१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा आँधी प्रभावितलाई सहयोग गर्न लाखौं डलर

टोकियो– जापान सरकारले हागिबिस नाम दिइएको आँधीबाट पुगेको जनधनको क्षतिका लागि दशौं लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ।

जापानको इतिहासमा निकै शक्तिशाली मानिएको यस आँधीबाट देशभर कम्तीमा ७४ जनाको मृत्यु भएको थियो। हागिबिस आँधी गत शनिबार शुरु भएर देशैभर फैलिएको थियो।

तिब्र बेग र वर्षाका कारण जनजीवन तहसनहस भएको थियो। देशका विभिन्न भागमा बाढी, पहिरो आएको थियो। बुधबार मध्यसम्ममा आँधीका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ।

अझै पनि दर्जनौं मानिस बेपत्ता रहेको खोज तथा उद्धार निकायहरुले जनाएका छन्। प्रधानमन्त्री शिन्जो आबेले आँधी प्रभावित क्षेत्रका लागि आपतकालीन कोषबाट खर्च गर्नेगरी तत्काल ६५ लाख अमेरिकी डलर विनियोजन गरिएको जानकारी दिए।

सरकारले आँधी प्रभावित ३०० भन्दा बढी नगरपालिकालाई अनुदानको रुपमा उक्त रकम वितरण गर्न लागेको हो। प्रधानमन्त्री आबेले जनजीवन जतिसक्दो चाँडो सामान्य बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरेका छन्।

बुधबार बिहानसम्म १० हजारभन्दा बढी घरपरिवारमा विद्युत सेवा उपलब्ध हुन सकेको छैन भने एक लाख १० हजारभन्दा बढी घरमा खानेपानीको अभाव छ। 

सरकारका प्रवक्ता योशिहिदे सुगाले आँधी प्रभावित इलाकामा खोज तथा उद्धारका कार्यहरुलाई युद्धस्तरमा सञ्चालन गरिरहेको जानकारी दिए।

‘निकै भारी वर्षा भएका कारण नदीहरुमा पानीको सतह बढेको र देखिएको जमिनमा पनि हिलो जमेको छ’, उनले भने। 

प्रवक्ता योशिहिदेले स्थानीयबासीलाई पहिरो आउन सक्ने खतराका बारेमा सचेत रहन सूचना गरिएको बताए। 

आँधीबाट खासगरी देशको उत्तरपूर्वी भेग नराम्रोसँग प्रभावित भएको छ। फुकुसिमा क्षेत्रमा मात्र २६ जनाको ज्यान गएको थियो। एएफपी

प्रकाशित: २९ आश्विन २०७६ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App