coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

एनआरएनको उन्नति, नेपालको समृद्धि

कुल आचार्य
मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।।
अर्थात् मित्र, धनधान्य आदिको संसारभरि उच्च सम्मान गरिन्छ। तर, आमा र मातृभूमि स्वर्गभन्दा माथि हुन्छन्। रामायणमा उल्लेख यही एउटा संस्कृत श्लोकले आफ्नी आमा र मातृभूमिप्रतिको प्रेम प्रस्ट पार्छ। मातृभूमि आफंैमा एउटा जीवन्त, गतिशील र प्रेमपूर्ण शब्द हो।

मातृभूमिको महŒव र प्रेरणा हिजो जे थियो, आज र भोलि पनि उस्तै रहने छ। मातृभूमिको यही माया र प्रेमले नै विश्वका जुनसुकै कुनामा पुगे पनि फेरि डो¥याएर हामीलाई आफ्नै देश नेपालमा ल्याइपु¥याउँछ। हो, मातृभूमिप्रतिको उत्तरदायित्व बोध गर्दै प्रवासमा गरिएको संघर्षको सानो अंश नेपाली माटोमा लगाउने हेतुले हामी फेरि एकपटक काठमाडौंमा भेला भएका छौं।

विश्वभरि छरिएर रहेका नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन मंगलबार सुरु भएको छ। उक्त संघअन्तर्गत ८१ मुलुकमा गठित समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्का तर्फबाट केही महŒवपूर्ण सवालका समाधान यस लेखमार्फत खोज्ने कोसिस गरिएको छ।

नेपाल सरकारसँग हाम्रो अपेक्षा भनेको गैरआवासीय नेपालीका लागि लगानीमैत्री वातावरण सिर्जना होस् भन्ने हो।

गैरआवासीय नेपाली र नेपालको समृद्धि
रोजगारी, शिक्षा र अन्य विभिन्न कामका लागि ६० लाखभन्दा बढी  नेपाली विश्वका विभिन्न मुलुकमा पुगेका छन्। तर जुनसुकै देशमा पुगे पनि नेपाली नागरिकले आफ्नो जन्मभूमिप्रतिको जिम्मेवारी पूरा गरिरहेकै छन्।

त्यही दायित्व पूरा गर्ने अभियानमा हामी लागिपरेका छौं। सबैभन्दा महत्वपूर्ण प्रश्न– गैरआवासीय नेपालीले आफ्नो जिम्मेवारी कसरी फरक तरिकाले पूरा गर्ने भन्ने नै हो। अहिलेको सन्दर्भमा नेपाल राष्ट्रको समग्र उन्नति, विकास र समृद्धिका लागि गैरआवासीय नेपालीले सधैं अर्जुनदृष्टि लगाएकै छन्। र, आगामी दिनमा पनि योजनाबद्ध कार्यक्रमिक अवधारणा निर्माण गरी अघि बढ्नुपर्नेछ।

नेपाली समाज र नेपालभन्दा अलि परको गैरआवासीय नेपाली समाज कहिल्यै अलग हुन सक्दैनन्। हामी तनले अलि टाढा भए पनि मनले सधैं नेपालमै हुन्छौं। नेपालमा रहेको समाज र नेपालबाहिर रहेको समाज एकअर्काबिना अपूर्ण हुन्छन्, एकबिना अर्काेको अस्तित्व रहँदैन भन्दा पनि फरक पर्दैन। यहाँनेर आएर ‘एकपटकको नेपाली सधैंको नेपाली’ मन्त्रलाई पुष्टि गर्न थप प्रमाण आवश्यक पर्दैन। त्यसैले विदेशमा बसेर गरेको मिहिनेतबाट सिर्जित हरेक डलरमा हामी नेपालको विकास देख्छौं। हरेक संघर्षमा हामी नेपाली माटोको समृद्धि खोज्छौं। त्यसैले हामी हाम्रो मातृभूमिको विकास र समृद्धिको असिम चाहना बोकेर त्यो राष्ट्रिय संकल्प पूरा गर्न दत्तचित्त भएर लागेका छौं।

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन भइरहेका बेला बेलायतबाट सुरु गरिएको अभियानको पनि चर्चा गरौं। म राष्ट्रिय समन्वय परिषद् बेलायतको अध्यक्ष रहेका बेला हामीले १० लाख पाउन्ड अर्थात् करिब १४ करोड रुपैयाँ उठाएका थियौं। हजार जनाले लगानी गर्दा यति रकम उठेको थियो। नेपालको समृद्धिका निम्ति विश्वभरि रहेका ६० लाख नेपालीले दिन सक्ने योगदानका सन्दर्भमा अध्ययन, विश्लेषण र साझा आह्वान गर्न आवश्यक छ।

लगानीमैत्री वातावरण बनाउने दायित्व
गैरआवासीय नेपाली संघले धेरै पहिलेदेखि नै लगानीमैत्री वातावरणका  विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको छ। हामीले प्रस्ट हुनैपर्छ– प्रत्यक्ष लगानीका सवालमा नेपाल सरकारले एउटा महŒवपूर्ण पहलकदमी लिइदिएमा विश्वभरिका कैयौं लगानीकर्ता आकर्षित हुनेछन्। यसले नेपालको आर्थिक उन्नति, विकास र समृद्धिको अभियानमा सहयोग पुग्नेछ। लगानीका लागि प्रस्ट अवधारणा बनाउन सके गैरआवासीय नेपाली आफूले गरेको बचत नेपालमा लगानी गर्न प्रोत्साहित हुनेछन्। यो अवधारणाले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सफल बनाउन सहयोग पुग्नेछ।

मिहिनेत गर्नु फलको आशा नगर्नू भन्ने भनाइ पनि छ। गैरआवासीय नेपालीले नेपालमा गरेका लगानीको ठूलो नाफा वा अथाह प्रतिफलको आशा गरेका हुँदैनन्। तर, आफूले गरेको लगानीबापत हिस्सेदार बन्न पाउनुपर्छ भन्ने माग मात्रै हो। तर, लगानीकर्ताहरूले त्यतिकै लगानी गर्दैनन्। त्यसबाट भएको उपलब्धि अर्को क्षेत्रमा लगानी गर्न सकिन्छ। त्यस्तो लगानीबाट जन्मभूमिमै धेरैका लागि रोजगारीको सिर्जना हुनेछ र स्रोत–साधन परिचालनमा सहयोग पुग्नेछ। नेपाल सरकारसँग हाम्रो अपेक्षा भनेको गैरआवासीय नेपालीका लागि लगानीमैत्री वातावरण सिर्जना होस् भन्ने हो।

नेपाल सरकारले लगानीसँगै आर्थिक रूपान्तरण हुने गरी व्यापार नीति र आर्थिक नीति बनाउनुपर्छ। प्रत्यक्ष लगानीका सवालमा सरकारले प्रस्ट नीति बनाए त्यो आर्थिक रूपान्तरण र समृद्धिका लागि निर्णायक कदम हुन सक्छ। बृहत्तर हितका पक्षमा निर्णय लिन सरकारले आवश्यक बहस र छलफल चलाउनुपर्छ। नेपाल सरकारसँग हाम्रो अपेक्षा यही नै हो। काठमाडौंमा गत मार्चमा सम्पन्न लगानी सम्मेलनका क्रममा नेपाल सरकार तथा गैरआवासीय नेपाली संघबीच १० अर्ब रुपैयाँको एनआरएनए लगानी कोष स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्यस्तो सहकार्यलाई अरू सशक्त बनाउन अझ धेरै काम गर्न सकिन्छ। यस विषयमा अनेक आयाम अध्ययन गर्न आवश्यक छ।

सुरक्षित वैदेशिक रोजगारी र नागरिकताको सन्दर्भ
जीवनको ऊर्जाशील उमेर विदेशमा श्रम र पसिना बगाउन बाध्य हामी नेपालीले राष्ट्रलाई दिन सक्ने योगदान दिएकै छौं। नेपाल सरकारका तर्फबाट गैरआवासीय नेपाली नागरिकताका विषयमा आवश्यक सहजीकरणको अपेक्षा गरिएको छ।


खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीका अनेकन मुद्दा छन्। अमेरिका, अस्ट्रेलिया र युरोपेली मुलुकहरूमा गैरआवासीय नेपाली नागरिकताको मुद्दा उठिरहेको छ। साथै, सम्पत्तिको अधिकारका सवालमा पनि प्रस्ट नीति निर्माण भइसकेको छैन। वैदेशिक रोजगारीका लागि जाने लाखौं युवाले रगत–पसिना बगाएर पठाएको विप्रेषणले अर्थतन्त्रलाई सहयोग पु¥याइरहेको छ। तर, रेमिट्यान्समार्फत आएको बजेट व्यवस्थित हुन नसक्दा परिवार, समाज र मुलुकले नोक्सानी बेहोेर्नुपरेको छ। सुरक्षित आप्रवासन र रोजगारी सुरक्षाका लागि आगामी दिनमा आवश्यक पहलकदमी गर्नैपर्छ।

गैरआवासीय नेपालीको उन्नति, नेपालको समृद्धि
गैरआवासीय नेपाली नेपालकै अभिन्न अंग हुन्। व्यक्ति सम्पन्न हुनेभन्दा पनि नेपाल राष्ट्रकै समृद्धि पहिलो प्राथमिकता हो। त्यसैले गैरआवासीय नेपालीको अबको ध्यान नेपालको आर्थिक रूपान्तरणमा हुनुपर्छ। नेपाललाई ऊर्जा र गति दिन सशक्त भूमिका खेल्ने एउटा तप्का गैरआवासीय नेपाली नै हुन्। गैरआवासीय नेपाली जहाँ रहे पनि ऊर्जाशील छन्, रचनात्मक ढंगले काम गरिरहेका छन्।

गैरआवासीय नेपालीले आफूले उन्नति गर्दैगर्दा नेपालको समृद्धिका लागि भूमिका खेल्नेछन्। गैरआवासीय नेपालीसँग रहेका स्रोत, सीप, बौद्धिक तथा आर्थिक पुँजी र प्रविधि  नेपालमा लगानी गर्नेछन्। नेपालमा लगानी भिœयाउने तथा ब्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउँदै नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० सफल बनाउन हामीले पहल गरिरहेका छौं। साथै नेपालप्रतिको गैरआवासीय नेपालीको दायिŒव पूरा गर्न हामी सधैं प्रतिबद्ध छौं। लेखक आचार्य गैरआवासीय नेपाली संघको केन्द्रीय अध्यक्षका उम्मेदवार हुन्।

प्रकाशित: २९ आश्विन २०७६ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App