coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सेतीफेवा ड्याम नबने ७ मेगावाट खेर

काठमाडौं- पोखराको नदीपुरस्थित सेतीफेवा जलविद्युत आयोजनाको भत्केको ड्याम आगामी बर्खासम्म निर्माण नभए झन्डै ७ मेगावाट बिजुली खेर जाने अवस्था देखिएको छ। जिल्ला सिँचाइ कार्यालय कास्कीले अहिलेसम्म ड्याम पुनर्निर्माण प्रक्रिया अघि नबढाउँदा समस्या देखिएको हो।

सेतीफेवाबाट उत्पादन हुने १.५ मेगावाट र यहीबाट निस्केको पानी उपयोग गरी निजी क्षेत्रले निर्माण गरेका ५.५ मेगावाट दुई आयोजनाको बिजुली खेर जाने भएको छ। सरकारले सुरु गरेको ऊर्जा संकट अन्त्यको योजनामा उक्त परिमाणको बिजुली कम हुँदा प्रतिकूल अवस्था उत्पन्न हुनुका साथै नेपाल विद्युत प्राधिकरणले लाखौं रुपैयाँ नोक्सानी बेहोर्नुपर्नेछ।

सेतीफेवाबाट मात्र अहिले दैनिक ३२ हजार युनिट बिजुली उत्पादन हुन्छ। तल्लो तटमा निर्माण भएका निजी क्षेत्रका आयोजनाको समेत जोड्दा झन्डै दैनिक डेढ लाख युनिट बिजुली उत्पादन हुन्छ। प्राधिकरणले अहिले औषत १२.१२ रुपैयाँ प्रतियुनिटमा बिजुली बेच्ने गरेको छ।

उक्त मूल्यका आधारमा सेतीफेवाको बिजुली उत्पादन नहुँदा मात्र प्राधिकरणलाई दैनिक करिब ४ लाख रुपैयाँ नोक्सान हुन्छ। निजी क्षेत्रले उत्पादन गर्ने बिजुलीबाट हुने आम्दानीसमेत जोड्दा प्राधिकरणले दैनिक १८ लाख रुपैयाँ घाटा बेहोर्नुपर्ने प्राधिकरण अधिकारीको अनुमान छ।

गएको बर्खामा सेती नदीमा आएको बाढीले आयोजनाको ड्याम भत्काएको तर अहिले त्यसको पुनर्निर्माण जिल्ला सिँचाइ कार्यालयले अघि बढाएको प्राधिकरण साना तथा मझौला जलविद्युत आयोजना सञ्चालन विभाग प्रमुख मदन तिम्सिनाले बताए।

'फेवातालबाट निस्केको पानी सिँचाइले चाहेको अवस्थामा खोल्ने र बन्द गर्ने गर्छ, यसको स्वामित्व पूर्णरुपमा सिँचाइकै हो,' उनले सोमबार नागरिकसँग भने, 'प्राधिकरणले परामर्श गर्दा काम भइरहेको भन्ने जानकारी आएको छ। ढिलाइ भए ऊर्जाले सिँचाइ मन्त्रालयसँग समन्वय गरेर काम गर्नुपर्छ।'

सेतीफेवा आयोजना कार्यालयका अनुसार अहिले त्यहाँ अस्थायी ड्याम खडा गरेर विद्युत उत्पादन भइरहेको छ। बर्खामा चार पटक भत्केर अस्थायी संरचना बनाएर काम चलाए पनि यसले आउँदा बर्खा धान्न नसक्ने कार्यालय प्रमुख हरिश धितालले जानकारी दिए। 'गत साउन २५ देखि चार पटकसम्म ड्याम भत्केर अस्थायी बनाइएको छ,' उनले भने, 'पानी नपर्दासम्म वा खोलामा पानीको बहाब नबढ्दासम्म यसले काम गर्छ नत्र गर्दैन।'

धितालका अनुसार अहिले आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ। यसको अधिकतम उत्पादन दैनिक ३६ हजार युनिट रहे पनि अहिले ३२ हजार युनिट उत्पादन गरिहेको छ। बर्खामा यो परिमाणको बिजुली कम हुँदा पश्चिमाञ्चल क्षेत्रको 'लोड' व्यवस्थापनमा असर गर्ने धितालले बताए।

सिँचाइलाई केन्द्रित गरे निर्माण गरिएको आयोजना भएकाले किसानलाई पानी आवश्यक पर्दा आयोजनालाई पानी पुग्दैन र बिजुली उत्पादन बन्द हुन्छ। तर, अहिले सिँचाइमा बढी प्रयोग नभएकाले विद्युत उत्पादनमा खासै असर नगरेको उक्त कार्यालयले जनाएको छ। बर्खामा सिँचाइलाई प्रशस्त पानी पुग्छ र त्यतिबेला विद्युतगृहका लागि पनि पर्याप्त पानी हुन्छ तर ड्याम नबन्ने हो भने विद्युत उत्पादन गर्ने अवस्था हुँदैन।

निर्माण प्रक्रियाबारे जिल्ला सिँचाइ कार्यालयका प्रमुख तुलसी भट्टराईसँग जिज्ञासा राख्दा ड्यामको डिजाइन बनाएर सिँचाइ विभागमा पठाउने तयारी भइरहेको बताए। 'केही दिनमै हामीले डिजाइन विभागमा पठाउँछौं, सार्वजनिक खरिद ऐनअनुसार काम गर्दा समय लाग्न सक्छ,' उनले भने, 'विभागले काम गर्ने आफ्नै नियम तथा प्रक्रिया छन्, त्यो समेत अवलम्बन गर्नुपर्छ।'

चार/चार पटकसम्म एक्सकाभेटर प्रयोग गरी कृत्रिम बाँध बनाएर विद्युतगृह पूर्ण क्षमतामा सञ्चालन गरे पनि यहाँबाट निरन्तर पानी चुहिँदै आएको कार्यालय प्रमुख धितालले दोहोर्‍याए। उनका अनुसार सिँचाइ कार्यालयले समयमै ड्याम निर्माण नगरे विद्युतगृह नै बन्द गर्नुपर्नेछ।

 

कानुनी प्रक्रिया पूरा गर्दै सकेसम्म छिटो काम गर्ने प्रयास भइरहेको भट्टराईले प्रतिबद्धता जनाए। भट्टराईका अनुसार करिब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको ड्याम बर्खासम्म निर्माण सुरु गर्ने योजना छ। पोखरा जल उपयोग तथा सिँचाइ प्रणालअिनुसार करिब एक हजार हेक्टरमा यही पानीबाट सिँचाइ पुगेको छ।

सेतीफेवाबाट निस्केको पानी सुख्खायाममा विजयपुर खोलामा मिसिने हुँदा यहाँबाट पनि सिँचाइ, खानेपानी तथा अन्य काममा समेत उपयोगमा आउँछ। ड्याम निर्माण नहुँदा हिउँदमा तल्लो तटलाई आवश्यक पानी नपुगने सिँचाइ कार्यालयले नै स्वीकार गरेको छ।

प्रकाशित: १४ मंसिर २०७३ ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App