coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वीपीका डाक्टरले विरामीलाई प्रतिबन्धित ‘फुड सप्लिमेन्ट’ किनाउने गरेको खुलासा

धरान- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दक्षिण एयिसाकै प्रतिष्ठित एवं बिशेषज्ञ चिकित्सकहरु भएको नमुना अस्पताल मानिन्छ। तर, यहीँका चिकित्सकहरु भने कमिशनको लोभमा परेर विरामीहरुलाई प्रतिबन्धित र अनावश्यक औषधी प्रेस्काइब गरेर आर्थिक भार बोकाउने गरेको खुलेको छ।

औषधी व्यवस्था विभाग विराटनगरले शुक्रबार प्रतिष्ठान बाहिरका औषधी पसलहरुमा अनुगमन गर्दा डेढ सय भन्दा बढी फुड सप्लीमेन्ट बिक्रि वितरण हुने गरेको भेटेको थियो। ती सप्लिमेन्टहरु विभागले जफत गर्न खोज्दा औषधी व्यवसायीहरुले प्रतिष्ठानका डाक्टरहरुले नै प्रेस्काइब गर्ने गरेको भन्दै अवरोध पुर्याएका थिए। विभागका प्रमुख सञ्जिव शर्मा कट्टेलका अनुसार प्रतिष्ठानका डाक्टरले विरामीको पुर्जामा प्रेस्काइब गरेको प्रमाणसमेत भेटिएको छ। उक्त प्रेसक्रिप्सन अनुसार मात्र कुल ७ वटा औषधी सेवन गर्न डाक्टरले सुझाएको छ। तर, त्यसमध्ये २ वटा मात्र औषधी हो भने बाँकी ५ वटा खाद्य पुरक सामग्री (फुड सप्लीमेन्ट) हो। ‘यहाँ त ठुलो विकृति भएको पायौं, डाक्टरहरुले नै प्रतिबन्धित फुड सप्लिमेन्ट विरामीहरुलाई किनाउने रहेछन्,’प्रमुख कट्टेलले भने,‘डाक्टरले लेखेका ती फुड सप्लीमेन्ट विभागमा दर्ता भएको पनि छैन, र गुणस्तर परीक्षण पनि भएको छैन्। यो त चरम लापरवाही हो।’

प्रेस्काइब गर्नुपर्ने भए नेपालमा उत्पादन भएको र विभागमा दर्ता भएको फुड सप्लीमेन्ट पनि पाइने विभागको भनाई छ। तर वीपी प्रतिष्ठानका चिकित्सकहरुले भने नेपालमा प्रतिबन्धित फुड सप्लिमेन्ट लेखिदिने गरेको विभागले अनुगमनको क्रममा पाएको छ। ती फुड सप्लिमेन्टहरु अष्ट्रेलिया, भारत, बंगलादेशलगायत मुलुकबाट आयात गरिएको छ। जबकी कतिपय ती सप्लिमेन्टहरु ती देशमा नै पनि प्रतिबन्धित भइसकेको छ। ‘जिनसेङलाई अरुसँग मिसाएर बेच्न पाइदैन।

भिटामिनलाई आयुर्वेदिक कम्पोजिनसँग बेच्न हुदैन्, तर यहाँ डाक्टरले नै प्रेस्काइब गरेको पायौं। मैले दुःखको साथ भन्नु पर्छ, यो सब कमिशनकै खेल हो, ’प्रमुख कट्टेलले भने, ‘खासमा ३ सयको औषधी छ, तर फुड सप्लिमेन्ट विरामीलाई १० हजारको किनाएको छ, त्यो पनि ६ महिनासम्म खानपर्ने भनेर। गाउँका मान्छेलाई कति ठुलो आर्थिक नोक्सानी भइरहेको छ।’

विभागका अनुसार वीपी प्रतिषठन बाहिरको मेडिकलहरुमा अनुगमन गर्दा १ सय ६० देखि १ सय ८० प्रकारका प्रतिबन्धित फुड सप्लीमेन्ट बिक्रीवितरण भइरहेको पाइएको छ। ती सामानहरु शुक्रबार विभागले जफत गर्न खोजेपछि व्यवसायीहरुले अवरोध जनाएपछि जफत गर्न सकेन। विभागले ती व्यवसायीहरुलाई त्यस्ता फुड सप्लिमेन्ट फिर्ता गर्न एक साताको समय दिएको छ भने प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहलाई भेटेर डाक्टरहरुले प्रतिबन्धित फुड सप्लिमेन्ट प्रेस्काइब गराउने गरेको बारेमा जानकारी गराएको छ। ‘मेडिकलहरुले डाक्टरले नलेख्ने हो भने हामी बेच्दैनौं भने, त्यसैले प्रतिष्ठान पदाधिकारीलाई सचेत गराएका छौं, ’विभागका प्रमुख कट्टेलले भने,‘मेकिडल व्यवसायीहरुले पनि हाम्रो लगानी डुब्छ भनेर अवरोध गरे, हामीले १ साताभित्र जहाँबाट ल्याएका त्यहाँ फिर्ता गर्न भनेका छौं, नत्र सुरक्षा टोलीसहित जफत गछौं।’

प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा.गुरु खनालले विभागसँग सिफारिश गर्न मिल्ने र नमिल्ने औषधीको लिष्ट माग गरेको र प्राप्त भएपछि सोही अनुसार सबै विभागमा परिपत्र गरिने बताए। यो बिषय संवेदनशील भएको भन्दै खनालले विभागले पनि कडारुपमा नियमित अनुगमन गर्नुपर्ने बताए। ‘विभागले नियमित र दह्रो अनुगमन गर्नुपर्छ। संवेदनशील कुरा छ, हामीले लिष्ट मागेका छौं, आएपछि सोही अनुसार मात्र औषधी सिफारिश गर्न परिपत्र गछौं,’खनालले भने।

प्रकाशित: १ कार्तिक २०७६ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App