८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘इरानी नागरिकमाथि अमेरिकी अपराध’

इरानी राष्ट्रपति हसन रौहानी।

तेहरान (एजेन्सी) – प्रतिबन्ध लगाएर अमेरिकाले इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले मंगलबार आरोप लगाएका छन्।

‘इरानी जनतालाई खाद्यान्न र औषधिसमेतको पहुँचमा संकट आउनेगरी नाकाबन्दी गर्नु अमेरिकाका लागि ‘लज्जा’ को विषय बन्नुपर्छ,’ इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले राष्ट्रपति रौहानीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

‘इरान विरोधी प्रतिबन्ध आर्थिक आतंकवाद हो,’ रौहानीले जिकिर गरेका छन्। अमेरिकी दबाबले इरानी जनता र राष्ट्रलाई घुँडा टेकाउने कल्पना असम्भव रहेको राष्ट्रपति रौहानीले दाबी गरेका छन्। अन्यायपूर्ण तथा अनौठो प्रतिबन्धको दबाबका बीच पनि इरानी वैज्ञानिक, अनुसन्धानकर्ता, उद्योगी तथा उत्पादकहरुले पूर्ण आत्मनिर्भरताको बाटोमा अघि बढाउन अत्यधिक मेहनत गरेका र अहिले उक्त उद्देश्य प्राप्तितिर इरान रहेको रौहानीको भनाइ छ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ अमेरिकासहितका विश्वका ६ शक्तिशाली राष्ट्रसँग इरानले गरेको आणविक सम्झौता अमेरिकाको पक्षमा नरहेको भन्दै गत वर्षको जुलाईदेखि सम्झौताबाट फिर्ता भएको घोषणा गरी इरानविरूद्ध पहिलेभन्दा अझ कडा प्रतिबन्धको घोषणा गरेका थिए।

सम्झौता तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा भएको थियो भने यसै विषयलाई ट्रम्पले आफ्नो सशक्त चुनावी अजेन्डा बनाएका थिए।

अमेरिकाको निर्णयलाई अन्य हस्ताक्षरकर्ताले भने गलत भन्दै सम्झौताबाट कुनै हालतमा पनि फिर्ता हुन नहुने मत प्रकट गर्दै आएका छन्। नयाँ सम्झौता गर्न इरानलाई गरेको अमेरिकी आग्रहलाई अस्वीकार गरेपछि तेहरानको अर्थतन्त्र धरासायी हुनेगरी इरानको प्रमुख आम्दानीको स्रोत तेल तथा अन्य सामानको निर्यात तथा कारोबारमा वासिङ्टनले प्रतिबन्ध लगाएको छ।

प्रकाशित: २९ आश्विन २०७६ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App