८ वैशाख २०८१ शनिबार
अर्थ

साढे दुई वर्ष बित्यो, ६ सय मिटर सडक बनेन

पप्पु–वागमती जेभीले पाँच वर्षअघि ठेक्का लिएर अलपत्र छाडेको भैरहवा–लुम्बिनी सडकमा पर्ने तिनाउ नदीको पुल। तस्बिर : रेखा/नागरिक

बुटवल – सम्झौता अनुरुप काम भएको भए यतिबेला रुपन्देहीको बेलहिया नाकामा ६ लेनको फराकिलो सडक बनिसक्थ्यो। दायाँबायाँ फुटपाथ र सर्भिस लेनसहितको सडकले सवारी आवागमन सहज हुन्थ्यो। पर्यटकहरुको नेपाल प्रवेश पनि सुविधाजनक हुन्थ्यो। किनकि यो देशकै दोस्रो ठूलो व्यापारिक नाका हो। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने नाका पनि यही हो।

तर सम्बन्धित निकायको उदासीनता र ठेकेदारको लापरवाहीले यो नाका अस्तव्यस्त छ। बुटवल–बेलहिया व्यापारिक मार्गको बेलहिया–डण्डा साढे ६ सय मिटर सडक २०७६ को असोजमा निर्माण सक्ने गरी २०७३ को चैतमा ठेक्का सम्झौता भएको हो। १७ करोडमा ठेक्का पाएको बिरुवा कन्सट्रक्सन कम्पनीले निर्माण सम्पन्न गर्नुपर्नेसमय सकिइसक्दा जम्मा २१ प्रतिशत काम गरेको छ। भत्काएर असरल्ल छोडिएको सडकको छेउछाउमा निर्माण सामग्री छन्। बीचको साँघुरोबाट गाडी गुड्छन्। यसले गर्दा नाकामा मालबाहक गाडीसँगै पर्यटकका गाडी घन्टौं जाममा पर्छन्। पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर बसिसक्नु हुँदैन। धुलो र हिलोले आजितस्थानीयले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। ठेकेदारको ढिलाइ र लापरबाहीबारे प्रशासन र आयोजना प्रमुखलाई पटकपटक ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएको बेलहियाका स्थानीय शान्तकुमार शर्माले बताए।

व्यापारिक मार्ग बिस्तार आयोजना प्रमुख जिवेन्द्र मिश्रले बाटो निर्माणमा ढिलाइ हुनुको दोष सडकछेउका घरधनी, विद्युत्प्राधिकरण र पानीलाई दिए। मिश्रले स्थानीयले घर भत्काउन अटेरी गर्दा ढिलाइ भएको भनेपनि सडकछेउका बासिन्दाले गत मंसिरमै घर भत्काइसकेका छन्। मंसिरयता अनेक बहानामा काम रोकेर बसेको ठेकेदारलाई कारवाही गर्नुको साटो म्याद थपिदिने तयारी छ। ३० महिनामा ६ सय मिटर बाटो निर्माण गर्न नसकेको बिरुवालाई उल्टै म्याद थप्ने तयारी भइरहेको आयोजना प्रमुख मिश्रले बताए।

सम्बद्ध अधिकारीलेढिलाइको दोष सडकछेउका घरधनी, विद्युत् प्राधिकरण र खानेपानीलाई दिए पनि स्थानीयले गत मंसिरमै घर भत्काइसकेका छन्। तैपनि अनेक बहानामा काम रोकेको ठेकेदारलाई कारवाहीको साटो म्याद थपिदिने तयारी छ।

व्यापारिक मार्गकै अञ्चलपुर खण्डमा २८ सय मिटर बाटोको म्याद डेढ वर्षअघिनै सकिएको हो। बिरुवा–श्रेष्ठ–एपेक्स जेभीले ठेक्का सम्झौताअनुरुप काम नसकेपछि आयोजनाले दुईपटक गरी १५ महिना म्याद थपिसकेको छ। दोस्रोपटक थपेको म्याद पनि कात्तिक १५ मा सकिँदैछ। तर कामको प्रगति ८२ प्रतिशत रहेको आयोजनाका इन्जिनियर अरुण क्षेत्रीले बताए।

पप्पुले भैरहवा–लुम्बिनी रोडमा पर्ने दुईवटा खोलमा पुल निर्माणको ठेक्का लिएर अलपत्र छोडेको डेढ वर्ष भयो। बुद्ध जन्मस्थल लुम्बिनी जाने पर्यटकीय मार्गको तिनाउ र दानव खोलामा २०७१ मै पप्पु–वागमती जेभीले पुल निर्माणको ठेक्का लिएको हो। सम्झौताअनुरुप २०७३ को असारमै पुल बनिसक्नुपर्ने हो। तर आयोजना होल्ड गरेर मोबिलाइजेसन खर्च लगेपछि करिब दुईवर्ष पप्पुले कामै गरेन। तैपनि२०७५ असारसम्मका लागि म्याद थप गरियो। दुई वर्षमा सक्ने भनिएका पुलको पाँच वर्षपछिको कार्यप्रगति जम्मा दानवको २५ र तिनाउ पुलको ५० प्रतिशत छ। अघिल्लो असारदेखि निर्माणको काम ठप्प छ। पप्पुले कागजी प्रगति बढी देखाएर भुक्तानीसमेत बढी लिएको छ। हुलाकी राजमार्ग अन्तर्गतका यी दुई पुल निर्माणमा सुरुदेखि नै भइरहेको लापरबाही र ढिलासुस्तीप्रति सम्बन्धित निकायले आँखा चिलिएको छ। यसको नकारात्मक प्रभाव लुम्बिनीको पर्यटनमा परेको छ। यहाँका पुराना पुल साँघुरा र जीर्ण हुँदा मालबाहक र पर्यटकका गाडीको जाम लाग्छ।

निर्माणाधीन भैरहवा–लुम्बिनी–तौलिहवा चार लेन सडकको गति झन् सुस्त छ। हुलाकी राजमार्ग अन्तगर्तको यो सडकलाई पर्यटकीय मार्गको रुपमा छिटो निर्माण गर्ने उद्देश्यले एसियाली विकास बैंक (एडिबी)को लगानीमा तीनवर्षअघि स्तरोन्नति थालिएको हो। २०७६ पुसमा निर्माण सक्ने गरी २०७३ असारमा ठेक्का सम्झौता भएको सडकको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ। त्यसमा पनि भैरहवा–लुम्बिनी खण्डको प्रगति ३५ प्रतिशतहाराहारी छ। भारतको हरियाणास्थित कम्पनी गाँवर कन्सट्रक्सनले अनेक बहानामा काममा ढिलाइ गरिरहँदा सम्बन्धित सरकारी निकाय मौन छ। बाटो निर्माणमा ढिलाइसँगै कमसल सामग्री प्रयोग हुँदा निर्माणकै क्रममा डिभाइडर छुट्ट्याउन प्रयोग हुने मिडियन कर्ब फुटेका छन्। सडक निर्माणमा भइरहेको ढिलाइले २० मिनेटको भैरहवा–लुम्बिनी यात्रा तय गर्न एक घन्टा लाग्छ। सडकमा ठुल्ठूला खाल्डा, धुलो, हिलोले सवारी आवागमनमा निकै समस्या छ। निर्माणाधीन सडक र पुलकै कारण पर्यटकले सास्ती भोग्नुपरेको लुम्बिनीका पर्यटन व्यवसायी गोविन्दप्रसाद ज्ञवालीले बताए। सडकको दुरवस्थाले यो वर्ष लुम्बिनी आउने पर्यटकको संख्यासमेत घटेको छ।

यी त केही उदाहरण हुन्।ठेक्का हात पारेर काम नगर्ने प्रवृत्तिले रुपन्देहीमा सञ्चालित ठूला साना दजर्नौं आयोजना अलपत्र छन्। केहीको गति निकै सुस्त छ। बुद्ध जन्मस्थल लुम्बिनीको मूल गेट अघिल्तिरकै सडक भत्काएर तीन महिनादेखि असरल्ल छाडिएको छ। बेथरी–बेलबास सडक, बुद्ध परिक्रमा पथ जस्ता सडकसागै सिँचाइ र खानेपानीका अधिकांश आयोजना वर्षौंदेखि पूरा हुन सकेका छैनन्। सुरुको ठेक्का सम्झौता अनुरुप निर्माण सम्पन्न भएका वा हुने क्रममा रहेका आयोजना जिल्लामा सितिमिति भेटिँदैनन्। कमिसनको चक्करमा योजनाका कर्मचारीले नै ठेकेदार जोगाउने र ढिलासुस्ती गर्नेलाई कारवाही गुर्नको साटो उल्टै म्याद थप गरी प्रोत्साहन गर्दा विकासमा लापर्बाही र बेथिति बढेको जानकार बताउँछन्।

पछिल्लो समय स्थानीय, प्रदेश र संघको क्षेत्राधिकार सम्बन्धी अन्योलले पनि महत्वपूर्ण आयोजना अलपत्र पारिएका छन्। विकासे आयोजनामा ठकेदारको लापरवाही बढ्नुमा सम्बन्धित सरकारी अधिकारी सबैभन्दा बढी जिम्मेवार रहेको बताउँछन्, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने। ‘दुई वर्षमा ६ सय मिटर बाटो बनाउन नसक्ने ठेकेदारलाई कारबाही गरिँदैन, उल्टै म्याद थपिदिएपछि विकासमा ढिलासुस्ती नभएर के हुन्छ?’ संघका अध्यक्ष न्यौपाने प्रश्न गरे।

विकास निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्ती अन्त्य गर्न ठेकेदारसँगै सम्बन्धित सरकारी अधिकारीलाई पनि छानबिनको दायरामा ल्याइनुपर्नेमा न्यौपानेले जोड दिए।

प्रकाशित: १ कार्तिक २०७६ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App