coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रदेश १ पनि फौजी किराको चपेटामा

फौजी किराको प्रकोप भएको धानबालीमा क्षतिको अवलोकन गर्दै धरानकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीलगायतको टोली। तस्बिर : रोहित/नागरिक

धरान – धरान–५, ठिंगाबारीका शुक्रबहादुर सम्बाहाम्फेले यसपालि पाँच कट्ठामा लगाएको धानको बाला झुलेको देख्दा कम्तीमा पनि ११ मुरी फल्ने आशा गरेका थिए। तर, अहिले उनी निराश छन्।

पाकेर धान काट्ने बेलामा फौजी किराको प्रकोपले बाला भुँइभरि भयो। उनले हत्तपत्त धान काटेर भित्र्याउन थाले। धान ५० पाथी मात्र भयो। ‘एक वर्षलाई खान पुग्ने धान फल्छ भन्ने आशा थियो, फलेको पनि राम्रो थियो,’ उनले भने, ‘तर किराले सखाप पा-यो। राज्यले किसानलाई हेरिदिनुपर्छ।’

धरान सहर भए पनि गाभिएका साबिक गाविस पाँचकन्या र विष्णुपादुका क्षेत्रको जमिन खेतीयोग्य छ। त्यसैले उपमहानगरपालिकाले धरानको वडा नं ४, ५, ६ र १७ लाई कृषि वडा घोषणा गरेको छ। यी ४ वडामध्ये वडा नं ५ र १७ का किसान अगुवा धानमा फौजी किराको प्रकोपले पीडित छन्।

धरानको वडा नं ५ मा मात्र झण्डै दुई सय बिघामा धानखेती छ। अहिले पाक्न लागेको अगुवा धानमा फौजी किराको प्रकोप देखिएको छ। पछुवा धानमा पनि प्रकोप फैलने उच्च जोखिम भएको कृषि विज्ञले बताएका छन्। वडा नं १७ मा फौजी किराको प्रकोप देखिएको छ। तर, वडा ५ र १७ मा अलगअलग प्रजातिको फौजी किराको प्रकोप भएको सुनसरीको तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका किट वैज्ञानिक किशोर भण्डारीले जानकारी दिए। किसानले उपमहानगरपालिकालाई गुहारेपछि बुधबार कृषि विज्ञसहितको टोली स्थलगत अवलोकनमा गएको थियो।

वैज्ञानिक भण्डारीका अनुसार वडा नं ५ मा नेपालको रैथाने फौजी किराको प्रकोप भएको छ। यो मिथिम्ना सेपाराटा प्रजातिको हो। वडा नं १७ मा अमेरिकन फौजी किराको प्रकोप भएको हो। यो स्पोडोप्टेरा फ्रुजिपेरडा प्रजातिको हो। पाकेको धानको कलिलो बाला खाइदिने भएकोले पाकेको धान भुँइमा खसेर खेर जान्छ। यी किरा फौज जस्तै ठूलो समूहमा हुने भएकोले फौजी भनिएको हो।

अमेरिकन फौजीले भने हरियो बाली सबै खाइदिन्छ। वडा नं १७ मा अमेरिकन फौजीले मकै, कोदो, सागलगायत हरियो बाली खाइदिएको थियो। ‘फौजी किराको प्रकोप भदौदेखि कात्तिकसम्म देखिन्छ। पानी परेपछि सापेक्षिक आद्र्रता बढ्छ, र किरालाई उपयुक्त वातावरण हुने भएकोले यसको प्रकोप बढ्छ,’ भण्डारीले भने, ‘अमेरिकन फौजी दक्षिण अमेरिकाबाट अफ्रिका, भारत, बंगलादेश हुँदै नेपाल आएको हो।’ अमेरिकन फौजी पहिलोपटक गत वैशाखमा नवलपरासीको गैंडाकोटमा देखापरेको थियो।

सुनसरीकै बराहक्षेत्र नगरपालिका, रामधुनी नगरको झुम्का र मोरङको विभिन्न गाउँ, नगरपालिकामा पनि यसको प्रकोप देखिएको छ। मोरङ र सुनसरी दुवै जिल्लाको कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी अधिकृत प्रवीण श्रेष्ठका अनुसार करिब एक महिनाअघि फौजी किराको प्रकोप देखापरेको हो। ‘मोरङको उर्लाबारी, सुनवर्षी, रंगेली, रतुवामाईमा पनि फौजी देखिएको छ,’ उनले भने।

प्रदेश राजधानी विराटनगरस्थित प्रादेशिक कृषि विकास निर्देशनालयका प्रमुख तथा निर्देशक विनुप्रसाद प्रसाईले सुनसरी, मोरङ, उदयपुर र झापामा पनि फौजी किराको प्रकोप देखिएको जानकारी दिए। उनका अनुसार उदयपुरको बेलका नगरपालिका, झापाको गौरादह र हल्दीबारीमा पनि प्रकोप छ। ‘धानमा फौजी किरा नौलो होइन, तर यसपालि व्यापक छ,’ निर्देशक प्रसाईले भने, ‘मकैमा चाहिँ आउटब्रेक भएको हो।’

निर्देशक प्रसाईका अनुसार किसानको बालीमा २५ देखि ३० प्रतिशत क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिको पूर्ण विवरण तयार गर्न पत्राचार गरिएको निर्देशक प्रसाईले बताए। ‘क्षतिको पूर्ण विवरण आएपछि प्रदेश सरकारको विपद व्यवस्थापन समितिमा पेस गर्छौं, र त्यहाँबाट किसान लक्षित क्षतिपूर्ति वा राहतको निर्णय हुन सक्छ,’ उनले भने, ‘थप क्षति हुन नदिन रोकथामको उपाय पनि अपनाउने काम हुन्छ।’

क्षति विवरण संकलन र रोकथाम गर्न निर्देशन
किसानहरुले किराले धानबाली नष्ट गर्न थालेपछि धरान उपमहानगरपालिकाको आर्थिक विकास समितिले स्थलगत अवलोकन गरेको थियो। समितिको अवलोकनपछि कृषि अनुसन्धान केन्द्रलाई खबर गरेर बिहीबार कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीसहित विज्ञ टोलीले स्थलगत अवलोकन गरेका थियो।

अवलोकनपछि कार्यबाहक मेयर भण्डारीले आर्थिक विकास समितिलाई क्षतिको विवरण पेस गर्न र तत्काल प्रकोप रोकथामको उपाय अघि बढाउन निर्देशन दिएकी थिइन्। ‘विज्ञहरुको राय लिएर तत्काल रोकथाम गर्न सकिने कार्य अघि बढाउन निर्देशन दिएकी छु, किसानलाई पनि सचेत गराउन विज्ञहरु राखेर छलफल गर्ने र जानकारी गराउने काम चाँडै गर्छौं,’ उनले भनिन्।

बालीविज्ञ सन्तोष त्रिपाठीका अनुसार तत्काल फौजी किराको प्रकोप न्यूनीकरण गर्न विषादी घोलेर छर्किनु उचित हुन्छ। यस्तै, प्रत्येक तीन मिटरको दुरीमा खाल्डो खनेर चुना राख्ने वा झारपात राखेमा किरा त्यहाँ लुक्न आउने र नष्ट गर्न सहज हुन्छ। ‘पानी जमेको छ भने मट्टीतेल छर्नुपर्छ, धान ८० प्रतिशत पाकिसकेको छ भने काटेर थन्क्याइहाल्नुपर्छ, यो कुरा किसानसम्म पु-याउनुपर्छ,’ त्रिपाठीले भने।

प्रकाशित: ३० आश्विन २०७६ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App