coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अलेप्पोमा सरकारी नियन्त्रण

सिरिया–सिरियाली सरकारी फौजले पूर्वी अलेप्पोका केही भाग नियन्त्रणमा लिन सफल भएको जनाइएको छ । दुई भागमा बाँडिएको अलेप्पोको पूर्वी भागमा सेनाले माइन र विस्फोटक पदार्थ पन्छाउँदै अगाडि बढिरहेको बताइएको छ ।  राज्यको टिभीले सरकारी फौजको विजयको पुष्टि गरेको हो ।

द्न्द्वलाई नियालिरहेका संस्थाले आइएले कब्जामा लिएका मध्ये तीन तिहाई भूभाग गुमाएको बताएको छ । हानानोमा नियन्त्रण जमाएपछि सरकारी सैन्यलाई विद्रोहीहरुको नियन्त्रणमा रहेका इलाकामाथि कारवाही गर्न सहयोग पुग्ने बताइएको छ । सैयौं सर्वसाधारण ती क्षेत्र छाडेर भागेको समाचारहरुमा जनाइएको छ । विद्रोही सूत्रहरुले हानानो इलाका अब सरकारी नियन्त्रणमा गएको पुष्टि गरेका छन्। झण्डै पाँच वर्षअघि विद्रोहीहरुले अलेप्पो शहरको उक्त इलाकामाथि कब्जा जमाएका थिए ।

अब सरकारी सैन्यले विद्रोहीहरुको नियन्त्रणमा रहेका अन्य पूर्वी इलाकाहरुमाथि पनि नियन्त्रण कायम गर्ने प्रयास गरिरहेका छन् । गएको १३ दिनदेखि सिरियाली सेनाले पूर्वी अलेप्पोलाई चारैतिरबाट गरिरहेको घेराबन्दीमा झण्डै पौने तीन लाख मानिस परेको अनुमान गरिएको छ ।

युकेमा मुख्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले सेनाको पछिल्लो हमलामा २७ जना केटाकेटी सहित दुईसय जनाभन्दा बढी सर्वसाधारणको ज्यान गएको जनाएको छ । उक्त संस्थाका अनुसार पू्र्वी अलेप्पोमा खानेकुरा र औषधीको अभाव छ ।

सिरियामा गएको साढे ५ वर्षदेखि जारी गृहयुद्धमा पुरै अलेप्पो शहरमाथि नियन्त्रण कायम गर्नु राष्ट्रपति बसर अल असदको सरकारकालागि एउटा ठूलो जित हुनेछ । विद्रोहीहरुले गएको केही दिनयता रुसी समर्थन प्राप्त सिरियाली सैन्यले भीषण हवाइ हमला जारी राखेको बताएका छन् । उनीहरुले सरकारको नियन्त्रणमा रहेको पश्चिमी अलेप्पोमाथि रकेट हमला जारी राखेका छन् । ती हमलामा ११ जना केटाकेटी सहित कम्तीमा २७ जना सर्वसाधारणको ज्यान गएको अब्जरभेटरीले जनाएको छ ।

    
गृहयुद्धअघि सिरियाको व्यापारिक तथा औद्योगिक केन्द्रको रुपमा रहेको अलेप्पो शहर अहिले ध्वस्त जस्तै बनेको छ । शहरको पश्चिमी भागमा सरकारी नियन्त्रण कायम छ भने पूर्वी भाग विद्रोही नियन्त्रणमा छ । अलेप्पोमा सर्वसाधारण बसोबास गरिरहेका इलाकामा पनि हवाइ हमला गरेको भनी रुसको कडा आलोचना गरिएको थियो ।

तर अहिले रुसले उसका हवाइ सेना सिरियाका अरु भागमा सक्रिय रहेको तर अलेप्पोमा जारी हवाइ हमलामा उनीहरुले भाग नलिएको जनाएको छ । मानवीय सहायता संस्थाहरुले गएको झण्डै तीन महिनादेखि पूर्वी अलेप्पोमा कुनै सहायता सामग्री पठाउन नसकेको जनाएका छन् ।
संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय रेडक्रसले त्यहाँ अत्यावश्यक सामग्री पठाउन अस्थायी युद्ध विरामकालागि आह्वान गरेका छन् तर अहिलेसम्म त्यो संभव भएको छैन ।

संवाददाताहरु भन्छन्  ‘अलेप्पोमा खाने कुरा र पिउने पानीलाई युद्धको हतियारको रुपमा प्रयोग गरिएको छ । बजारमा पीठो सकिएको छ, न तरकारी नै पाइन्छ। जे पाइन्छ, तिनको मूल्य आकासिएको छ ।’

गत महिना दुईवटा अस्पताललाई हवाई हमलाको निशाना बनाइँदा तीनजना चिकित्सक तथा दुईजना नर्सको ज्यान गएको थियो । अलेप्पोमा युद्धविराम गराउने अन्तर्राष्ट्रिय प्रयास सफल नहुँदा त्यहाँ मानिसहरुको जीवन अत्यन्तै कठिन बन्दै गएको छ । सिरियाको दोस्रो ठूलो सहर अलेप्पोलाई सरकारी नियन्त्रणमा ल्याउनु बसार सरकारको मुख्य उद्देश्य रहेको छ । पूर्वी अलेप्पो आफ्नो हातबाट गुम्नु विद्रोहीका लागि सबैभन्दा झट्का हुने अनुमान गरिएको छ ।

क्याप्सन ः पूर्वी अलेप्पोको शेख मकसुदमा विद्रोही नियन्त्रित स्थानबाट बच्चा र सामानका साथ बाहिरिँदै सिरियन महिला । आइएसको नियन्त्रणमा रहेको सो स्थान कुर्दीस लडाकुले कब्जामा लिएको  बताइएको छ ।

प्रकाशित: १४ मंसिर २०७३ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App