coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नाटकीय गोलबाट स्पेन छनोट

स्टकहोम – अन्तिम मिनेटमा नाटकीय गोल गरेको स्पेनले मंगलबार स्विडेनसँग १–१ को बराबरी खेल्दै युरो कप २०२० का लागि स्थान बनाएको छ। भ्रमणकारी टोली स्पेनका लागि रोड्रिगो मोरेनोले ९०औं मिनेटमा गोल गर्दै स्पेनको यात्रालाई दुई खेलअगावै निश्चित गराएका हुन्। २००८ र २०१० को च्याम्पियन स्पेनलाई एक अंक मात्र बाँकी रहेको अवस्थामा मंगलबारको बराबरी खेल पर्याप्त बनेको हो।

यसअघि घरेलु टोली स्विडेनले ५०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएको थियो। मार्कुस बेर्गले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए। पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोली मंगलबार जितको खोजीमा मैदान उत्रिएका थिए। राम्रा अवसर पाए पनि सदुपयोग गर्न नसक्दा दुवैले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। बराबरी गोल फर्काएको स्पेनका लागि रोड्रिगोले दोस्रो हाफको इन्जुरी समयमा गोल फर्काउन सफल भएका थिए।

‘छनोट हुने टोलीको मुख्य रणनीति थियो। नतिजा हात पार्नु अर्को पाटो हो,’ स्पेनका प्रशिक्षक रोबर्टो मोरेनोले भने, ‘नाटकीय अन्त्य भयो। पछि परेसँगै दबाबमा रहेको टोलीले उत्कृष्ट पुनरागमन गर्दै स्थान सुरक्षित गर्न सफल भयो। टोलीको प्रदर्शन मंगलबार तारिफयोग्य थियो।’

पछिल्ला दुई खेलमा बराबरी खेलेको स्पेनले ८ खेलबाट २० अंक जोड्न सफल भयो। स्पेन समूह ‘एफ’ मा छनोट हुने पहिलो टोली भएको छ। यस्तै अंक बाँडेको स्विडेन ५ अंकले पछि छ भने रोमानिया ६ अंकले पछि छ। यस्तै छनोटअन्तर्गत मंगलबारै सम्पन्न समूह ‘एफ’ कै अर्को खेलमा रोमानिया र नर्वेले पनि १–१ को बराबरी खेल्दै अंक बाँडे। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा आक्रामक खेल खेलेका थिए। ५२औं मिनेटमा रोमानियाले पेनाल्टी अवसर पाए पनि सदुपयोग गर्न सकेन।

जर्ज पुस्कासले पेनाल्टी अवसरलाई सदुपयोग गर्न असफल भएका थिए। दश मिनेटपछि रोमानियाकै एलेक्सजान्डुरु मित्रिताले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। पछि परेसँगै आक्रामक देखिएको नर्वेले अन्तिम मिनेटमा गोल फर्काउँदै अंक खोस्न सफल भएको थियो।

छनोटअन्तर्गत समूह ‘जे’ को खेलमा इटालीले लिच्टेनिस्टेनलाई ५–० को फराकिलो अन्तरले हरायो। सोही समूहको अर्को खेलमा ग्रिसले बोस्निया एन्ड हर्जगोभिनालाई २–१ ले हराउँदा समूह ‘जी’ खेलमा इजरायलले लाट्भियालाई ३–१ ले स्तब्ध बनायो। समूह ‘डी’ को खेलमा स्विट्जरल्यान्डले आयरल्यान्डलाई २–० ले हराउँदा सोही समूहको अर्को खेलमा जर्जियाले जिब्राल्टरलाई ३–२ ले हरायो। समूह ‘एफ’ कै अर्को खेलमा रोमानिया र नर्वेले पनि १–१ को बराबरी खेल्दै अंक बाँडे।

प्रकाशित: ३० आश्विन २०७६ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App