७ वैशाख २०८१ शुक्रबार
समाज

पोष्टमार्टम भवन बन्यो, प्रयोगमा आएन्

सुर्खेत- पश्चिम सुर्खेतको सालकोट स्वास्थ्य चौकीमा पञ्चपुरी नगरपालिकाले पोष्टमार्टम भवन निर्माण गरेको एक वर्ष बढी भयो। पश्चिमका तीन वटा स्थानीय तहलाई केन्द्रमा राखेर बनाइएको भवन अझै प्रयोगमा आउन सकेको छैन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कार्यरत चिकित्सकहरुलाई पोष्टमार्टम सम्वन्धी तालिम नदिँदा निर्माण भएको भवन सञ्चालनमा आउन नसकेको हो। 

मन्त्रालयलाई पञ्चपुरी नगरपालिका र अस्पताल व्यवस्थापन समितिले भवन सञ्चालन अनुमति तथा डाक्टरलाई पोष्टमार्टम सम्बन्धी तालिम दिने व्यवस्था मिलाइदिन पटक–पटक सिफारिस गरेपनि मन्त्रालयले कुनै सुनुवाई गरेको छैन्। पश्चिम सुर्खेतमा आत्महत्या, दुर्घटनालगायतका घटनाबाट नागरिकको मृत्यु भएमा पोष्टमार्टमका लागि प्रदेश अस्पताल वीरेन्द्रनगर ल्याउनुपर्ने बाध्यता छ। भौतिक संरचना भएपनि नगरपालिकाको एकल प्रयासले मात्रै पोष्टमार्टम सालकोटमै गर्न नसकिएको पञ्चपुरी नगपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिए।

आत्महत्या वा अन्य घटना भएमा पोष्टमार्टमकै लागि ४५ देखि ५० हजार खर्चेर वीरेन्द्रनगर धाउनु पर्ने बाध्यता रहेको उनको गुनासो छ। ‘ईलाका प्रहरी, ईलाका प्रशासन कार्यालय भएको ठाउँमा पोष्टमार्टम भवन आवश्यक पर्ने भएकाले नगरपालिकाको लागतमा भवन निर्माण ग¥यौं’ प्रमुख थापाले भने, ‘सालकोटमै पोष्टमार्टम गर्नका लागि पहल गरिरहेका छौं, तर प्रदेश सरकारले यसमा कुनै चासो दिएको छैन्।’

२१ लाख खर्चेर भवन निर्माण गरिएको हो। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पृत्रीभक्त गिरीले दुई जना डाक्टरलाई पोष्टमार्टम सम्बन्धी तालिम दिने व्यवस्था गरिदिन मन्त्रालयलाई पत्रचार गरेपनि सुनुवाई नभएको बताए। ‘तालिममा लाग्ने खर्च नगरपालिकाले व्यहोर्छ भनेका छौं,’ उनले भने, ‘यति गर्दा पनि मन्त्रालयले चासो दिएको छैन्।’ पश्चिम सुर्खेतमा चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा झण्डै एक लाख नागरिकहरुको बसोबास छ।

प्रकाशित: २९ आश्विन २०७६ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App