८ वैशाख २०८१ शनिबार
अर्थ

सुली मल बनाउन हाइटेक उपकरण

भरतपुर–१९, गाँजीपुरमा रहेको कुखुराफार्ममा अत्याधुनिक ड्रायर प्रयोगबाट सुली सुकाएर मल उत्पादन गरिँदै। तस्बिर : सविता/नागरिक

चितवन – कुखुरापालन गर्ने किसानलाई कुखुराको सुली व्यवस्थापन झन्झटिलो र प्रमुख समस्याको रुपमा छ। ठूलो संख्यामा कुखुरा पालेका व्यवसायीलाई यो समस्याले अझ बढी सताउँछ। हजारौंको संख्यामा पालिने कुखुराबाट निस्कने सुलीले दुर्गन्ध र फोहोर पनि बढाउँछ। यही समस्या भोगिरहेको अविनाश पोल्ट्री फर्म प्रालिले सुली सुकाउन हाइटेक उपकरण प्रयोग गर्न थालेको छ।

अविनाशले भरतपुर–१८, गाँजीपुर, भरतपुर–१६ को शरणपुर र नवलपुरको वेल्डियामा कुखुराफार्म सञ्चालन गरेको छ। लेयर्स पालेर अण्डा उत्पादन र चल्ला उत्पादन गरी बिक्री गर्ने फार्ममा सुली व्यवस्थापन प्रमुख समस्या रहेको सञ्चालक गुणचन्द्र विष्ट बताउँछन्।

गाँजीपुरमा रहेको फार्मबाट उत्पादित सुलीबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पटकपटक विरोधसमेत गरेका थिए।

सुलीले वरपर दुर्गन्ध फैलिएपछि दुई लाख क्षमताको फार्ममा विष्टले आधा संख्यामा मात्र कुखुरा पालेका थिए। आधुनिक प्रविधि ल्याएर प्रयोग गर्न समय लागेकाले कुखुराको संख्या घटाएको उनले बताए।

धेरै संख्यामा कुखुरा पाल्दा उत्पादन हुने लेदोसहितको सुली सुकाउन र व्यवस्थापन गर्न कठिनाइ झेल्दै आएको फार्मले अब त्यस्तो समस्या भोग्नु नपर्ने उनको भनाइ छ। ‘सुली सुकाएर मल उत्पादन गर्न अहिले हाइटेक उपकरण प्रयोग थालेका छौं,’ उनी भन्छन्, ‘यसको प्रयोगबाट सुली सुक्खा भई मल बन्छ, वातावरणमा दुर्गन्ध फैलिँदैन।’

विष्टले जर्मनी प्रविधिको सुली सुकाउने ड्रायर तीनवटै फार्ममा प्रयोग गरेकोजानकारी दिए। एउटा फार्ममा ड्रायरसहितको एयर क्लिनर, पम्प, ब्रोइलरलगायत मेसिन राख्न करिब पाँच करोड रुपैयाँ लगानी भएको उनले जानकारी दिए।

एउटा मेसिनले सुली सुकाएर दैनिक २० देखि ३० टन मल उत्पादन गर्न सकिने उनी बताउँछन्। पहिलेदेखि खाडलमा ‘डम्प’ हुँदै आएको सुली सुकाएर मल उत्पादन गर्ने तयारी छ। ड्रायरमा सुकाएर तयार गरिएको मल खेतीबालीका लागि निकै उपयोगी हुने उनको भनाइ छ।

यो मल अलैंची, चिया र केराखेतीका लागि निकै उपयुक्त हुने देखिएको उनले बताए। अन्य खाद्यान्न बालीका लागि समेत उपयुक्त हुने फार्म सञ्चालक विष्टले बताउँछन्। ‘खेती गरिने बालीलाई समेत लक्ष्य गरेर मल उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘बालीअनुसार आवश्यक पोटास, म्याग्नेसियमलगायत तत्वलाई मिसाएर मल तयार गर्न सकिन्छ।’ तीनवटा फार्मबाट अहिले दैनिक करिब ५० टन मल उत्पादन गर्न सकिनेछ।

कुखुराको संख्या बढाएर दैनिक एक सय ५० टन मल उत्पादन गर्ने योजना रहेको उनले सुनाए। यो मल रासायनिकको तुलनामा सस्तो पर्ने उनी बताउँछन्। खेतीपातीको सिजनमा रासायनिक मल अभावको समस्या भोग्दै आएका किसानलाई समेत यसबाट राहत हुने विश्वास गरिएको छ। फार्ममा ड्रायरबाट मल सुकाएर उत्पादन गर्न थालेका उनी अब मलको व्यावसायिक बिक्री–वितरणको योजनामा छन्।

कुखुरापालनमा नयाँ–नयाँ प्रविधि भित्रिँदा उत्पादन लागत कम हुने उनले बताए। अविनाशले कुखुरापालनमा स्वचालित र आधुनिक प्रविधि प्रयोग गर्दै आएको छ। व्यवसायमा आधुनिक प्रविधिको प्रयोगले सफा र गुणस्तरीय उत्पादनमा सहयोग हुने उनी बताउँछन्।

प्रकाशित: २९ आश्विन २०७६ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App