काठमाडौं- नेपाल र भारतका द्विपक्षीय परियोजनामा देखिएका समस्या समाधान गर्न गठन गरिएको अनुगमन संयन्त्रको पहिलो बैठक मंगलबार काठमाडौंमा हुने भएको छ। बैठकमा भारतीय सहयोगमा नेपालमा सञ्चालित परियोजनाको समीक्षा हुनेछ। 'नयाँ परियोजनाभन्दा पनि पुराना परियोजनाको अवस्थाबारे छलफल हुनेछ,' परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले सोमबार भने।
अन्तरसीमा विद्युत् प्रसारण लाइन, हुलाकी राजमार्ग, पुनर्निर्माणमा भारतीय अनुदान तथा ऋणमा सञ्चालन हुने परियोजनासहितको विषयमा छलफल हुने ढुंगानाले बताए। भारतले भूकम्प पुनर्निर्माणमा अनुदान र ऋण गरी एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।
भारतले नेपालमा सञ्चालन गर्ने भनेका परियोजना सुरु नै नहुने, भए पनि निर्धारित समयमा काम नहुने भन्दै आलोचना बढेपछि अनुमगन संयन्त्र निर्माण गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले असोजमा गरेको भारत भ्रमणमा अनुगमन संयन्त्र बनाउने सहमति भएको थियो।
संयन्त्रमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिवले र भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूतले गरेका छन्। संयन्त्रमा नेपालबाट परराष्ट्र, भौतिक पूर्वाधार, अर्थ, वाणिज्य र पर्यटनसहितका मन्त्रालयका उच्च अधिकारी छन्। भारतबाट भारतीय दूतावासका उपप्रमुख, आर्थिक मामिलाका प्रमुखसहितका अधिकारी छन्। तिहारअघि मन्त्रीस्तरीय संंयन्त्रको दिल्लीमा भएको बैठकले नोभेम्बर अन्त्यसम्ममा अनुगमन संयन्त्रको पहिलो बैठक राख्ने सहमति गरेको थियो।
प्रकाशित: १४ मंसिर २०७३ ०२:४१ मंगलबार