१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन महिलाको हत्यारा अझै पत्ता लागेन

खोटाङ – तीन महिलाको हत्या भएको लामो समय बितिसक्दा पनि दोषीको पहिचान नभएको भन्दै खोटाङका स्थानीयले असन्तुष्टि पोखेका छन्।

गृह मन्त्रालयले बुधबार दिक्तेलमा आयोजना गरेको मानवअधिकार प्रवद्र्धनसम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रममा जिल्लाका जनप्रतिनिधि र अधिकारकर्मीले २०७३ साल माघ २६ गते बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेकी १७ वर्षीया रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी बिकको हत्यामा संलग्न दोषी पहिचान नभएको भन्दै विरोध जनाएका हुन्।

घटना भएयता कैयौं प्रमुख जिल्ला अधिकारी र डिएसपी परिवर्तन भइसके पनि दोषी पत्ता लाग्न नसकेको स्थानीयको गुनासो छ। मुलुकमा मानव अधिकारसम्बन्धी राम्रो कानुनको व्यवस्था भए पनि ती महिलाको हत्यारा पत्ता नलाग्दा पीडितमा निराशा छाएको अन्तरपार्टी महिला सञ्जालकी उपाध्यक्ष रश्मि रसाइलीले बताइन्। ‘यहाँ पशु मारिँदा चर्चा हुन्छ, सोधीखोजी हुन्छ। तर, महिलाको हत्याको विषय हराउँदै गएको छ,’ रसाइलीले भनिन्, ‘सम्बन्धित स्थानीय तहले समेत यस विषयमा बोलेको देखिएको छैन। यहाँ मानव अधिकार ओझेलमा परिरहेको छ।’ प्रहरीले अनुसन्धान जारी रहेको बताए पनि ती महिलाहरूको हत्या रहस्यमय बनेको छ। प्रहरीको इन्भेस्टिगेसन टिमको अनुसन्धानबाट समेत दोषी पत्ता लाग्न नसक्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको पीडितको भनाइ छ। घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले जवाफ दिएका छन्।

प्रकाशित: ३० आश्विन २०७६ ०१:२९ बिहीबार

दोषी_पहिचान हत्यारा