coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पर्वलक्षित तस्कर समूह सक्रिय बन्दै

भन्सार छलेर ल्याइएको अवस्थामा बरामद कपडा देखाउँदै बाराका प्रहरी उपरीक्षक विकासराज खनाल। तस्बिर: नागरिक

बारा - असोज २४ गते कलैया बजारमा किराना पसल चलाउने दिनेश तिवारी र रमेश तिवारीले भण्डारण गरेको १७ क्विन्टल चिनी प्रहरीले नियन्त्रणमा लियो। भारतबाट भन्सार छलेर भित्र्याइएको अशंकामा उक्त चिनी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए। भण्डारण कोठाबाट भन्सार चिनीका बोरा सिउने मेसिन र विभिन्न चिनी उत्पादन कम्पनीका नाम उल्लिखित दुई सय थान खाली नयाँ बोरा बरामद गरी थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक उनले बताए।

असोज २१ गते मोटरसाइकलमा राखी अवैध तरिकाले भित्र्याइएको कपडासहित सिम्रौनगढ नगरपालिका–६ सानो इटवालबाट तीनजनालाई नियन्त्रणमा लियो। पाँचवटा मोटरसाइकलमा कपडा ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले तस्करहरूलाई पिछा गर्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खनालले बताए। पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका–५ का रामरतन यादव, जयमंगलप्रसाद यादव र हेमचन्द्र तिवारी छन्।

उनीहरूले अवैध तरिकाले भारतबाट कपडा ल्याएर राख्ने गरेको सानो इटवालका मोजाहिर मियाँको घरमा खानतलासी गर्दा अवैध तरिकाले ल्याइएका कपडा ठूलो परिमाणमा बरामद गरिएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए। प्रहरीले २२ बोरामा राखिएका कुर्तासुरुवाल, बच्चाका सुट, सर्ट, पाइन्ट, साडी, सेन्डो, गन्जीलगायत विभिन्न किसिमका तयारी कपडा बरामद गरेको र त्यसको मूल्य ३३ लाख ९० हजारबराबर रहेको बारा प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको कपडा र मोटरसाइकल तथा कपडा तस्करीको आरोपमा पक्राउ परेका तीनजना थप कारबाही गर्न वीरगन्ज भन्सार पठाएको प्रहरीले जनाएको छ।

असोज १६ गते बारा प्रहरी अवैध रूपमा पिकअप भ्यानमा नेपाल भिœयाएको पटाकासहित कलैया उपमहानगरपालिका–१३ छोटकी फुुलबरियास्थित कलैया–मटिअर्वा सडकबाट तीनजनालाई नियन्त्रणमा लिन सफल भयो। आठवटा ठूलो बोरामा राखी ना४च ६९५९ नम्बरको बोलेरो जिपमा लोड गरी लुकाईछिपाई नेपाल भिœयाउँदै गरेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका–१८ बडहर्वाका सुकमान लामा, कलैया उपमहानगरपालिका–१ का वीरेन्द्र यादव र १८ वर्षीय रूपेश दासलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक खनालले बताए। बोलेरोसहित बरामद गरिएको पटाकाको बजार मूल्य १२ लाख रुपैयाँको हाराहारीमा रहेको दाबी उनले गरे। पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको जनाइएको छ।

भारतसँग सिमाना जोडिएका बाराका सिम्रौनगढ, पचरौता, कवही, बेल्दारी, सनफुलवा, मटिअर्वा, बसतपुर, छतवा, मुसहर्वालगायतको नाकाहरूबाट तस्कर समूहहरूले अवैध तरिकाले भारतबाट लत्ताकपडा, पटाका, खाद्यान्नलगायत मालसमान तस्करी गर्न खोजेको तर प्रहरीको सक्रियताले त्यसलाई धेरै हदसम्म नियन्त्रण गरिएको प्रहरी उपरीक्षक खनालले बताए। विगत एक महिनाको अन्तरालमा मात्रै बाराको नाका प्रयोग गरी अवैध रूपमा नेपाल भिœयाइएको लगभग ८७ लाख मूल्यबराबरको मालसमान नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको दाबी खनालले गरे।

चाडपर्वको बेलामा हुने आपराधिक क्रियाकलापलाई रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएपछि तस्करी नियन्त्रणमा गरेको प्रहरीलाई राहत मिलेको बारा प्रहरीका अधिकारीहरूले बताएका छन्। विशेष सुरक्षा व्यवस्थाअन्तर्गत जिल्लाभरिकै १६ वटा स्थानीय तह, भारतसँग सीमा जोडिएको नाकाहरू, राजमार्ग, मानिसको बढी भीडभाड हुने बजार क्षेत्र, बैंक तथा वित्तीय क्षेत्रमा चौबिसै घण्टा निगरानीका लागि चार सय ७६ जना प्रहरी परिचालन गरिएको खनालले बताए।

प्रकाशित: १ कार्तिक २०७६ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App