४ वैशाख २०८१ मंगलबार
अर्थ

दसैं मान्न गएका नौ लाख उपत्यका फर्किए

काठमाडौं – दसैं सकिएसँगै उपत्यका भित्रने यात्रुको संख्या बढेको छ। उपत्यका भित्रने नागढुंगा, भक्तपुर, मुड्खु र फार्पिङ नाकाबाट सोमबारसम्म नौ लाख यात्रु फर्किएको महानगरीय ट्राफिक कार्यालयले जनाएको छ।

ती नाकाबाट घटस्थापनादेखि दशमीसम्ममा साढे १९ लाख यात्रु बाहिरिएका थिए। ‘दसैं सकिएलगत्तै फर्कनेको संख्या पनि बढेको छ, सामान्य अवस्थामा फर्कन केही दिन लाग्छ,’ महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता रविकुमार पौडेलले भने, ‘अहिले दैनिक डेढ लाखभन्दा बढी यात्रु आइरहेका छन्। साबिकको समयमा दैनिक ७० देखि ८० हजार यात्रु आवतजावत गर्छन्।’

कार्यालयले घटस्थापनादेखि पूर्णिमासम्ममा १६ हजार दुई सय ६० सवारी साधनलाई कारवाही गरेको छ। उनीहरुलाई मापसे, लेन मिचेको, फुटपाथमा पार्किङ गरेको लगायत कसूरमा कारवाही गरेको हो। यसबाट एक करोड ५० लाखभन्दा बढी राजस्व संकलन भएकोे प्रवक्ता पौडेलले बताए।

यो समयमा उपत्यकामा साना–ठूला गरी चार सय १५ दुर्घटना भएका छन्। दुर्घटनामा सातजनाले ज्यान गुमाएका छन्। १० जना गम्भीरसहित दुई सय ९३ जना घाइते भएको प्रवक्ता पौडेलले जानकारी दिए।

प्रकाशित: २९ आश्विन २०७६ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App