८ वैशाख २०८१ शनिबार
समाज

बेत्रावती–रसुवागढी सुरुङ निर्माण चुनौतीपूर्ण

रसुवा - बेत्रावती–रसुवागढी सुरुङ मार्ग निर्माण चुनौतीपूर्ण हुने देखिएको छ। २४ किलोमिटर सुरुङ मार्ग बनाउन कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

सुरुङ मार्ग निर्माण हुने क्षेत्रको दुई स्थानमा जमिन चिरा परेको सो सडक योजनाले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। निर्माणका लागि सम्झौता भएको बेत्रावती–रसुवागढी सुरुङको दुरी २४ किलोमिटर हुने छ।

नेपाल–चीनबीच २० वटा विषयमा भएका द्विपक्षीय समझदारीमा यो सुरुङ निर्माण पनि परेको छ। गल्छी–रसुवागढी सडकको स्तरोन्नति कार्यको नेतृत्व लिइरहेको योजनाले प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो। सोही प्रतिवेदनका आधारमा नेपाल–चीनबीच सुरुङ निर्माण हुने सम्झौता भएको हो।

२४ किलोमिटर सुरुङ मार्ग निर्माण हुने क्षेत्रको दुई स्थानमा जमिन चिरा परेकाले कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

एक किलोमिटर बराबर दुई अर्ब रुपयाँ खर्च हुने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। सुरुमा स्याफ्रुदेखि मैलुङसम्म सुरुङ निर्माण गर्ने योजना थियो। आइतबार भएको द्विपक्षीय सम्झौता अनुसार बेत्रावतीदेखि रसुवागढीसम्म नै सुरुङ निर्माण हुने छ।

काठमाडौंसँग जोड्ने नजिकको नाका भएकाले यस क्षेत्रमा रेलमार्ग तथा सुरुङ मार्ग बनाउन आवश्यक रहेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। नेपालमा हालसम्म २४ किलोमिटर लामो सुरुङ निर्माण नभएको छैन। ‘निर्माणको हिसाबले निकै चुनौतीपूर्ण छ’, उनले भने, ‘चुनौती छ भन्दैमा नबनेचाहिँ होइन।’

यसको निर्माणका लागि आयोजनाले निरन्तर सहयोग र सहकार्य गर्ने छ। सुरुङ निर्माणको काम सुरु भए पनि सडक स्तरोन्नतिको काम पनि निरन्तर सञ्चालन हुने योजनाले जनाएको छ। सुरुङ मार्ग निर्माण भएपछि द्विदेशीय व्यापारमा सहज हुने विश्वास लिइएको छ।

बेत्रावती–रसुवागढी, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमि सडक छोटिने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ। गल्छीदेखि रसुवागढीसम्मको सडक साँघुरो छ।

चीनले पछिल्लो समय रसुवागढी नाकालाई प्राथमिकतामा राखेको छ। आइतबार भएको समझदारीमा पनि अधिकांश आयोजना रसुवागढी नाकातर्फका छन्। अन्तर्देशीय प्रसारण लाइन, केरुङ–काठमाडौं रेलमार्ग, केरुङ–काठमाडौं सुरुङ मार्ग प्राथमिकतामा परेका छन्। त्यसैगरी चीन सरकारको लगानीमा रसुवागढी नाका नजिकै सुख्खा बन्दरगाह निर्माण भइरहेको छ भने जोइन्ट कमान्डिङ सेन्टर स्थापनाको चरणमा छ।

प्रकाशित: २९ आश्विन २०७६ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App