coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

समताका विद्यार्थीले स्विटजरल्यान्डमा पढ्न पाउने

काठमाडौं - विश्वकै विशिष्ट मानिने स्विटजरल्यान्डस्थित आइगलन स्कुलमा समता स्कुलका एकजना विद्यार्थी पढ्न पाउने भएका छन्। आइगलन स्कुलका कार्यकारी निर्देशक रिचर्ड म्याकडोनाल्डले नेपालकै न्युन शुल्कमा अध्यपन गराउने स्कुलका एकजना लाई लाने भएका हुन्।

समता स्कुल तथा फाउन्डेसनले सन् २००० बाट अंग्रेजी माध्यममा नर्सरीदेखि मास्टरसम्म मासिक सय रुपैयाँमा पढाइ सञ्चालन गर्दै आएको छ। आइगलन स्कुलका कार्यकारी निर्देशक रिचर्ड म्याकडोनाल्डले मंगलबार समता स्कुलमा आई विद्यार्थीहरूसँग कुराकानीसमेत गरेका थिए। समता स्कुलका अनुसार छनोटमा परेका एकजना विद्यार्थी जुलाईमा स्विटजरल्यान्ड गई पढ्न पाउनेछन्।

समता स्कुलका संस्थापक उत्तम सञ्जेलले समता स्कुलको बारेमा सबै जानकारी गराउँदा रिचर्ड म्याकडोनाल्ड धेरै खुसी देखिन्थे। आइगलन स्कुलका कार्यकारी निर्देशक रिचर्ड म्याकडोनाल्डले समता स्कुलका विद्यार्थीलाई अध्ययापन गराई सामाजिक र आर्थिक रूपले विद्यार्थीको भविष्यलाई उज्ज्वल बनाउने बताए। ‘आर्थिक स्तरसगैँ मानवियताको हिसाबले शिक्षा प्रदान गरिनुपर्छ,’ म्याकडोनाल्डले भने, ‘समता स्कुलका विद्यार्थीहरू भविष्यमा राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पुग्नेछन्। त्यो क्षमता मैले देखेको छु।’

उनले समता स्कुलसँग हरेक पक्षमा पुलको रूपमा सम्बन्ध राख्ने बताए। उनले भने, ‘नेपालमा न्युन शुल्कमा पढाउने समता स्कुलका विद्यार्थीहरू मिहिनेती र जेहेन्दार विद्यार्थी देखेको छु। क्वालिटी एजुकेसन प्रदान गरी विद्यार्थीसँगै समता स्कुलको नाम अझै उच्चस्तरमा पु¥याउने काम गर्नेछौँ।’ उनका अनुसार समता स्कुलका विद्यार्थीलाई दुई वर्षसम्म अध्यापन गराउनेछ। विद्यार्थीले राम्रो गर्दै गएमा थप समयसम्म पढाइनेछ।

बासैबासले बनेको समता स्कुल देखेर म्याकडोनाल्ड निकै खुसी भएका थिए। समता स्कुलका संस्थापक उत्तम सञ्जेलले विश्वको धनी स्कुलमा पढ्न पाउनु नेपाली बालबच्चाका लागि ठूलो अवसर भएको बताए। ‘काठमाडौंका धेरै स्कुल अनुगमन गरेपछि उहाँले हाम्रो स्कुल मन पराउनुभएको छ,’ उनले भने, ‘हामी यो विद्यार्थी लानु भनेर भन्दैनौं। उहाँले नै क्षमतावान विद्यार्थी छानेर लाने हो। एकजना विद्यार्थी लाने पक्का भैसकेको छ।’

सञ्जेलका अनुसार आइगलनमा पढ्दा वार्षिक एक करोड ५० लाख रुपैयाँ लाग्छ। आइगलनले समताबाट कक्षा १२ का विद्यार्थीलाई लाने छन्। बर्सेनि एकजना विद्यार्थीले त्यस्तो अवसर पाउनेछन्। जोन कर्लेटले १९४९ मा स्थापना गरेको आइगलन विश्वकै विशिष्ट स्कुलमध्येको एक हो।

प्रकाशित: २९ आश्विन २०७६ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App