६ वैशाख २०८१ बिहीबार
समाज

बाँदरले अन्न खायो, किसानले के खाने ?

खोटाङ– खोटाङका पाँच गाबिसका किसानले बाँदर आतंक नियन्त्रणकालागि प्रशासनलाई गुहारेका छन्। खेतबारीमा लगाइएको धान, मकै, कोदो, गहुँ, आलु लगायतका प्रमुख बालीनाली बथानका–बथानमा आउने बाँदरले खाइदिने र नष्ट गरिदिने गरेको भन्दै दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा र लफ्याङका पिडित किसानले बाँदर आतंक नियन्त्रणकालागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका हुन् ।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई निवेदन दिँदै बाँदर पीडित किसानले आफ्नो खेतबारीको अन्नबाली, फलफुल र तरकारी संरक्षणको माग राखेका छन् । बाँदर आतंकले कृषि उत्पादनमा ह्रास ल्याएको र सो कारण निम्तिने भोकमरीका कारण बसाई सर्नुपर्ने अवस्था आएकाले प्रशासन गुहार्नु परेको स्थानीय झमप्रसाद आचार्यले बताए । किसानले बाँदर आतंक नियन्त्रण गर्न प्रभावकारी बिधि खोजीदिन वा बाँदरले पुर्‍याएको क्षतीपुर्तीको व्यवस्था मिलाउन प्रशासनसमक्ष आग्रह गरेका छन्। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने किसानको चेतावनी छ।

बाँदरले फल्न, फुल्न र पाक्न लागेको बालीनाली नष्ट बनाएका कारण कतिपय गाउँ बजारबाट किनेर ल्याइएको अन्नमा निर्भर रहनुपर्ने बाध्यता सिर्जना भएको किसानको गुनासो छ। दिनभर बाँदर धपाउनुपर्ने बाध्यताका कारण बालबच्चाको पठन–पाठनमा समेत नकरात्मक अशर पुगेको आचार्यले जनाए। गाउँले मिलेर धपाए पनि केही दिनमै फर्किने बाँदरले घरभित्र भण्डारण गरेको अन्न समेत खाइदिन थालेपछि किसान हैरान छन् । ‘बाँदरले खेतबारीको अन्न त बाँकी राखेनन् नै, घरभित्र राखिएको अन्न समेत छाडेन,’ आचार्यले भने, ‘बाँदरको आतंकले जग्गा बाँझो नराख्ने सरकारको नितीलाई नै चुनौती दिएको छ।’

पहिला–पहिला बन्दुक पड्काएर बाँदर धपाउने गरिएकामा पछिल्लो समय त्यसमा रोक लगाइएपछि बाँदर आतंक मच्चिएको किसानको भनाई छ। उनीहरुले बन्यजन्तु संरक्षण ऐनलाई ध्यानमा राख्दै बाँदर धपाउने, बाँदरले नष्ट नगर्ने प्रजातीका बालीनालीको खेती लगाउने, डढेलो नियन्त्रण लगायतका मागका बिषयमा प्रशासनको ध्यानाकर्षण गराउँदैआएका छन्। बाँदर आतंकका बिरुद्ध किसानले २०६६ सालमै अन्नबाली सुरक्षा समिति गठन गरेका थिए । किसानले २०७२ साल बैसाख ६ गते पनि बाँदर धपाउन प्रशासनलाई निबेदन दिएका थिए।

प्रकाशित: १३ मंसिर २०७३ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App