६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अमेरिकी युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार

टर्कीले गरेको आक्रमणपछि सिरियाली सहर रास अल ऐनमा देखिएको धुवाँको मुस्लो। तस्बिरः एजेन्सी

इस्तानबुल (एजेन्सी) – उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अस्वीकार गरेको टर्कीका सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन्।

अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहेकै अवस्थामा एर्दोगानको यस्तो भनाइ आएको हो।

सिरियाली सेनाले उत्तरी सिरियाको मन्बिज सहरमा प्रवेश गर्नु ‘धेरै नकारात्मक’ नभएको तर सो क्षेत्रबाट सिरियाली कुर्द लडाकुलाई हटाउने विषय भने सकारात्मक भएको एर्दोगानले बताएका छन्।

युद्धविराम घोषणा गर्न अमेरिकाले भनेको भए पनि आफूहरुले कहिल्यै युद्धविराम घोषणा नगर्ने अजरबैजानबाट फर्किएका एर्दोगानले पत्रकारसमक्ष बताएको हुरियट दैनिकले जनाएको छ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार एर्दोगानलाई भेट गर्ने, अमेरिकाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। उत्तरी सिरियामा गरिएका आक्रमणका विषयमा कुनै समाधान नहुन्जेलसम्म टर्कीमा ‘आर्थिक प्रतिबन्ध लगाइने’ ट्रम्पको प्रतिबद्धता पनि पेन्सले दोहो-याएका छन्।

आफूहरुले सञ्चालन गरेको कुर्दविरुद्धको कारबाही रोक्न अमेरिकाले दबाब दिइरहेको तर आफ्नो स्पष्ट लक्ष्य रहेको एर्दोगानले बताएका छन्। अमेरिकी प्रतिबन्धको विषयको कुनै चिन्ता नभएको उनको जिकिर छ।

टर्कीका राष्ट्रपति एर्दोगानले सिरियाली सेनाले मान्बिजलाई नियन्त्रणमा राख्नु ठूलो समस्या नभएको पनि बताएको समाचारमा जनाइएको छ।

सिरियाली कुर्द लडाकुविरुद्धको घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मंगलबार टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो।

उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो।

उत्तरपूर्वी सिरियाको कुर्दिस लडाकुको नियन्त्रणमा रहेको सो इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ।

अमेरिकाले टर्कीका दुइवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्तासमेत रोकेको जनाएको छ।

टर्कीले केही समय यताबाट उत्तर र उत्तरपूर्वी सिरियामा गरेको आक्रमणपछि करिब एक लाख मानिस विस्थापित भएका छन्। ‘जबसम्म टर्कीले युद्धविराम गर्दैन र यो विषयलाई समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्न सहमत हुँदैन तबसम्म घोषित प्रतिबन्ध अझ कडा हुँदै जानेछन्,’ ह्वाइट हाउसमा बोल्दै पेन्सले बताएका थिए।

टर्कीको आक्रमणपछि पूर्वीसिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ। सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच संघर्ष हुन सक्ने आंङका गरिएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा विवादास्पद कदमका रूपमा उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनपछि नै टर्कीले आक्रमण थालेको थियो।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियाली भूमिमा आक्रमण गर्नुको मुख्य उद्देश्य नै सुरक्षित इलाका निर्माण गर्नु मात्र रहेको बताउँदै आएका छन्। उनले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमा मात्र केन्द्रित हुने जानकारी पनि दिएका छन्।

मानवअधिकारका लागि कार्यरत सिरियाली अब्जर्भेटरी संस्थाले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ। हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रकाशित: ३० आश्विन २०७६ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App