coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगामी वर्ष पनि विद्यालयमा गलत वर्णविन्यास!

काठमाडौं- विद्यालय तहका विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि नेपाल प्रज्ञा प्रतिष्ठानले गलत ठहर गरेको वर्णविन्यास अँगालिएकै पाठ्यपुस्तक पढ्नुपर्ने भएको छ। सामुदायिक विद्यालयमा पढाइने अनिवार्य अंग्रेजीबाहेकका सबै विषय नेपाली भाषामा तयार पारिएका छन्।

प्रज्ञा प्रतिष्ठानले आफैंले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोष २०७२ लाई त्यसमा प्रयोग भएको वर्णविन्यास अव्यावहारिक भन्दै खारेज गर्ने निर्णय कात्तिक ३० गते गरेको थियो। विद्यालय स्तरमा सोही वर्णविन्यास प्रयोग गरिएका पुस्तक दुई वर्षदेखि पाठ्यपुस्तकका रुपमा छन्।

आगामी शैक्षिक सत्रमा पनि सोही वर्णविन्यास प्रयोग भएका पाठ्यपुस्तक बजारमा लैजाने तयारी भएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले बताए। उनका अनुसार आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुरानै वर्णविन्यास प्रयोग गरी छाप्न सुरु भइसकेको छ। यो वर्ष सच्याउन असम्भव रहेको उनले बताए। 'हामीले बर्सेनि दुई अर्ब रुपैयाँभन्दा बढीको पाठ्यपुस्तक छाप्नुपर्छ। यसपटक छाप्ने कार्य सुरु भइसकेको छ,' उनले भने, 'वर्णविन्यास सुधारेर पाठ्यपुस्तक छाप्दा सरकारले दुई अर्बभन्दा बढीको आर्थिक क्षति बेहोर्नुपर्छ। समस्या कसरी समाधान गर्ने भनेर शिक्षा मन्त्रालयले छलफल अघि बढाएको छ।' काप्रीका अनुसार पाठ्यक्रम विकास केन्द्रले पनि वैकल्पिक उपाय खोज्न विज्ञसँग छलफल अघि बढाएको छ।

नेपाली भाषा बचाऔं अभियानका संयोजक डा. बलदेव शर्मा अधिकारीले नेपाली भाषा बिगार्नेहरूका कारण विद्यार्थीले गलत वर्णविन्यास पढ्नुपरेको बताए। केही व्यक्तिको स्वार्थका कारण वर्णविन्यास बिगारेको उनको आरोप छ। 'प्रज्ञा प्रतिष्ठानका भाषा विभाग प्रमुख हेमांगराज अधिकारीले विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशन गरेको २०६१ सालको प्रयोगात्मक नेपाली शब्दकोष बिकाउन २०७२ सालमा प्रकाशित नेपाली बृहत् शब्दकोषको वर्णविन्यास बिगारेका हुन्,' अधिकारीले भने। प्रज्ञा प्रतिष्ठानले खारेज गरेको उक्त शब्दकोष १० हजार प्रति छापिएको थियो। शब्दकोष खारेज गर्दा ५० लाख आर्थिक क्षति भएको अधिकारीले बताए। उनले अब नयाँ वर्णविन्यासअनुसारकै पाठ्यपुस्तक तयार पारी पठनपाठन गराउनुपर्ने बताए।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल अभियानका संयोजक एवं त्रिवि नेपाली केन्द्रीय विभागका प्राडा खगेन्द्रप्रसाद लुइटेलका अनुसार प्रतिष्ठान र त्रिविसँग भएको सहमतिअनुसार अब २०५८ सालको वर्णविन्यास लागू गरिनेछ। विगतमा फरकफरक कक्षामा फरकफरक वर्णविन्यास पठनपाठन गराउनले समस्या भएको उनको भनाइ छ। 'हामीले कार्यान्वयन तहसम्म निगरानी राख्नेगरी प्रतिष्ठानको निर्णयलाई स्वागत गरेका हौं,' लुइटेलले भने, 'विद्यालाय हाम्रो केन्द्र हो। पाठ्यक्रम विकास केन्द्रले नयाँ निर्णयअनुसार पाठ्यक्रम र पाठ्यपुस्तक सच्याउनु पर्छ।' उनले सुझाए, 'यो वर्षलाई सरकारले सबै विद्यालयमा सच्याएर पठनपाठन गराउन परिपत्र गर्नुपर्छ, यसमा खर्च लाग्दैन। शिक्षकले बुझेका छन्, सच्याएर पढाउन सक्छन्।'

बालबालिकालाई सही पठनपाठनका लागि शिक्षकलाई निःशुल्क अभिमुखीकरण तालिम उपलब्ध गराउन मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल तयार रहेको उनले बताए।

प्रकाशित: १४ मंसिर २०७३ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App