coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

झक्कु सुवेदीका छोरादेखि विप्लवका दाजुसहित २१ नेताविरुद्ध मुद्धा

प्रहरीले विप्लव समुहका २१ नेतासँगै बरामद गरेका हतियार ।

दाङ- दाङमा पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समुहका २१ नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्धा दर्ता गरेको छ। बिहिवार अति विकट क्षेत्र राजपुर गाउँपाालिकाको मुंग्रेठा भन्ने स्थानबाट नियन्त्रणमा लिइएका विप्लवका नेता तथा कार्यकर्ताहरुलाई शुक्रबार जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको बताए। मुंग्रेठास्थित ज्ञानेन्द्र विक्रम रानाको घरमा उक्त समूहको राप्ती ब्यूरोको बैठक चलिरहेको बेला प्रहरीले बिहिबार बिहान २ करिब बजे नियन्त्रणमा लिएको थियो। बिहिवार पक्राउ परेका उनीहरुको नाम प्रहरीले शुक्रबार मात्रै सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा विप्लवका दाजु चन्द्रबहादुर चन्द, सत्तारूढ दल नेकपाका नेता झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी लगायतका छन्। सांसद सुवेदीका छोरा सन्तोष विप्लव समुहको राप्ती व्यूरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्ज हुन्।

प्रहरीले उनीहरुको साथबाट विभिन्न हतियारसमेत बरामद गरेको जनाएको छ।  प्रहरीले मेड ईन युएसए लेखिएका दुई दुई राउण्ड गोली लोड भएका दुई थान पेस्तोल, चारथान कटुवा पेस्तोल, पाँच राउण्ड राइफलको गोली बरामद गरिएको जनाएको छ।

यसैगरि सुतली बम एकथान, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनीतिक प्रस्ताव लेखिएका तीन वटा ठेली, आर्थिक सहयोग माग गर्न तयार पारिएका ३० पाना लेटर प्याड, नेपाल कम्युनिष्ट पार्टी देखिएको परिचयपत्र र विज्ञप्ती लेखिएका ६ ठेली पनि बरामद भएको छ।

यसैगरि विभिन्न राजनीतिक दर्शन लेखिएका १३ वटा किताव, केहि नगद रकम तथा नेकपाको छाप एक थानलगायतका बन्दोवस्तीका सामानहरु प्रहरीले बरामद गरिएको जनाएको छ।

प्रदेश ५ मा १ सय ९२ जना पक्राउ  
५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार यो प्रदेशमा १ सय ९२ जना विप्लव समुहका नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ परेका मध्य सबै भन्दा बढि दाङमा ४४ जना छन्। यहाँको भौगोलिक विकटताका कारण पनि विप्लव समुहका नेता तथा कार्यकर्ताहरुलाई आफ्ना गतिविधी बढाउन केहि सहज भएको हुन सक्ने प्रहरीको अनुमान छ। बिहिबार राप्ती ब्यूरोको बैठक पनि राजपुर गाउँपालिकाको अति विकट ठाउँमा बसेको थियो। ‘यहाँको भौगोलिक विकटताको फाईदा यो समुहले लिएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालयका एसपी भट्टराईले भने ‘सडक असुविधा, टेलिफोन असुविधाका कारण पनि जिल्लाको नाका क्षेत्रलाई यो समुहका नेता तथा कार्यकर्ताहरुले सहज मानेका हुन्।’

यसैगरि नेकपाको बलियो पकड क्षेत्र मानिएको रोल्पामा २८ जना विप्लव कार्यकर्ता पक्राउ परेका छन्। नवलपरासी (पश्चिम) मा १९ जना पक्राउ परेका छन् भने रुपन्देही, बर्दिया, प्यूठान र कपिलवस्तुमा १६÷१६ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै बाँकेमा ११, अर्घाखाँचीमा १०,रुकुम पूूर्वमा ६, पाल्पा र गुल्मीमा ५÷५ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन्।

प्रकाशित: १ कार्तिक २०७६ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App