७ वैशाख २०८१ शुक्रबार
विचार

लैंगिक हिंसा र दिगो विकास

मदर टेरेसालाई १९७९ मा नोबेल पुरस्कार प्रदान गरेपछि सोधिएको थियो– विश्वमा शान्ति कायम राख्न के गर्नुपर्छ ? उनको जवाफ थियो– सर्वप्रथम तिमी आफ्नो घर जाउ अनि आफ्नो परिवारसँग प्रेम बाँड । आज एक्काइसौं शताब्दीसम्म आइपुग्दा र विज्ञानले धेरै प्रगति गरिसक्दा पनि मानिस सुखी र खुसी छैनन्, तनाव र दौडधूप अनि केही कुराको अभाव मानिसमा खट्किरहेको छ । मानिसले अझैं आफूमा पूर्णताको अनुभव गर्न सकेको छैन ।

यसको एकमात्र कारण छ– मानिसमा अशान्ति छ । विश्वमा अशान्ति भएकाले हरेक मानिसमा अशान्ति छाएको होइन कि हरेक मानिसमा, हरेक घरमा अशान्ति छ त्यसैले सारा विश्व नै अशान्त छ । त्यसैले पनि अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवस २०१६ ‘घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसारहित समाज’ घरबाट शुरुवात गरी विश्वभर शान्ति कायम राखौं र शान्तिमै दिगो विकास सम्भव छ भन्ने कुरा नाराले  उजागर गर्न खोजेको हुनुपर्छ ।

सन् १९९९ देखि संयुक्त राष्ट्र संघले नै नोबेम्बर २५ मा सुरु भएर १६ दिनसम्म मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभर एउटा अभियानका रूपमा मनाउने घोषणा गरिदिएको थियो   । एक्काइसौं शताब्दीसम्म आइपुग्दा पनि संसारभर नै भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शारीरिक, मानसिक विभिन्न तरिकाले महिलामाथि हुने गरेको हिंसा प्रवृत्ति कायम नै छ भन्ने ठहर छ । महिलामाथि हुने गरेको अन्धविश्वास, कुरीति र कुसंस्कारको अन्त्य हुन सकेको छैन । महिला भएकै कारण महिलामाथिको हिंसा कायम छ भन्ने मान्यता पनि बनिसकेको छ ।

हो, नेपालमा र विश्वमै पनि हिंसाका घटना बारबार सुनिन आउँछन् । हिंसा ती व्यक्तिबाट हुने गर्छ जसमा संस्कार छैन, शिक्षा छैन र प्रेम छैन, तिनीहरुलाई कानुनको दायरामा ल्याएर भन्दा मनोवैज्ञानिक शिक्षा र संस्कारले योग्य बनाउन सके चाँडो हिंसामुक्त समाज र विश्व देख्न पाइएला । हिंसाका लागि अघि सर्ने ती प्रवृत्तिको पनि उद्धार गरौँ । तिनीहरुलाई पनि शिक्षित र दीक्षित बनाउने कोसिस गरे महिला हकहितका लागि अघि सरेका महिलाकर्मी र संघसंस्थाको राम्रो कामको शुरुवात हुनेछ । दिगो विकासका लागि माछा मारेर दिने होइन, माछा मार्ने कला सिकाउनु आवश्यक छ । त्यसका लागि हरेक महिलाले शिक्षा र रोजगारीको अवसर कसरी प्राप्त गर्छन् त्यसतर्फ ध्यान पु¥याउनु जरुरी हुन्छ । महिलालाई सफल र सबल बनाउने कामहरुको शुरुवात गरिनुपर्छ अन्यथा नारा नारामै सीमित हुनेछ । १६ दिने अभियान वार्षिक पर्वमात्र बन्नेछ ।

प्रकृतिको सिर्जना महिला र पुरुषद्वारा निर्मित यो सुन्दर संसारमा महिला पुरुषको विभेदले गर्दा विकर्षित बन्न पुगेको आभाष हुन थालेको छ । हामीले सुन्दर संसार, सुन्दर जीवन, विधायक जीवनको महत्व नबुझेर हो या किन जहिले लैंगिक हिंसाको मात्र आवाज उठाउने गरेका छौं । अब हामी यसबाट थोरै माथि उठेर शान्त घर, शान्त समाज र मिलेको सुन्दर परिवारका कथाहरु समाजमा उदाहरणका विषयलाई प्रस्तुत गर्ने गरौँ । सकारात्मक कुराहरु बाहिर ल्याउँ, सञ्चार माध्यममा सकारात्मक कुराका उदाहरणले बढी स्थान पाउन् जसले गर्दा सकारात्मक सन्देश सबैमा जाओस् ।

हामी जे सुन्छौँ र देख्छौं त्यसको असर हाम्रो मनोविज्ञानमा पर्छ । त्यसैले सधैं महिला हिंसामा परेका छन् भन्ने कुरामात्र उठाउनुभन्दा नारामा उद्घोषित मर्म अंगीकार गर्दै घरघरमा शान्ति र प्रेम कायम हुने संस्कार विकास गर्नुपर्छ । किनभने मदर टेरेसाले भनेजस्तै घरबाट शान्तिको शुरुवात गरी विश्वभर शान्ति कायम गर्नुपरेको छ । जबसम्म महिलामाथि हिंसा हुन्छ, मातृत्वको कदर हुँदैन तबसम्म यो संसारमा सुख र शान्ति छाउँदैन । अनि जब महिलाले पुरुषसरह अधिकार पाउँ भनी संघर्ष गर्नुपर्ने अवस्था आउँछ र आएको छ त्यतिबेलाको न्यायिक समानताले स्वाभाविक भिन्नतामा विरस बनाइदिन्छ ।

जसरी पुरुष महिला जस्तो भंएको सुहाउँदैन त्यसैगरी महिला पुरुष जस्तो भएको सुहाउँदैन । हाम्रो संस्कार र प्रचलन अनि प्रेम पश्चिमा संस्कारसँग तुलना नगरौं । आफ्नो संस्कार र पहिचान कायम राखौं । हाम्रा महिलाका सहनशीलतालाई कमजोरीका रूपमा नलिने वातावरण र उत्प्रेरणाको माध्यमलाई सञ्चार माध्यममा स्थान दिउँ । किनकि महिनामा २ पटक सम्बन्ध विच्छेद गरेर, जीवनमा कैयौं पटक सम्बन्ध बिच्छेद गरेर नयाँ सम्बन्ध कायम गरेर जीवन सुखी देख्ने हाम्रो संस्कार होइन । थोरै कमजोरीलाई महिला पुरुष दुवैले समझदारीमा लिएर प्रेमको मार्ग प्रशस्त गर्ने हाम्रो संस्कार हो । हाम्रो प्रेमको अगाडि कुनै कानुन माथि बन्न सकेको छैन । जीवनलाई सुन्दर र विधायक तरिकाले जिउने कलाको विकास गरौँ । हिंसा हटेर जानेछ । प्रेमको अभाव नै हिंसा हो ।

आजकल महिला अधिकारकर्मीका नाममा, महिला हकहितका लागि खुलेका संघसंस्थाले घर मिलाउने होइन घर फुटाउने काम बढी गरेका प्रशस्त उदाहरण समाजमा देख्न पाइन्छ । एउटा घरमा महिला पुरुष मिलेर प्रेमको सन्देश फैलाउन सकेको छैन भने राष्ट्रमा तिनीहरुको योगदान के रहला ?   स्वभावैले पुरुष महत्वाकांक्षी, जिद्धी, तार्किक हुन्छन् भने महिला कोमल, सहनशील, समर्पण, प्रेमको भण्डार हो । महिलाले समर्पणको भावबाट हारलाई जितमा बदल्न सक्छन् । यसलाई पुरुषले महिलाको कमजोरीका रूपमा लिए भने यो पुरुषको सोचाइको कमजोरी हो । एकअर्काको स्वभावलाई बुझेर व्यवहारमा समझदारी अपनाउनु बुद्धिमानी हो । हाम्रो स्वस्फूर्त स्वभाव प्रेमलाई कानुनको सहायताले प्राप्त गर्न खोज्यौं भने त्यो अप्राकृतिक र बनावटी प्रेम बन्न जानेछ ।

नेपालको परिवेश हेर्ने हो भने नेपाली महिला सिर्जनात्मक, संघर्षशील, बहुप्रतिभाशाली, सहनशील, बाहिरी तथा भित्री सौन्दर्यले भरपूर अनि घरायसी एवं बाहिरी सबै क्षेत्रमा खट्न सक्ने साहसी छन् । तर पनि सामाजिक आर्थिक स्तरबाट हेर्दा महिला सबै किसिमका अवसरहरुबाट वञ्चित छन् । शिक्षा र स्वास्थ्यका क्षेत्रमा पिछडिएका छन् । स्वास्थ्यको क्षेत्रमा हेर्ने हो भने प्रतिदस हजारमा ५८९ मातृ मृत्यु दर देखिन्छ । प्रत्येक दिन ६० नवजात शिशुको मृत्यु दर छ ।

आर्थिक सर्वेक्षणअनुसार ४२ प्रतिशत महिला साक्षर छन् भने ६० प्रतिशत महिला आर्थिकरूपमा सक्षम छन् तर यो प्रतिशत साक्षरतामा ६० र आर्थिक क्षेत्रमा ८० नपुगेसम्म नेपाली महिलाको जीवनस्तर माथि उठ्न सक्दैन । यो ध्रुवसत्य हो कि जबसम्म महिलाको स्तर माथि उठ्दैन तबसम्म देशको विकास सम्भव छैन किनभने हरक्षेत्रमा महिला नेतृत्वको, महिला सहभागिताको अभावले देश आज संकटको भूमरीमा परेको छ ।

र, दिगो विकासका लागि शिक्षा, स्वास्थ्य, मातृत्व सुरक्षा, अवसर जस्ता आधारभूत कुरा उपलब्ध नहँुदासम्म दिगो विकासको कल्पना नगरे पनि हुन्छ । त्यसैले हिंसामुक्त समाज, घर र राष्ट्र अनि दिगो विकास शान्तिबिना सम्भव छैन । त्यो शान्ति कुनै वस्तु, कुनै सफलता र पदमा छैन । सुमधुर सम्बन्ध र व्यक्तिको भित्र अन्तर्मनमा शान्ति छ, त्यसलाई उजागर हुन दिउँ ।
 

प्रकाशित: १४ मंसिर २०७३ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App