coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अभिभावकको माया नपाउँदा बालबालिका सडकमा

सांकेतिक तस्विर

काठमाडौं– पछिल्लो समय अभिभावको चेरचाह र माया नपाउँदा बालबालिका गलत बाटोमा लागेको पाइएको छ। राष्ट्रिय बालअधिकार परिषद्ले गत साउनदेखि उद्धार गरिएका सडक बालबालिकाले आफूहरुलाई बाबुआमाको माया अभाव भएको निश्कर्ष निकालेको छ। 

परिषद्ले उद्धार गरी ल्याइएका बालबालिकालाई मनोसामाजिक परामर्शपछि के कारणले त्यस्तो गलत बाटोमा लागेको भनी गरेको प्रश्नमा उनीहरुले बाबुआमाको हेरचाह र मायाको अभाव भएका बताएका छन्।

परिषद्का अनुसार यसरी उद्धार गरिएका बालिका यौन व्यवसायमा  र बालक दुव्र्यसनीमा लागेको पाइएको छ। काठमाडौँ उपत्यकालाई सडक बालबालिका मुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको टोलीले ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट त्यस्ता बालबालिका उद्धार गरिएको जनाएको छ। 

हालसम्म उद्धार गरिएका सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको  र उनीहरुलाई मनोपरामर्र्श दिइ अविभावकसमक्ष जिम्मा लगाइने परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी गराए।

गत साउनदेखि परिषद्ले नियमितरुपमा विभिन्न कारणले सडकमा अलपत्ररुप रहेका बालबालिकाको उद्धार गर्दै आएकामा असोज मसान्तसम्म मात्रै परिषद्ले २०० बालबालिका उद्धार गरिसकेको छ। यसरी अलपत्र रहेका बालबालिका तीन वर्षदेखि १८ वर्ष उमेर समूहका छन्।  

त्यसैगरी परिषद्ले गत असोज १० गते काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा सञ्चालित ‘सामाजिक तथा मानवीय सरोकार केन्द्र’ नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखेका नौ बालक र दुई बालिकाको उद्धार गरेको थियो।  उद्धार गरिएका सबै बालबालिका मुगु जिल्लाका छन्।

उक्त संस्थाले आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्थाविपरीत उचित खानपान, आवास र संरक्षणको प्रबन्ध नगरीे संस्थामा बालबालिका राखेको पाइएकाले उनीहरुलाई उद्धार गरेको हो। उद्धार गरएका बालबालिकालाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ। रासस

प्रकाशित: ३० आश्विन २०७६ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App