coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

परिवर्तनमा हामीबाटै खतराः दाहाल

फाइल तस्बिर

चितवन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले धेरै ठूलो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धि संस्थागत गर्ने प्रक्रियामा अहिले बढी नै हेलचक्र्याइँ भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेकपा चितवनले दसैं, तिहार, छठलगायत पर्वको अवसरमा बिहीबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले मुलुकमा ७० वर्ष लामो संघर्षपछि प्राप्त गणतन्त्र कसैले हल्लाएर हल्लिनेवाला नभए पनि परिवर्तनप्रति खतरा देखिन थालेको भन्दै यस्तो चिन्ता व्यक्त गरेका हुन्। ‘हामी कतै अल्लि बढी व्यक्तिवादी हुँदै त गएका छैनौं,’ उनले भने, ‘परिवर्तनमा खतरा अरु कसैबाट छैन, समाजवाद निर्माणको यात्रामा कहींकतैबाट खतरा हुन्छ भने तपाई–हामी आफैंबाट हुन्छ।’

सुरुमा सानो शक्तिका रुपमा रहेको नेपाल कम्युनिस्ट पार्टी निष्ठाको राजनीति गर्दै जनताको मन जितेर अहिले सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा उदायको उनले बताए। ‘सत्तामा नपुग्दासम्म जस्तोसुकै त्याग, तपस्या, बलिदान, निष्ठा र इमानदारी प्रदर्शन गर्न तयार हुने,’ उनले भने, ‘तर सत्तामा गएपछि पार्टीभित्रै अराजकता, व्यक्तिवादले जन्म लिने, आस्था र उद्देश्य बिर्संदै जनताबाट टाढा हुँदै जाने र उद्देश्यबाट विचलित हुने विश्वव्यापी रोग यहाँ पनि लाग्ने भएको छ।’ उनले यस्ता कार्यले जनताबाट अलग्गिने, प्रतिक्रान्ति हुने र रुसी कम्युनिस्ट जस्तो बन्ने खतरा रहेको औंल्याए। कम्युनिस्ट पार्टीभित्रै विकसित भएको अराजकता, स्वार्थ, गुटबन्दी स्वचिन्तनले अन्त्यमा पार्टी नै विघटन भएका उदाहरण विश्वमा धेरै रहेको उनले बताए।

‘हामी कतै अल्लि बढी व्यक्तिवादी हुँदै त गएका छैनौं। परिवर्तनमा खतरा अरु कसैबाट छैन, समाजवाद निर्माणको यात्रामा कहींकतैबाट खतरा हुन्छ भने तपाई–हामी आफैंबाट हुन्छ। धेरै ठूलो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धि संस्थागत गर्ने प्रक्रियामा अहिले बढी नै हेलचक्र्याइँ भएको छ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि भएको संघर्ष र आन्दोलनमा चितवनको भूमिका अग्रणी भए पनि पछिल्लो समयमा अराजकता हाबी हुँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे। पछिल्ला दिनमा चितवनमा अराजकता, अस्तव्यस्तता बढेकाले देशभरिका प्रतिगामीहरु यहाँ आएर खेल्ने ठाउँ त बन्ने होइन भन्दै उनले खराब प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताए। ठिक ढंगले पार्टीले नेता र कार्यकर्तालाई आत्मसात् गर्न नसक्दा प्रतिक्रान्तिको केन्द्र बन्ने खतरासमेत रहेको उनले बताए।

‘अराजकता फैलाउनेमा चितवनकै पनि देखेको छु,’ उनले भने्, ‘कहीं नै कहीं हामी कम्युनिस्ट आदर्शबाट बिस्तारै–बिस्तारै स्खलित हुँदै छौं। त्यसैले प्रतिगामीबाट भन्दा पनि परिवर्तनकारी हामी आफैंबाट खतरा रहेकाले बेलैमा विचार गरिनुपर्छ।’ आफैंभित्र एकता र नैतिक तागत पैदा गरेर राष्ट्र, जनताको हितमा काम गर्न भनेर संकल्प लियौं भने सफलता टाढा नभएको पनि दाहालले बताए।

दाहालले नेपालका चाडपर्व राष्ट्रिय एकताको तागत बनेर विकसित हुँदै गएको उल्लेख गर्दै उनले सबैले सबै जातजातिका पर्वलाई मनाउन थाल्नुले राम्रो सन्देश दिएको बताए।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले नेपालको सामाजिक र सांस्कृतिक अवस्था नयाँ चरण, नयाँ युग र परिवेशमा प्रवेश गरिसकेको बताए। समाजवादउन्मुख समाज निर्माण गर्न नयाँ चरणमा प्रवेश गरेकाले ऐतिहासिक दायित्वमा पनि परिवर्तन भएको उनले बताए। ‘नयाँ ढंगलले संगठित र एकताबद्ध गरिरहेका छौं,’ उनले भने, ‘हामी प्राप्त उपलिब्ध संरक्षण गर्ने, रक्षा गर्ने र नयाँ लक्ष्य हासिल गर्न नयाँ संकल्प गर्नुपर्ने अवस्थामा आएका छौं।’

सबै राजनीतिक दल देशलाई समृद्ध बनाउन एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले आर्थिक हिसाबले औद्योगिकीकरण गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरेर मात्र समाजवादको लक्ष्यामा पुग्न सकिने बताए।

प्रकाशित: १ कार्तिक २०७६ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App