coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रुबिनाको विस्फोटक ब्याटिङ

प्लेयर अफ दी म्याचको पुरस्कार ग्रहण गर्दै रुबिना क्षेत्री। तस्बिर : नागरिक

काठमाडौं – कप्तान रुबिना क्षेत्रीको विस्फोटक ब्याटिङको मद्दतमा क्याट क्विन्स काठमाडौंले बिहीबार पोखरा पल्टनमाथि ८२ रनको फराकिलो जित निकाल्दा राजधानीमा जारी वुमन्स क्रिकेट लिग (डब्लुसिएल) मा पहिलो जित दर्ता गराएको छ।

पहिलो खेलमा बुधबार चितवन राइनोजसँग पराजित भएको क्याट क्विन्स काठमाडौंले पोखरा पल्टनमाथि जित निकाल्दै पहिलो जित दर्ता गराएको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्याट क्विन्सले निर्धारित २० ओभरको समाप्तिमा पाँच विकेट गुमाएर दिएको १ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा पल्टन सबै विकेट गुमाउँदै ७० रनमा खुम्चिँदा कप्तान रुविनाको टोलीले फराकिलो जित निकाल्न सफल भएको हो।

जबाफी ब्याटिङ गरेको पोखराका लागि दुई खेलाडीबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। ओपनर तथा कप्तान सीता रानामगर १७ रन बटुल्ने क्रममा रनआउट भएपछि पोखरा संकटमा परेको थियो। पहिलो विकेटका लागि क्रिजमा उत्रिएकी विन्दु रावलले १३ रन जोड्दा उनलाई साथ दिने अन्य खेलाडी रहेनन्। चार खेलाडी शून्यमा पवेलियन फर्किएए भने अन्य खेलाडी १० रनभित्र खुम्चिएका थिए।

पोखराको इनिङ्सलाई सस्तैमा समेट्न क्याट क्विन्सको फिल्डिङ उत्कृष्ट रह्यो। पाँच खेलाडी रनआउट हुँदा सरस्वती कुमारी र अपसरी बेगमले समान २ विकेट लिए भने लक्ष्मी साउदको नाममा एक विकेट रह्योे।

यसअघि पहिला ब्याटिङ गरेको क्याट क्विन्सले कप्तान रुबिनाको अविजित ८३ रनको मद्दतमा पोखरा पल्टनविरुद्ध १ सय ५२ रन जोड्न सफल भएको थियो। विस्फोटक ब्याटिङ गरेकी रुबिनाले ६७ बलको सामना गर्दै १४ चौका र २ छक्का प्रहार गरेकी थिइन्। २० रन जोड्दा पहिलो विकेट गुमाएको क्याट क्विन्सले २२ रन जोड्दा दोस्रो विकेटको रूपमा रश्मि चौलागाईंलाई गुमाएको थियो। शोभा आलेले १२ रन जोड्दै गर्दा पवेलियन फर्किंदा रोमा थापा १९ रनमा अनुराधा चौधरीको बलमा मञ्जु बोगटीबाट क्याच भइन्। ममता थापा शून्यमा पवेलियन फर्किंदा अप्सरी बेगम १ तथा ईश्वरी विष्ट १० रनमा अविजित रहिन्।

क्याट क्विन्सको पाँच विकेट लिने पोखरा पल्टनकी अनुराधा चौधरी एक्लैले चार विकेट हात पार्दा कविता कुँवरले एक विकेट आफ्नो नाममा लेखाइन्।

प्रतियोगितामा विजयी क्याट क्विन्सले शनिबार र पराजित पोखरा पल्टनले शुक्रबार विराटनगर टाइटन्सको सामना गर्नेछ।

प्रतियोगिताअन्तर्गत बिहीबारै सम्पन्न अर्को खेलमा विराटनगर टाइटन्स वुमन्सले ललितपुर फाल्कोन्सलाई ४ विकेटको हराउँदै तालिकामा शीर्ष स्थान उक्लिएको छ। २ अंक जोडेको विराटनगरसँग चितवन राइनोजको पनि समान अंक भए पनि रन रेटको आधारमा चितवन दोस्रो स्थानमा परेको हो।

शीर्ष स्थानमा उक्लिँदा विराटनगर टाइटन्सले ललितपुर फाल्कोन्सले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर दिएको १ सय २३ रनको लक्ष्य २४ बल बाँकी रहँदा भेटाउँदै शीर्ष स्थानमा उक्लिएको हो। जबाफी ब्याटिङ गरेको विराटनगरका लागि विकेटकिपर ज्योति पाण्डेले अर्धशतकीय इनिङ्स खेलिन्। ओपनरका रूपमा क्रिकेटमा उत्रिएका पाण्डेले ४३ बलको सामना गर्दा १० चौका र १ छक्का प्रहार गरेकी थिइन्। सोनु खड्काले २४ रनको पारी खेल्दै ममता चौधरीबाट रनआउट हुँदा अस्मिना खड्काले अविजित १२ रनको योगदान गरिन्। सीता राना मगर सम्झना खड्काको बलमा बोल्ड हुँदै पवेलियन फर्किंदा अन्य ब्याट्सवुमनले सम्झनलायक स्कोर गर्न सकेनन्। विराटनगरको ६ विकेट हात पार्न सम्झना खड्काले दुई तथा करुणा भण्डारीले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ललितपुरका लागि ममता चौधरीले सर्वाधिक २८ रनको मद्दतमा निर्धारित २० ओभरमा १ सय २२ रन जोड्न सफल भएको थियो। करुणा भण्डारी २१ रनमा पवेलियन फर्किंदा कृति सेन र सम्झना खड्का समान १३ रनमा अविजित रहे। ललितपुरको इनिङ्सलाई रोक्न सबनम राई र आरती विडारीले समान एक विकेट लिए भने पाँच खेलाडी रनआउट भएका थिए।

प्रतियोगितामा शुक्रबार विराटनगर टाइटन्स वुमन्स र पोखरा पल्टन तथा चितवन राइनोज र ललितपुर फाल्कोन्सबीच खेल हुनेछ।
विस्फोटक ब्याटिङ गरेकी रुबिनाले ६७ बलको सामना गर्दै १४ चौका र २ छक्का प्रहार गरेकी थिइन्।

प्रकाशित: १ कार्तिक २०७६ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App