाख २०८१ शनिबार
अन्य

डिप्रेसन र यौन समस्या

डिप्रेसन युवाको रोग हो। यो रोगबाट सबैभन्दा बढी युवा र महिला पीडित छन्। बालबालिका तथा प्रौढ पनि डिप्रेसनको सिकार हुने गर्छन्। वास्तवमा डिप्रेसन कुनै पनि उमेर, लिंग तथा वर्गका व्यक्तिलाई हुन सक्छ। यो रोगबाट आममानिस मात्र होइन, ठुल्ठूला हस्ती समेत पीडित थिए, छन्। वास्तवमा डिप्रेसनको प्रकोप निकै भयावह छ।

सन् १९९० मा विश्व स्वास्थ्य संगठनको एक अध्ययन अनुसार, डिप्रेसन चौथो प्रमुख रोग भएको तथ्य पत्ता लागेको थियो भने, सन् २०२० सम्म डिप्रेसन दोस्रो प्रमुख रोग हुने अनुमान गरिएको छ। वास्तवमा सही पहिचान नहुनु, लुकाउने–छुपाउने प्रवृत्ति बढ्नु र उचित उपचार नहुनुले पनि डिप्रेसनको जटिलता थपिएको हो।

डिप्रेसन र सेक्स
महिला–पुरुष दुवैमा सेक्स (यौन) समस्या पैदा गर्ने एक प्रमुख कारण हो, डिप्रेसन। यसले यौनेच्छामा कमी ल्याउनुका साथै यौन प्रक्रियामा समेत असर गर्ने गर्छ। डिप्रेस्ड महिलामा यौनेच्छामा कमी तथा चर्मोत्कर्षमा समस्या देखा पर्न सक्छ भने, डिप्रेस्ड पुरुषमा यौनेच्छा तथा यौन क्षमतामा कमी आउन सक्छ। डिप्रेसनका कारण लिंगमा कडापना नआउने तथा शीघ्रपतनको समस्या पनि देखा पर्न सक्छ। यस्ता समस्याले डिप्रेसन झन् बढ्ने गर्छ। त्यसैले यौन समस्याबाट पीडित व्यक्तिले कतै आफूमा डिप्रेसन त छैन भन्नेतर्फ ध्यान दिन जरुरी छ।

यहाँ उल्लेखनीय अर्को तथ्य यो छ कि, जसरी डिप्रेसनले यौन समस्या पैदा गर्छ, त्यसरी नै यौन समस्याले डिप्रेसन लगायत मानसिक समस्या पैदा गर्छ। कतिपय मनोवैज्ञानिकको दाबी छ, यौन समस्या नै मानसिक समस्याको कारक हो। खोज्दै जाने हो भने डिप्रेसन लगायत अधिकांश मानसिक समस्याको जरो यौन समस्यामा गएर टुंगिन्छ।

लक्षण
डिप्रेसनको मूल लक्षण भनेको उदासीनता तथा खिन्नता हो। डिप्रेसनबाट पीडित व्यक्तिको मन सधैँ उदासी र निराशाले घेरिएको हुन्छ। कुनै पनि आन्नददायक घटनाले उसलाई फरक पार्दैन। डिप्रेसनको मनस्थिति आमरूपमा हुने उदासी र निराशा भन्दा फरक हुन्छ। हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउँछन्, केही समय रहन्छन्, तर सुखद घटनासँगै मन पुनः खुसी हुन्छ, डिप्रेसनमा भने यस्तो हुँदैन।

जसरी डिप्रेसनले यौन समस्या पैदा गर्छ, त्यसरी नै यौन समस्याले डिप्रेसन लगायत मानसिक समस्या पैदा गर्छ। खोज्दै जाने हो भने डिप्रेसन लगायत अधिकांश मानसिक समस्याको जरो यौन समस्यामा गएर टुंगिन्छ।

कडा खालको डिप्रेसनका रोगी कहिल्यै खुसी देखिँदैनन्। उनीहरूमा उदासीसँगै अरुचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झनाशक्तिमा कमी आउनु, औधि चिढिनु जस्ता मानसिक लक्षण देखिन थाल्छन्।

त्यस्तै, निद्रामा गडबडी आउनु, तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, कब्ज रहनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हुँदै जानु वा धेरै खानु, यौनेच्छामा कमी आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदिमध्ये तीन–चारवटा शारीरिक लक्षण देखिएमा डिप्रेसनको शंका गर्नुपर्ने हुन्छ।

यसका साथै आत्महत्याको विचार मनमा आउनु तथा आत्महत्याको कोसिस गर्नु आदिले यो रोगको गम्भीर स्थितिलाई दर्शाउँछ। डिप्रेसनका १५ देखि २५ प्रतिशत रोगीले आत्महत्या गरेको पाइन्छ।

डिप्रेसनको असर
डिप्रेस्ड मानिस उदास, थकित तथा उत्साहहीन हुन्छन्। उनीहरूमा साथीसंगीसँग हाँसखेल गर्न तथा कुनै मनोरञ्जनका कार्य गर्न रुचि हुँदैन। डिप्रेसनबाट पीडित अधिकांश स्त्री–पुरुष दुवैलाई यौनप्रति रुचि हुँदैन। अझ डिप्रेस्ड महिला बढी प्रभावित हुन्छन्। उदासी, खिन्नता र नकारात्मक विचारहरूले गर्दा डिप्रेस्ड व्यक्तिको शारीरिक तथा मानसिक ऊर्जा कम हुन्छ। यस्ता रोगीले कि त बढी खान्छन्, बढी सुत्छन् र मोटाउँछन्, कि कम खान्छन्, राम्रोसँग निदाउँदैनन् र दुब्लाउँछन्। जसले गर्दा डिप्रेस्ड मानिसको शारीरिक स्वास्थ्य पनि बिग्रन्छ।

उत्साहहीन र ऊर्जाहीनका कारण शारीरिक क्षमतामा पनि कमी आउँछ र यौन प्रक्रियामा अवरोध देखा पर्छ। अपराधबोधका कारण अयोग्य आत्मछवि सिर्जना हुन्छ। यौन प्रक्रियामा कठिनाइ, नकारात्मक विचार तथा अनावश्यक शंका/उपशंकाका कारण पति–पत्नीको आपसी सम्बन्धमा कठिनाइ देखा पर्न सक्छ। परिवार नै भताभुंग हुन सक्छ। समस्या गम्भीर भयो भने कुरा आत्महत्यासम्म पुग्न सक्छ। त्यसैले यस्तो समस्यामा परेका स्त्री–पुरुषले समयमै उपचार गराएर आफ्नो अमूल्य जीवन नष्ट हुनुबाट जोगाउनुपर्छ।

उपचार
उचित उपचार गर्ने हो भने डिप्रेसन बिल्कुल ठीक हुन्छ। डिप्रेसन ठीक भयो भने डिप्रेसनका कारण देखापरेका सेक्स समस्या पनि हराउँछन्। पारिवारिक सम्बन्ध पुनः सुमधुर र प्रेममय हुन्छ। परिवारमा खुसी फर्किन्छ। डिप्रेसनले सम्बन्धित व्यक्तिलाई मात्रै नभएर परिवारका अन्य सदस्यलाई पनि प्रभावित पार्न सक्छ।

डिप्रेसनको उपचारमा औषधि (एन्टिडिप्रेसेन्ट) तथा मनोवैज्ञानिक टेक्निकको प्रयोग गरिन्छ। त्यसो त कतिपय अवस्थामा वैकल्पिक चिकित्सा पनि डिप्रेसनमा प्रभावशाली मानिन्छन्। युरोपतिर खासगरी जर्मनीमा सेन्ट जोन्स वर्ट नामक हर्बल मेडिसिनबाट डिप्रेसनको उपचार गर्ने गरिन्छ।

डिप्रेसनको उपचारका लागि प्रायः साइकिऐट्रिस्टले औषधि (एन्टिडिप्रेसेन्ट)लाई जोड दिन्छन् भने साइकोथेरापिस्टहरू कुराकानी (साइकोथेरापी) मा विशेष जोड दिन्छन्। तर, आरुन बेकको कग्निटिभ मोडल अनुसार, डिप्रेसनको प्रमुख कारण मानिसको सोच हो। यस मोडलका अनुसार नकारात्मक र अतार्किक सोचले नै डिप्रेसन पैदा गर्छ। त्यसैले डिप्रेसनको सर्वोत्तम उपचार विधि भनेकै साइकोथेरापी हो, सिबिटी (कग्निटिभ बिहेभियर थेरापी) हो। तर, कतिपय अवस्थामा साइकोथेरापीले प्रभावकारी रूपमा काम गरेन भने साइकिएट्रिक औषधि पनि सँगसँगै सेवन गर्नु राम्रो हुन्छ।
(लेखक मनोविद् हुन्)

प्रकाशित: २ कार्तिक २०७६ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App