७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘राष्ट्रपति सीको सवारीमा चुस्त ट्राफिक व्यवस्थापनः प्रमदेखि सर्वसाधारणसम्मले धन्यवाद दिनुभयो’

काठमाडौं– उत्तरी छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति एवं विश्वकै शक्तिशाली नेता सी चिनफिङको नेपाल भ्रमण सफलतापूर्वक भइसकेको छ। चीनबाट २३ वर्षपछि भएको उच्चस्तरीय भ्रमणलाई नेपाल सरकार, सुरक्षा निकाय र आम नागरिकले सफल बनाए।

सी को दुई दिने नेपाल भ्रमणका क्रममा सबैभन्दा धेरै चुनौती थियो काठमाडौंको सहज ट्राफिक व्यवस्थापन। विश्वकै शक्तिशाली नेता भएकाले सी को औपचारिक सवारी पनि ठूलो हुने नै भयो। सवारी तथा ट्राफिकको जिम्मेवारी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई दियो। जहाँ प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले भर्खरै पदभार सम्हालेका थिए।

आउने वित्तिकै उनीमाथि संसारकै शक्तिशाली भिभिआइपीको सवारी र उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी आइपुग्यो। उनले यसलाई चुनौतीका साथसाथै अवसरका रुपमा लिएर सफलतापूर्वक सम्पन्न गरे। त्यतिमात्रै होइन चिनियाँ राष्ट्रपतिको सवारीमा चुस्त ट्राफिक व्यवस्थापन गरेको भन्दै प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मको धन्यवाद पनि पाए। यसै सेरोफेरोमा संसारकै शक्तिशाली नेताको सवारी र ट्राफिक व्यवस्थापन कसरी गरियो? भन्नेबारे एसएसपी ढकालको अनुभव उनकै शब्दमा:

भोलिका दिनमा भिभिआइपीको सवारी व्यवस्थापन कसरी गर्ने भन्ने कुरा हामीले गरेको कामबाट उत्साह मिलेको छ, यसरी गर्दा राम्रो हुने रहेछ भन्ने सिकाइ भएको छ। 

चिनियाँ भिभिआइपीको २३ वर्षपछि भ्रमण थियो। एकदम चुनौती थियो। त्यो चुनौतीलाई धेरै दिन अगाडिदेखि सबै सुरक्षा निकायले चासो दिएका थिए। कसरी सम्पन्न गर्ने संसारको टप मान्छेको भ्रमण? सुरक्षाको विषय सेना, प्रहरी, सशस्त्रले आफ्नो आफ्नो ठाउँमा छँदैछ। त्यसमा पनि ट्राफिकले हेर्ने सबभन्दा बढी महत्वपूर्ण कुरा हो। किनभने सवारी भनेको ट्रफिकसँग जोडियो। 

एकातिर विगतमा सवारीका क्रममा जाम हुँदा नागरिकस्तरबाट आलोचना भइराखेको थियो। अर्काे उपत्यकामा गाडी धेरै छ। त्यस्तै, शक्तिशाली भिभिआइपी आएपछि औपचारिक सवारी धेरै संख्यामा चलाउनुपर्ने हुन्छ। यसमा सबै बाटो क्लियर गरेर दायाँबायाँ गाडी, मोटरसाइकलको ताती, पुरै सडक क्लियर गर्नुपर्ने हुन्छ।

औपचारिक सवारी धेरै चलाउनुपर्ने हुँदा हामीलाई धेरै चुनौती भयो। विगतमा सवारीका बेला आरोप आउन सक्छ भनेर हामीले ७ बुँदे अनुरोधपत्र जारी गर्यौं। 

ठूला सवारी चक्रपथबाट भित्र आउनमा रोक लगायौं। 
आम नागरिकलाई सकेसम्म कम सवारी निकाल्न अनुरोध गर्यौं। किनकी सवारीलाई हल्का हुन्छ।
तपाईहरुले सवारी मार्गमा नआउनुस्, वैकल्पिक, भित्री बाटो प्रयोग गर्नुस्। 
ट्राफिक नियमलाई राम्रोसँग पालना गरिदिनुस्, जथाभावी पार्किङ नर्गनुस्। 
अवस्था ठिक नभएका, ढिलो गुड्ने पुराना गाडी नल्याउनुस्। एउटा नागरिकलाई अनुरोध गर्यौं। 

दोस्रो ट्राफिक व्यवस्थापनमा, सवारीमा पहिला गर्ने कामभन्दा अलिकति फरक ढंगले हामी गयौं। मुख्य सवारी मार्गको मात्रै सुरक्षा नभएर आम पब्लिकलाई हिड्नुस् भने भित्री सडकलाई पनि ट्राफिक क्लियर गरिदियौं। जथाभावी पार्किङ हटाइदियौं। 

अर्काे जहाँ मुख्य सवारी आउने बाटो आउने भित्री बाटोको चोकबाटै डाइभर्सन गरिदियौं। किनकी मान्छेले पर्खेर बस्न नपरोस्। 

सवारी मार्ग खाली गर्दा मान्छेलाई जरुरी पर्ने एम्बुलेन्सहरु लगायतलाई बेलाबेला छोड्दिने गर्यौं। बेला बेला छोडिदिने, जस्तो सर्वसाधारण धेरै कुरेको छ भने छोड्दिहाल्ने, तत्काल बाटो काट्ने व्यवस्था पनि मिलायौं। 

त्यसका अतिरिक्त हाम्रा जवान, अफिसरहरुले चनाखो भएर राम्रो ड्युटी गरे। यी सबै कुरा भइसकेपछि हामीलाई चुनौती समाधान गर्न सजिलो भयो। चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारी हामीले सोचेभन्दा राम्रो भयो। 

चुनौती कस्तोसम्म थियो भने विगतमा सवारी तीन वटासम्म औपचारिक सवारी हुन्थे। तर अहिले एकैदिनमा १५ वटा सवारी चलाउनुपर्ने भयो। दुई दिनमा अरु ८/१० जोड्दा २० देखि ३० वटा सवारी, २०/२५ पटक औपचारिक सवारी चलाउने, एकै साथमा चार चारवटा औपचारिक सवारी चलाउनुपर्ने थियो। छिनछिनमा समय हिसाब गरेर गर्नुपर्ने अवस्था थियो। किनभने सवारी आउँदाआउँदै झ्याप्पै गाडी आयो भने एकदमै खतरा हो। 

हामीले महानगरपालिका, सडक कार्यालय, यातायात कार्यालयसँग पनि आवश्यक समन्वय गर्यौं। दशैंमा कसैलाई विदा छोडेनौं, सबै यहीँ तयारीमा लागेर काम गर्यौं । योजना बमोजिम सफलता पायौं। ट्राफिकको कुनै कमीकमजोरी हुन पाएन। नागरिकले गरेको सहयोगका लागि धन्यवाद पनि दियौं। माथिबाट प्रधानमन्त्री, गृहमन्त्री र आइजिपी, सेनापतिले उत्कृष्ट काम भनेर प्रशंसा गर्नुभएको छ। यसमा धेरै नागरिकले फोन गरेर एकदमै सहज, राम्रो भयो, सर्वसाधारणले दुःख पनि पाएनन्, सवारी पनि सहज भयो भनेर भनेका छन्। 

भोलिका दिनमा भिभिआइपीको सवारी व्यवस्थापन कसरी गर्ने भन्ने कुरा हामीले गरेको कामबाट उत्साह मिलेको छ, यसरी गर्दा राम्रो हुने रहेछ भन्ने सिकाइ भएको छ। 

मैले भदौ १७ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यभार सम्हालेको थिए। कार्याभार सम्हाल्ने वित्तिकै संसारकै शक्तिशाली भिभिआइपीको भ्रमण भयो। यो चुनौतीलाई मैले अवसरका रुपमा लिएर काम गरेँ। 

प्रकाशित: २९ आश्विन २०७६ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App