८ वैशाख २०८१ शनिबार
विचार

महेन्द्र, वीरेन्द्र–माओ

शक्तिमा बसेका महत्वपूर्ण व्यक्तिले गद्दारी गर्दा कैयन् राष्ट्र क्षतविक्षत, परास्त र लोप भएका छन्। वर्तमान बंगलादेश (तत्कालीन पूर्वी बंगाल) र नेपालको सिमाना नजिक रहेको हालको पश्चिम बंगाल कुनै बेला विशाल र शक्तिशाली बंगाल राज्य थियो। सिक्किम पनि स्वाधीन थियो।

मुर्सिदावाद रियासतका शासक थिए, सिराज उद्दौला। उनका नातेदार र विश्वासी जाफर अलि खाँ (मिर जाफर) प्रधानसेनापति थिए। अंग्रेज शासकले उनलाई त्यो युगमा (सन् १८५६/५७) चौबीस प्रगन्ना (जिल्ला) र झन्डै ३ करोड रुपैयाँ बकस दिएर शासक बनाउने लोभ देखाए। सेनापतिले गद्दारी गर्दै आत्मसर्मपण गरेपछि बंगालको अस्तित्व समाप्त भयो।

फ्रान्सको राजदरबारमा राजा लुई (सोह्राैं) लाई समेत हेप्ने रानी, भारदार, सचिव र सल्लाकारहरूले समयमै धरातलीय यथार्थ स्वीकार गरेनन्। उच्च, मध्यम र निम्न आय भएका जनतामध्ये उच्च वर्गलाई बढी कर लगाउनुपर्छ भनेर अर्थमन्त्री टुर्गोले दिएको सुझाव रानीले अस्वीकार गरिन्। सरल, भद्र र विनम्र राजाले प्रतिवाद गर्न सकेनन्। अन्त्यमा राजा काटिए, राजतन्त्र गयो।

विभिन्न शक्तिको प्रत्यक्ष–परोक्ष स्वार्थमा नेपाल क्रमशः फस्दै गएको छ।

सन् १७८९ को फ्रेन्च क्रान्तिको प्रमुख कारण थियो– भोक। महँगी, मुद्रास्फीति, बेरोजगारी, नातावाद र भ्रष्टाचारले आक्रान्त जनतालाई केही क्रान्तिकारीले उकासे। राजा लुई चौधौंका पालासम्म स्वर्णयुग रहेको कुरा साहित्यकार भोल्तेयरले ‘द एज अफ लुई फोर्टिन्थ’ ग्रन्थमा लेखेका छन्।

चर्च (परम शक्तिशाली), दरबारका नातागोता र धनाढ्य वर्गका गलत सल्लाहले कूटनीतिक अस्थिरता र आन्तरिक असन्तुष्टि बढ्यो। समयमा सही सूचना नपाउँदा राजा लुई ‘कुहिरोको काग’ भए। संविधानमा राजाको अधिकार काट्ने कुरा त लेखियो, तर कम्युनिस्टहरू राजाको घाँटी नै काट्नुपर्छ भन्ने निधोमा पुगे।

वेदलगायत हाम्रा प्राचीन ग्रन्थमा सज्जनलाई खुसी राख्न र दुर्जनलाई दण्ड दिन राजा सदैव तत्पर रहनुपर्छ भनिएको छ। ‘दुष्टस्य दण्ड सुजनस्य पूजा’ भन्ने प्रसंग आउँछ, शास्त्रमा। चाणक्यको अर्थशास्त्र, मनुस्मृति, महाभारत, शुक्रनीति, सत्यार्थप्रकाश आदि ग्रन्थमा राजधर्मका प्रसंग र परिभाषा छन्। भीष्मले युद्धपछि राजा युधिष्ठिरलाई ३६ वटा उपदेश दिए, राजधर्मबारे। शासकले धर्म मान्नैपर्छ र प्रजालाई धर्म–संस्कृतिप्रति आकर्षण तथा निष्ठावान् बनाउनुपर्छ भनेका छन्, भीष्मले। अधर्मी र पापीलाई संरक्षण नदिनू, राष्ट्रको उपकार र अपकार गर्नेलाई चिन्नू भनेका छन्। किसानलाई श्रेष्ठ प्रजा भनेका छन्। प्रजालाई प्रसन्न राख्नू भन्ने उपदेश उनले दिएका छन्।

कौटिल्य (चाणक्य) भन्छन्– प्रजासुखे सुखं राज्ञः प्रजानां च हिते हितम्। नात्मप्रियं प्रिय राज्ञः प्रजानां तु प्रियं प्रियम् (अर्थशास्त्र १।१९), अर्थात् प्रजाको सुख र हित राजाको सुख र हित हो। राजाको छुट्टै स्वार्थ हुँदैन। पृथ्वीनारायण शाहको अर्ति– चीनका बादशाहसँग घाहा राख्नू भन्ने थियो। राजा महेन्द्रले सोही अर्तिअनुसार कूटनीतिक सम्बन्ध बनाए भने आन्तरिक सुरक्षा बलियो पार्दै ब्रिटेन, अमेरिका, चीन, भारतलगायत ५० भन्दा धेरै राष्ट्रसँग दौत्य सम्बन्ध सुदृढ पारे। राष्ट्रिय सुरक्षाका लागि कूटनीतिक सीप आवश्यक हुन्छ भन्ने बलियो विश्वास उनलाई थियो।

महेन्द्रले माओलाई विश्वासमा लिँदै नेपालको भूमि चीन, भारत वा कुनै राष्ट्रविरुद्ध प्रयोग गर्न नदिने प्रण गरे। मन, वचन र कर्ममा त्यो प्रण सत्य साबित भयो। चीनका शक्तिशाली कम्युनिस्ट नेता र नेपालका राजाबीच अत्यन्त सुमधुर सम्बन्ध कायम भयो। पिताबाट राजनीतिक र कूटनीतिक तालिम पाएका वीरेन्द्रले महेन्द्रले झैं नेपाली कूटनीतिलाई अत्यन्त मर्यादित र सन्तुलित राखे। राजा महेन्द्र र वीरेन्द्रसँग काम गरेका चीनका लागि पूर्वराजदूत रणधीर सुब्बाले सुनाएका थिए– ‘माओले महेन्द्र र वीरेन्द्रलाई घनिष्ठ मित्र ठान्थे। खुलेर कुरा गर्थे।’ प्रा. खड्गमान मल्लको धारणा पनि त्यस्तै थियो।
विश्वसनीयता कूटनीतिको धरातल हो। वचन र व्यवहारमा तारतम्य एवं तादात्म्य भएन भने कूटनीति बिस्तारै झूटनीति बन्छ। कुनै बेला ‘डायनोसर’ देखिने नेपाली कूटनीति आज उस्तैउस्तै खाप्चो भएको छेपारो बनेको छ। छिनछिनमा रङ फेर्छ। घाँसमा लुक्दा हरियो र परालमा बस्दा पहेंलो बन्ने झिल्के कूटनीति काम लाग्दैन।

राष्ट्रिय मूलनीति, राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीतिलगायत बाटोबाट नेपालको हितलाई संरक्षण, संवद्र्धन र सम्पोषण गर्ने कुरा राजा महेन्द्र तथा वीरेन्द्रको कूटनीतिबाट सिक्न सकिन्छ।

चीनका राष्ट्रपति सी चिनफिङले गरेको नेपाल यात्रा विश्वमै चर्चाको विषय बन्यो। उहिले नै ‘कोर्टमार्सल’ गर्नुपर्ने राजनीतिक ‘फिल्डमार्सल’हरूले चीनका सर्वोच्च शासकसँग तस्बिर खिचाउन पाउँदा इहलोक र परलोक सुध्रिएको ठाने। मामा आए घोडा, माइजू आइन् डोली भनेर ससाना केटाकेटीलाई लोरी सुनाए झैं कतिपय नेताले चीनका ठूल्दाजुको महिमा गाए। राष्ट्र र जनताका नाममा अर्बौं रुपैयाँ लुट्नेहरूले ‘कम्युनिस्टहरू सम्पत्तिका लोभी हुँदैनन्’ भन्दै चीनका राष्ट्राध्यक्षले दिएको प्रवचनको पनि व्याख्या गरे। यो एउटा प्रहसन भयो।

नेपालमा करिब २० घन्टा बिताएका चीनका शासकले नेपालमा बसेर चीनको पेटमा भाला रोप्न खोज्नेहरूप्रति उग्र रोष प्रकट गरे। त्यसलाई विश्वका प्रमुख सञ्चारमाध्यमहरूले चर्चाको विषय बनाए। चीन टुक्र्याउन खोज्नेको हड्डीसमेत पिसेर धुलोपीठो पारिदिने चीनका बादशाहको चेतावनी अमेरिकाविरुद्ध लक्षित देखिन्छ। श्री ३ चन्द्र शमशेरका नाति (बबरका छोरा) ब्रह्म शमशेरको सम्पत्ति किनेर विशाल महलमा बसेको अमेरिकी दूतावासले मात्र होइन, ह्वाइट हाउस, ओभल र पेन्टागनका मठाधीशहरूले पनि चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणको रौंचिरा विश्लेषण गर्दै होलान्।‘चीन, तिब्बत र नेपाल’ ग्रन्थमा इतिहासकार बाबुराम आचार्यले राजतन्त्रकालीन चीनको सुन्दर वर्णन गरेका छन्।

गोर्खाका राजा पृथ्वीनारायण शाह अंग्रेज शासकलाई नेपालमा पस्न नदिने अडानमा कटिबद्ध थिए। कान्तिपुरका राजा जयप्रकाश मल्लले आफ्नो शासन बचाउन अंग्रेज फौज बोलाए। इस्ट इन्डिया कम्पनीका तत्कालीन गभर्नर बेर्लेस्टले कप्तान किन लकको नेतृत्वमा पठाएका २४ सय सैनिकलाई सिन्धुलीगढीको युद्धमा गोर्खाली सेनाले धुलो चटाए। सिन्धुलीगढीमा १६÷१७ सय ब्रिटिस सैनिकलाई नमारेको भए नेपाल जितेर उनीहरू चीन पुग्न सक्थे। शाह वंशका राजाहरूले राष्ट्रको रक्षा गर्दा अप्रत्यक्ष रूपमा चीन पनि सुरक्षित रह्यो। यो रोचक र रोमाञ्चक इतिहास पढेका माओले महेन्द्र र वीरेन्द्रलाई प्रिय ठान्नाको मुख्य कारण यही हो।

नेपाल–चीन सम्बन्धको चर्चा गर्दा कलाकार अरनिकोलाई बिर्सिन सकिँदैन। नेपाललाई सभ्यता र संस्कृतिको धनी भनेर विश्वमै चिनाउने काठमाडौं उपत्यकाका नेवार जाति नै हुन्। ललितपुर, भक्तपुर र काठमाडौंका हजारांै मठमन्दिर उनीहरूले बनाए, तत्कालीन राजाहरूको संरक्षण र माया पाएर। पाटनको नेवार कुलमा जन्मेका अरनिको १६ वर्षकै उमेरमा चीन पुगे, ८० जना शिल्पी लिएर। चीनका शक्तिशाली सम्राट कुब्लय खाँको दरबारमा पु¥याइयो, उनलाई। यो सन् १२६० को कुरा हो। सानो केटोले दोभासेमार्फत सम्राटसँग प्रस्ट, निर्भीक र आत्मविश्वासपूर्वक संवाद गरेपछि सम्राटले हाँस्दै सोधे– ‘मसँग कुरा गर्दा डर लागेन ?’ अरनिकोले विनम्रतापूर्वक जवाफ दिए– ‘म हजुरलाई पिता मान्छु। त्यसैले पुत्रले पितासँग किन डराउनु ?’ अरनिकोको जवाफले राजा (सम्राट) प्रसन्न भए।

तिब्बतको ‘शक्य’ (शाक्य होइन) महाविहार बनाएपछि प्रसिद्धि पाएका अरनिको ल्हासाबाट महिनौंको पदयात्रापछि बौद्धगुरु फग पासँग पेकिङ (बेइजिङ) पुगेको इतिहासकारहरूले उल्लेख गरेका छन्। जसरी सनातन धर्मका कैयन् तीर्थस्थलका कारण तीर्थाटनमार्फत नेपाल–भारतको जनस्तरमा सम्बन्ध छ, त्यस्तै चिनियाँसँग नेपालीको सम्बन्ध बढाउन बौद्ध धर्ममार्फत योगदान पुगेको देखिन्छ। तर नेपालका कैयन् पर्यटन व्यवसायी र उच्च तहमा बस्ने पर्यटन–पण्डितहरू युरोप–अमेरिकाका ‘गोरो छाला’ वालालाई मात्र पर्यटक मान्छन्। अरूलाई ख र ग श्रेणीका ठान्छन्।

त्यति मात्र होइन, प्रमुख अंगहरूमा विदेशीलाई गुप्त सूचना दिएर फाइदा लिनेहरू धेरै छन् भन्ने टिप्पणी बारम्बार सुनिन्छ। चीनले ‘बिआरआई’ लगायत महŒवपूर्ण प्रस्ताव पठाए पनि आलटाल गरेर जिम्मेवार व्यक्तिहरूले कसको सेवा गर्दै छन् भन्ने कुरा प्रस्टसँग बुझ्न सकिन्छ। शब्दचातुर्य देखाएर कूटनीतिमा छलकपट र शकुनी प्रवृत्ति प्रदर्शन गरिएको छ। राष्ट्रको मूलनीति नै नहुँदा सरकार अलमलिएको देखिन्छ। राष्ट्रहितबारे प्रमुख प्रतिपक्षी दल पनि स्पष्ट छैन।

राष्ट्रिय मूलनीति, राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीतिलगायत बाटोबाट नेपालको हितलाई संरक्षण, संवद्र्धन र सम्पोषण गर्ने कुरा राजा महेन्द्र तथा वीरेन्द्रको कूटनीतिबाट सिक्न सकिन्छ। माओले किन महेन्द्र र वीरेन्द्रसँग ‘दोस्ती’ गरे भन्ने कुरा माओवादी भन्न रुचाउने र गर्व गर्नेहरूले बुझे हुन्छ। सन् १९८० को दशकसम्म साम्राज्यवाद र विस्तारवादलाई घृणा गर्ने नेपालका कम्युनिस्टहरू आज तिनै शक्तिसामु नतमस्तक देखिन्छन्.। तसर्थ, चीनले नेपाली कम्युनिस्टहरूका आचरण र आवरण, चित्र र चरित्र तथा बोली र व्यवहारमा ठूलो समस्या देखेपछि आफैंले काठमाडौं–कूटनीतिलाई अनुगमन गरिरहेको देखिन्छ। यसको कारण विश्वासको संकट नै हो।

विभिन्न शक्तिको प्रत्यक्ष–परोक्ष स्वार्थमा नेपाल क्रमशः फस्दै गएको अवस्था छ। महेन्द्र र वीरेन्द्रले माओलगायत विश्वका शिखर व्यक्तिहरूसँग स्थापना गरेजस्तो उच्चकोटीको सम्बन्ध राख्न सक्ने व्यक्तिको अभाव देखियो, नेपालमा। किनभने राजनेता उदाउन सकेनन्।

प्रकाशित: १ कार्तिक २०७६ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App