७ वैशाख २०८१ शुक्रबार
अन्य

नाच्न थाल्यो बाँच्न गाह्रो

कोजाग्रत पूर्णिमाका दिन राष्ट्रपति विद्यादेवी भण्डारीका अगाडि नृत्य प्रस्तुत गर्दै देवगण। तस्बिरः उपेन्द्र लामिछाने

उनको नाम शिवकृष्ण। उनले धारण गरेको भेष भद्रकाली। तर उनको जीवनमा देवी–देवताको ‘पावर’को कुनै अर्थ छैन। बनमाला समुदायका ३० वर्षीय यी युवक ‘पावर ट्रेलर’ चलाएर जीविका चलाउँदै छन्। ‘नाच्न थाल्यो बाँच्न गाह्रो,’ कोजाग्रत पूर्णिमाको दिन असोज २६ गते राष्ट्रपति विद्या भण्डारीको सामुन्ने नाच देखाउन तयार रहेका उनले भने, ‘जसको अगाडि नाचे पनि हाम्रो आर्थिकस्तर सुध्रन सकेन।’ बाल्यकालदेखि नै नवदुर्गा गणमा सामेल भएर भगवान्को भेषमा बस्दै आएका उनी बीचका १० वर्ष परिवारको पेट पाल्न मान्छे भएको बताए। समुदायको आग्रहमा यस वर्ष पुनः नवदुर्गा गणमा सहभागी भएका उनले केही समयपछि  आफ्नै काममा फर्कने सुनाए।

कोजाग्रत पूर्णिमाको दिन राष्ट्र प्रमुख भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पूजाआजाका लागि आउने प्रचलन छ। यसपटक भने राष्ट्र प्रमुखलाई द्यो ब्वोय्केगु अर्थात् नवदुर्गा गणको नाच प्रदर्शन समेत गरियो। त्यही नाचमा शिवकृष्णका छोरा पनि सहभागी भए। कक्षा ४ मा अध्यनरत उनको छोरा सिर्जन बनमालाले बालकुमारीको भेषमा नाच देखाए।

‘मैले धान्न नसके पनि यसले संस्कृति धानिरहेको छ,’ शिवले सुनाए, ‘संस्कृति जोगाउनुपर्छ भन्ने लाग्छ।’ नाच्ने हाम्रो पुख्र्यौली पेसा रहेको बताउँदै उनले यसबाट पेट पाल्न भने समस्या परेको सुनाए। संस्कृति जोगाउनैका लागि यसपटक पनि कक्षा ८ मा अध्यनरत १५ वर्षीय राकेश बनमाला पनि शिंहको भेषमा नाच्न तयार थिए। आमा सरस्वतीसँग आएका उनी नाचका कारण पढाइमा केही बाधा पुगे पनि नाच्न रहर लागेको सुनाए। ‘नाच्दा खुसी लाग्छ,’ उनले भने, ‘त्यसैले नाच्न आएको हुँ।’

लिच्छविकालीन नवदुर्गा देवगणमा तान्त्रिक विधिबाट मानव शरीरमा देवत्व प्रतिष्ठा गरी नाचिने संस्कृतविद् ओम धौभडेल बताउँछन्। नयाँ पिँढी र पुराना पुस्ताको संयोजनमा नाच जीवन्त हुँदै आएको उनी बताउँछन्। ५५ वर्षीय दयाराम बनमालाले नाच्न थालेको त ४६ वर्ष भइसक्यो।

नवदुर्गा गणका विभिन्न देवीका भेषमा नाच्दै आएका उनी बाराहीको भेषमा थिए। ‘जुुन भेषमा रह्यो उस्तै लाग्छ,’ उनले भने, ‘नाच हाम्रो जीवनसँग जोडिएको छ।’ नाच जीवनसँग जोडिए पनि नाचेरै जीवन चलाउन समस्या रहेको उनले सुनाए। राष्ट्रप्रमूखको अगाडि नाच पेश गरेका उनले नाच्ने मान्छेका लागि हेर्ने सबै समान रहने सुनाए। ‘परम्परादेखि चल्दै आएको ताल अनुसार नाच्ने हो,’ उनले भने, ‘कसेले हेरिरहेको छ भन्ने कुरा नाच्नेलाई भान हुँदैन।’

मुख्यतः नवदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ, जसमध्ये १३ विभिन्न देवीदेवता हुन्छन्। जसमा भैरव, महाकाली बाराही, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव आदिको मुकुण्डोसहित नाच प्रदर्शन गरिन्छ। भावप्रधान यो नाचमा समाजका विविध पक्षलाई आकर्षक ढंगबाट प्रस्तुत गरिन्छ।

करिब ६ महिना नियमित रुपमा सञ्चालन गरिने यो नाच तान्त्रिक विधि मात्र नभएर मानवीय जीवनमा गरिने सबै संस्कार रहन्छ। नवदुर्गा नाच विजयादशमीको दिन शुरु भई गठेमंगल अघिको अष्टमीको दिन सम्पन्न हुन्छ। घण्टाकर्ण चतुर्दशीमा उत्पत्ति हुने नवदुर्गा भगस्थीको दिन जलमा प्रवेश गरी समापन गरिने संस्कृतिविद् धौभडेलले सुनाए।

प्रकाशित: २ कार्तिक २०७६ ०२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App