६ वैशाख २०८१ बिहीबार
समाज

६ सय सहसचिव र उपसचिव माग

काठमाडौं - लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ। ती पदका लागि ६ सय संख्याको विज्ञापन बुधबार प्रकाशन गरिएको हो। आयोगका अनुसार यति ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाइएको यो पहिलोपटक हो।

दुई वर्षदेखि आयोगले ती पदमा विज्ञापन खुलाएको थिएन। आयोगले बढुवा र प्रतियोगिता गरी दुई प्रणालीबाट विज्ञापन खुलाएको छ। बढुवामा पनि दुई प्रणाली अपनाइएका छन्। जसमा कार्यसम्पादन मूल्यांकन र अनुभव तथा कार्यसम्पादन तथा अनुभवलाई आधार बनाइएको छ। प्रतियोगितामा पनि दुई प्रणाली नै अपनाइएका छन्। जसमा आन्तरिक र खुला प्रतियोगितालाई आधार बनाइएको छ।

खुला प्रतियोगितमा सहसचिवमा ४१ र उपसचिवमा २२ पदमा विज्ञपान माग गरेको छ। निजामती सेवाबाहिर रहेकाले खुला प्रतियोगितामा ती पदमा आवेदन दिन चाहे उपसचिव पदमा संगठित संस्थामा कम्तीमा पाँच वर्ष अधिकृत तहमा काम गरेको अनुभव र सहसचिव पदमा कम्तीमा सात वर्ष अधिकृत तहमा काम गरेको अनुभव हुनुपर्ने व्यवस्था राखिएको आयोगले जनाएको छ। निजामती सेवाबाहिर रहेका व्यक्तिले सहसचिव र उपसचिवमा आवेदन दिन चाहे भने उमेरको हद ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ। सरकारी स्कुल, कलेज, संस्थान, सामुदायिक कलेज, सामुदायिक स्कुललगायत संगठित संस्थामा अधिकृत तहमा कम्तीमा पाँच र सात वर्ष काम गरेकाले उपसचिव र सहसचिवमा आवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

आयोगले कात्तिकको अन्तिम बुधबार ठूलो संख्यामा अधिकृत तहमा विज्ञापन निकाल्ने तयारी गरेको छ। यसैगरी मंसिरको अन्तिम बुधबार नायब सुब्बा र खरिदार तहमा विज्ञापन खुलाउनेछ। स्थानीय तहका लागि सुरु गरिएको कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला लोकसेवा आयोगले संघका लागि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। आयोगले करिब पाँच हजार रिक्त दरबन्दीमा नर्या भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। संघीय तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै उपसचिव र सहसचिव पदका लागि आयोगमा विवरण पठाएको हो। मन्त्रालयका अनुसार संघका लागि करिब पाँच हजार रिक्त पद छन्। समायोजन प्रक्रिया टुंगिएपछि आयोगले नयाँ भर्ना प्रक्रिया सुरु गरेको हो।

आयोगले प्रशासन, लेखा, इन्जिनियरिङ, परराष्ट्रलगायतका सेवामा विज्ञापन खुलाएको हो। मन्त्रालयले तीन तहका सरकारका लागि एक लाख ३१ हजार कर्मचारीको समायोजनको काम पूरा भएको बताएको छ।। मन्त्रालयका अनुसार संघमा स्वीकृत ४८ हजार चार सय नौ दरबन्दीमा ३९ हजार नौ सय ६० कर्मचारीको समायोजनको काम पूरा भएको छ। आयोगले गत असारदेखि स्थानीय तहका लागि करिब नौ हजार रिक्त दरबन्दीमा कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ।

कात्तिकभित्र रिक्त रहेका स्थानीय तहमा नयाँ कर्मचारी सिफारिस गर्ने तयारी गरिएको आयोगले जनाएको छ। आयोगले निजामती सेवा ऐन २०४९ अनुसार आयोगले विज्ञापन खुलाएको हो। निजामती सेवा ऐन २०४९ लाई विस्थापित गर्न बनेको संघीय निजामती सेवा ऐन हाल संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन अवस्थामा छ।

नयाँ ऐन नआएकाले आयोगले करिब १८ वर्ष पुरानोको प्रशासन कानुनअनुसार सहसचिव र उपसचिव पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरेको हो। निजामती सेवा ऐन २०४९ मा सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धाका लागि १० प्रतिशत कोटा छुट्ट्याउनुपर्ने व्यवस्था छ। नयाँ कानुनमा सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धामा कस्तो व्यवस्था राख्ने भन्नेबारे राज्य व्यवस्था समितिमा बहस र छलफल भइरहेको छ।

प्रकाशित: ३० आश्विन २०७६ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App