८ वैशाख २०८१ शनिबार
विचार

योगी शरणम्

हरेक कामका प्राथमिकता निर्धारण गर्न नसक्दा एउटा व्यक्तिमात्र होइन सिंगै मुलुक संकटमा पर्न सक्छ भन्ने उदाहरण खोज्न नेपालबाहिर जानुपर्दैन । हाम्रा जिम्मेवार नेता, सत्ताधिकारी तथा प्रशासनले प्राथमिकता निर्धारणमा चुक्दा जनता हैरान भएका छन् भने मुलुक अनिर्णयको बन्दी बन्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार मन्त्रिपरिषद् बैठक छोट्याउँदै वीरगन्जमा रहेका भारतीय योगगुरु रामदेवको आशीर्वाद थाप्न सेनाको हेलिकप्टर चढेर त्यता हान्निए ।

आइतबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन विधेयक मस्यौदामाथि छलफल गरी अनुमोदन गर्ने र सोही दिन संसद् सचिवालयमा दर्ता गराउने प्रधानमन्त्री दाहालको घोषित कार्यक्रम थियो । तर, दुर्भाग्य उनले बैठकमा विधेयक पेस नै गरेनन् । त्यसबारे अनौपचारिक कुरा गरेर झारा टार्दै रामदेवको हात आफ्ना शिरमा छुवाउन हतारिए । उनका निम्ति मुलुकको संकटभन्दा रामदेवसँगको भेट अमूल्य भइदियो । उनलाई हेक्का रहेन– संविधान संशोधन, लोकमान सिंह कार्की प्रकरण तथा डा. गोविन्द केसीका मुद्दालाई जतिसक्यो चाँडो टुंगोमा पु¥याउने जिम्मेवारी सरकारको हो भन्ने कुराको ।

समस्याका चाङ अघिल्तिर राखेर प्रधानमन्त्री बनेका दाहालको पदीय जिम्मेवारी, पार्टीको सिद्धान्त, जनताको आवश्यकता के हो भन्ने स्मरण गराउन न त अन्य मन्त्रीहरूले नै सके न त उनका सल्लाहकारले नै आफ्नो दायित्व सम्झिए !

यतिखेर वीरगन्ज गएर आफ्नो टाउकामा स्वामी रामदेवको आशीर्वाद थाप्न तँछाडमछाड गर्नेमा राष्ट्रपतिदेखि मधेसवादी, पुरातनवादी वा लोकतन्त्रवादी (नेपाली कांग्रेस)का नेतामात्र होइनन् आफूलाई चरम भौतिकवादी बताउने वामपन्थी दलका नेताहरूको पनि लर्को लाग्ने गरको छ । यसबाट के स्पष्ट हुन्छ भने हाम्रा राजनीतिक दलका नेताहरूलाई ‘भाग्यवाद’ मा विश्वास बढ्न थालेको छ । स्पष्टै छ– भाग्यवादीहरू काम वा त्यसको नतिजामा भन्दा ‘भाग्यको खेल’मा भर पर्छन् ।

तिनलाई हरेक कुरा ‘विधिको लीला’जस्तो लाग्छ । यही कारण नेपाल र नेपाली जनताको दुःख–कष्ट र लम्बिँदो राजनीतिक संक्रमणको अन्त्य हुन सकिरहेको छैन । वीरगन्ज पुग्ने कतिपय नेताले उनै रामवेदमार्फत् भारतीय सत्ताको नजिक पर्न वा विश्वासपात्र बन्न सकिने देखेको छन् । रामदेव भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीका अघोषित प्रवक्ता बन्दै आएको सन्दर्भले भारतमा निकै चर्चा पाइरहेको छ ।

यही कारण पनि नेपालका नेता रामदेवको आँखामा पर्न चाहिरहेका देखिन्छन् । रामदेव आफ्नो व्यापार प्रवद्र्धनको उद्देश्यका साथ नेपाल आएका हुन् । उनले नेपालमा अर्बौं लगानी गर्ने र हजारौँलाई रोजगारी दिने घोषणा गरिसकेका छन् । उता, नेपालमा उनको लगानीलाई लिएर वैधानिकताको प्रश्नसमेत उठ्न थालेको छ । तर, त्यसबारे कुनै दलका कुनै नेताले एक शब्द बोल्न सकेका छैनन् । निश्चय पनि नेपालमा भारतीय लगानी महŒवपूर्ण छ, तर त्यसो भन्दैमा त्यस्तो लगानीलाई जसरी पनि भित्रने छुट दिनु हुँदैन ।

सत्तामा रहेका जिम्मेवार व्यक्तिले अहिले कुनै योगीलाई भेट्न जानु वा सामान्य कार्यक्रमको उद्घाटन गर्ने, रिबन काट्ने र खादा–माला पहिरने काममा लाग्नु मुलुकको संकटलाई बेवास्ता गर्नु हो । त्यति मात्र होइन नेताहरूको लर्को वीरगन्जमा लागेपछि तिनको स्वागत र बिदाइमा प्रहरी प्रशासनको समय बित्ने गरेको छ । प्रधानमन्त्री दाहालले शपथग्रहणका समय आफूलाई कुनै कार्यक्रमको उद्घाटन गर्न, विमोचन गर्न वा सामान्य उद्देश्यका कार्यक्रममा नबोलाउन अनुरोध गर्दै त्यस्ता कार्यक्रममा नजाने उद्घोषै गरेका थिए ।

उनले मुलुकलाई संक्रमणबाट पार लगाउनु आफ्नो पहिलो जिम्मेवारी भएको बताएका थिए । तर, उनका भनाइ र गराइमा कुनै तादात्म्य रहेका महसुस जनताले गर्न पाएका छैनन् । एउटा योगीका शरणमा जाने कामभन्दा मुलुकको नयाँ संविधान कसरी कार्यान्वयनमा लान सकिन्छ भन्ने विषय कैयौँ गुणा बढी महŒवको हुन्छ । आइतबार संविधान संशोधनका अतिरिक्त डा. केसीको सवाल, अख्तियार प्रमुख कार्की प्रकरणका साथै विभिन्न दाताबाट प्राप्त अनुदान तथा ऋण सहयोगबारे छलफल गर्ने तयारी थियो । तर, हठात् प्रधानमन्त्री दाहाल सारा कुरा पन्छाएर वीरगन्ज पुगे र योगीसँग अंकमाल गरेर प्रफुल्लित भए ! संक्रमणकालीन समयमा एक दिन निकै महŒवपूर्ण हुन्छ । ‘रात रहे अग्राख पलाए’ भन्ने उखान त्यसै चलेको होइन ।

यो उखान नेपालको राजनीतिमा झनै बढी सान्दर्भिक बन्दै आएको छ । रातभरिमा सोचविचारमा धेरै परिवर्तन आउन सक्छ । अघिल्लो दिन दिएको ‘समर्थन’ भोलिपल्ट ‘विरोध’मा परिवर्तन हुन सक्छ । हाम्रो राजनीतिमा विगतले देखाएको अनुभव हो यो । यसकारण पनि प्रधानमन्त्रीलगायत अन्य जिम्मेवार नेताले प्राथमिकता निर्धारण गर्दै मुलुकलाई संक्रमणबाट निकास दिने काममा चुक्नु हुँदैन ।       
 

प्रकाशित: १४ मंसिर २०७३ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App