coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बर्लिन तेस्रो स्थानमा

बर्लिन- भेदाद इबिसेभिचले दुई गोल गरेपछि आइतबार मेइन्ज ०५ माथि २–१ को विजय हासिल गर्दै हर्था बर्लिन जर्मन बुन्डेसलिगा अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दुवै टिमले १० जनामा समेटिएको खेलमा बर्लिनका गोलकर्ता इबिसेभिचले पनि दुई पहेँलो कार्ड पाउँदै अन्तिम १६ मिनेट बाँकी हुँदा मैदान छोड्नुपरेको थियो। त्यसअघि मेइन्जका रक्षात्मक मिड्फिल्डर जिन फिलिप जिबामिनले ६२ औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएका थिए।

'सुरुमै गोल खाए पनि हामीले शान्तपूर्वक मैदानमा मिहिनेत गरिरह्यौं। गोल आइसकेपछि हामीले धैर्यपूर्वक आफ्नो स्तरअनुसार खेलेर हकलाग्दो जित पाएका छौं। म टिमप्रति गौरवान्वित छु,' हर्थाका प्रशिक्षक पाल डार्डाइले भने।

बर्लिनको ओलम्पिक रंगशालामा आरोन सिडेलले २५ औं मिनेटमा गोल गरेपछि भ्रमणकारी मेइन्ज अग्रता लिन सफल भएको थियो। तर इबिसेभिचले मध्यान्तर हुन ९ मिनेट बाँकी रहँदा पहिलो व्यक्तिगत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। इबिसेभिचले नै ६७ औं मिनेटमा अर्को गोल गर्दै घरेलु टोलीको जित पक्का गरे।

जिबामिनले मैदान छोडेपछि मेइन्जको खेलप्रति पकड कमजोर हुन थाल्यो। त्यसैको फाइदा उठाउने क्रममा इबिसेभिचले आइभोरी कोस्टका अन्तर्राष्ट्रिय खेलाडी सोलोमान कालोउसँगको तालमेलमा दोस्रो गोल गरेका थिए।

जितसँगै हर्था १२ खेल समाप्तिमा २४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। अघिल्लो दिन बोरुसिया डर्टमन्डलाई २–१ को नतिजामा स्तब्ध पारेको इन्ट्रयाक्ट फ्य्रांकफर्टको खातामा पनि समान २४ अंक छ। तर हर्था गोलअन्तरमा माथि छ। बुन्डेसलिगाको शीर्ष टोली आरबी लिपजिगको ३० तथा दोस्रो स्थानको बायर्न म्युनिखको खातामा २७ अंक छ।

आइतबारै इरिक म्याक्सिम चौपो मोटिङले पेनाल्टी खेर फाले पनि अर्को गोल गरेर त्यसको शोधभर्ना गर्दा साल्के ०४ ले डार्मस्टाड्टमाथि ३–१ को जित पायो। जितसँगै साल्के १७ अंकसाथ मेइन्जलाई गोलअन्तरमा पछि पारेर आठौं स्थानमा उक्लिएको छ।

मार्सेल हेलेरको गोलमा भ्रमणकारी डार्मस्टाड्टले छैटौं मिनेटमा अनपेक्षित अग्रता लिएको थियो। तर सिड कोलासिनाकले २६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए। त्यसको दुई मिनेटपछि प्राप्त पेनाल्टीमा चौपो मोटिङको प्रहार खेर जाँदा साल्केको अग्रता लिने मौका चुक्यो। तर ६० औं मिनेटमा उनैले गोल गरेर २–१ को अग्रता दिलाएको साल्केका लागि अन्तिम मिनेटमा एलेसान्द्रो सोइफले गोल थपे।

'पहिलोपटक हामीले परिस्थिति तत्काल उल्टाएर सकारात्मक नतिजा निकाल्न सफल भएका छौं। केहीबेर पछि परे पनि हामीले खेलमा कुनै पनि समय हारेको अनुभव गर्नुपरेन,' पुनरागमनमा जित पाएपछि साल्केका चौपो मोटिङले भने।

जितसँगै साल्केले चार स्थानको फड्को मार्दा पराजित डार्मस्टाड्ट भने रेलिगेसन क्षेत्रभन्दा गोलअन्तरमा मात्र माथि छ। समान ८ अंक जोडेको डार्मस्टाड्ट १५ औं स्थानमा रहँदा त्यति नै अंक भए पनि गोलअन्तरमा पछि रहेको वेर्डेर ब्रेम्यान रेलिगेसन क्षेत्रमा सबैभन्दा माथि छ।

प्रकाशित: १४ मंसिर २०७३ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App