७ वैशाख २०८१ शुक्रबार
प्रवास

अशिष्ट गतिविधिले गैरआवासीय नेपाली आलोचित

राष्ट्रपति विद्या भण्डारी बुधबार गैरआवासीय नेपाली संघको सम्मेलन उद्घाटन गर्दै। तस्बिरः नागरिक

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनमा सहभागी हुन आएका केही प्रतिनिधिको अशिष्ट गतिविधिले गैरआवासीय नेपालीहरु आलोचित भएका छन्। विदेशमा बसेर जन्मभूमिका बेथिति, अव्यवस्था, भ्रष्टाचारबारे आलोचना गरेर आक्रोश पोख्दै आएका एनआरएनले विमानस्थलमा तोडफोडदेखि संघ निर्वाचनमा कुर्ची भाँच्ने र नाराबाजी गर्ने जस्ता उदण्ड क्रियाकलाप देखाएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

संघको उद्घाटनदेखि मतदान प्रक्रिया पनि अव्यवस्थित र भद्रगोल भएको भन्दै एनआरएनका प्रतिनिधिले दुःख र चिन्ता व्यक्त गरेका छन्। स्वच्छ प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्नुपर्ने भए पनि बिहारी शैलीको निर्वाचन भएको भन्दै टिप्पणी भएको छ। विकसित मुलुकमा पुगेर अध्ययन, रोजगारी, व्यवसाय गरे पनि बानी–बेहोरा नसुध्रिएको उनीहरुको क्रियाकलापले देखाएको छ। सभ्य, शिष्ट समाजमा बसेर आउँदा शिष्टता, मर्यादा, सभ्यता देखाउनुपर्नेमा अनुशासनहीन बनेको एनआरएनमाथि आरोप लागेको छ।

संघका पूर्वअध्यक्ष देवमान हिराचनले केही एनआरएनको क्रियाकलपालले चिन्तित तुल्याएको बताए। ‘एनआरएन साथीहरुका क्रियाकलाप अमर्यादित भए भनेर आलोचना भएको छ,’ हिराचनले भने, ‘यी घटनाबाट हामी चिन्तित छौं।’ एनआरएनले आफूलाई सुधार गरेर नजाने हो भने जनताको एनआरएनप्रतिको विश्वास गुम्ने हिराचनले बताए। विदेशमा आर्जन गरेको पुँजी, सीप, ज्ञान, प्रविधिलाई जन्मभूमिमा ल्याएर प्रयोग गर्न संघ स्थापना भएको उनले बताए। ‘सानातिना कमजोरीलाई सच्चाउँदै अघि बढ्नुपर्छ,’ उनले भने, ‘विदेशमा बसे पनि संयुक्त रुपमा देश विकासको अभियानमा लाग्नुपर्छ।’

–केही एनआरएनको क्रियाकलापले चिन्तित तुल्याएको छ : देवमान हिराचन, पूर्वअध्यक्ष
–एनआरएनएमा बिहारी शैलीको चुनाव भयो : नारायणदत्त कँडेल, उपाध्यक्ष, एनआरएनए बेलायत

संघको निर्वाचनमा उम्मेदवार बनेका प्रतिनिधि पार्टीको चुनावमा जस्तो उत्ताउलो र भड्किलो ढंगले प्रचार गरेका। निर्वाचनमा चुनाव प्रचारका लागि एनआरएन मात्र नभएर यहाँका युवायुवती परिचालन गरिएको थियो। एनआरएनए विदेशमा बस्ने सम्पूर्ण गैरआवासीय नेपालीको साझा संस्था भए पनि राजनीतिक दलको चुनावमा झैं प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए। अध्यक्षका प्रत्यासी कुमार पन्तलाई नेकपा र संघीय समाजवादी पार्टी, अर्का आकांक्षी कुल आचार्यलाई नेपाली कांग्रेसले समर्थन गरेका थिए। विदेशमा रहेका नेकपाका जनसम्पर्क समिति पन्तको पक्ष र काँग्रेसका जनसम्पर्क समितिका पदाधिकारी आचार्यको पक्षमा खुलेर चुनावी प्रचारमा लागेका थिए। विदेशबाटै आएका एक एनआरएनले संघको चुनाव बिहारी जस्तो भएको टिप्पणी गरे।

गैरआवासीय नेपाली संघ बेलालयका उपाध्यक्ष नारायणदत्त कँडेलले संघको निर्वाचनले बिहारी चुनावको झल्को दिएको टिप्पणी गरे। ‘निर्वाचनमा उच्छृङ्खल गतिविधि र गैरप्रतिनिधिसमेत सहभागी भए,’ कँडेलले भने, ‘बिहारी शैलीको चुनावले सबैलाई लज्जित बनाएको छ।’ कँडेलले निर्वाचनमा उम्मेदवारले पैसाको चलेखल भएको आरोप लगाए। ‘केही प्रतिनिधिलाई काठमाडौंमै खोजेर पनि समावेश गरियो,’ कँडेलले भने, ‘चुनाव प्रचार विद्यार्थी संगठनको जस्तो भड्किलो भयो।’ एनआरएनले आफ्नो आचरण, बानी व्यहार सच्याउनुपर्ने उनले बताए। ‘विदेशमा गएर राम्रा कुरा सिकेको भन्दै घमण्ड गर्छौं,’ उनले भने, ‘स्वदेशको बेथितिमा आलोचना गर्ने हामीले आफ्नो संस्थालाई राम्रोसँग सञ्चालन गर्न सकेनौं।’

संघको निर्वाचनमा फर्जी मतदाताले पनि मतदान गरेको भन्दै केही प्रतिनिधिले नाराबाजी गरेका थिए। पर्वतका एक जनप्रतिनिधिले जापानबाट एनआरएनको प्रतिनिधि बनेर भोट हालेको भन्दै आलोचना भएको थियो। पर्वतको पैयुँ गाउँपालिका–४ मा तत्कालिन नेकपा एमालेबाट उम्मेदवार बनेर निर्वाचित वडाध्यक्ष महेन्द्र श्रेष्ठले जापानको प्रतिनिधि बनेर मतदान गरेको एक प्रतिनिधिले बताए।

उद्घाटन सत्रको व्यवस्थापन पनि फितलो थियो। सम्मेलनको समाचार संकलनमा गएका पत्रकारले उद्घाटनस्थलसम्मको पहुँच पाएका थिएनन्। संघले विभिन्न छलफलका लागि विषयगत सत्र आयोजना गरेको भए पनि उम्मेदवार उक्त कार्यक्रममा सहभागी नभई भोट माग्न व्यस्त थिए। संघको आर्थिक प्रतिवेदनमा पनि विवाद भएको थियो। केही व्यक्तिका कारण संस्था बदनाम र राजनीतिकरण भएको भन्दै संघका प्रतिनिधिले दुःख व्यक्त गरे। संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले उद्घाटन सत्रको कार्यक्रम नै बहिस्कार गरेका थिए। संघको सम्मेलनमा चरम राजनीतिकरण भएको भन्द महतोले बहिस्कार गरेका हुन्। विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संगठनलाई कुनै पार्टीको भ्रातृ संगठन जस्तो बनाउन खोजेको महताको टिप्पणी थियो।
मेसिनमा खराबी छैन

निर्वाचन अव्यवस्थित भएको थियो। संघको निर्वाचनमा विद्युतीय मतदान गर्ने भनिए पनि मतदान मेसिनमा गडबडी आएको भन्दै बुधबारको मतदान राति अबेर स्थगित भएको थियो। आयोजकले भोटिङ मेसिनमा प्राविधिक समस्या आएको बताए पनि भोटिङ मेसिन निर्माता रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले मेसिनमा कुनै गडबडी नभएको बताएका छन्। संघका केही प्रतिनिधिले मेसिनको सोर्स कोड नदिए निर्वाचन हुन नदिने अडान लिएपछि उनीहरुलाई सोर्स कोड दिँदा ढिलो भएको उनीहरुले बताए। ढिलाइकै कारण मतदाताको फोटो र नाममा केही समस्या देखिए पनि त्यो समस्या तुरुन्तै समाधान गरेको उनीहरुको विज्ञप्तिमा उल्लेख छ।
मेसिनका कारण मतदान रोकिएको आशयको समाचार आएपछि उनीहरुले बिहीबार विज्ञप्ति निकालेर प्रस्ट पारेका हुन्। उनीहरुले विकास गरेको मेसिनले यसअघि दर्जनौं जटिल निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

उनीहरुको विज्ञप्तिमा पचासौं निर्वाचन सम्पन्न गरेको भोटिङ मेसिनमा आजसम्म कुनै प्राविधिक समस्या नआएको उल्लेख छ।

निर्धारित समय तालिका अनुसार मतदान नभएपछि केही प्रतिनिधि मतदान नगरी फर्किएका थिए। बुधबारको मतदान स्थगित भएपछि अध्यक्षका प्रत्यासी कुमार पन्तले समाजिक सञ्जालमार्फत माफी मागेका थिए। बिहीबार भएको मतदानमा २३ सय ४४ मत खसेको छ। ४२ पदका लागि भएको निर्वाचनमा केही पद निर्विरोध भएका छन्। बिहीबार साँझ मतदान सकिएको थियो।

प्रकाशित: १ कार्तिक २०७६ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App