७ वैशाख २०८१ शुक्रबार
राजनीति

नयाँ सभामुख चयन प्रक्रियामा अन्योल

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नयाँ सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा रिक्त सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ। नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यसविषयमा छलफल भए पनि कसलाई उम्मेदवार बनाउने विषयमा कसैले प्रस्ताव गरेका छैनन्। तर, सभामुखको बनाउने विषयमा तत्कालीन एमाले र माओवादी तर्फका नेताबाट आ–आफ्नो तरिकाले पार्टी भित्र लबिङ सुरु गरेका छन्।

संविधानको धारा ९१ ले सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख गरेको छ। त्यसबमोजिम सभामुख पनि नेकपाले लिने भएमा उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था आउँछ। नेकपाले सभामुख लिने निर्णय गरिसकेको छ।

तत्कालीन एमालेको कोटाबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख बनेकी थिइन् भने तत्कालीन नेकपा माओवादीको कोटाबाट कृष्णबहादुर महरालाई सभामुख बनाइएको थियो। पार्टी एकीकरण भई नेकपा बनेपछि सभामुख र उपसभामुख एउटै दलको हुन पुगेका थिए जुन संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिटसमेत परेको छ। अब नेकपा पार्टी भएकाले को माओवादी को एमाले भनेर छुट््याउन नहुने नेकपाकै नेताहरूको धारणा छ। संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङले पनि एउटै पार्टीभित्र दुईथरी पार्टीको कुरा अब गर्न नहुने बताउँदै आएका छन्।

सभामुख नेकपाले लिएमा उससभामुखले राजीनामा दिनुपर्ने अवस्था आउनेछ। सभामुख पद रिक्त भएको र नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उपसभामुख शिवमाया तुम्बाहाम्फेबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। प्रधानमन्त्रीले सभामुख नेकपाले लिने बताएका थिए। जसबाट उपसभामुखले पद छोडनुपर्ने अवस्था आउने कुरा बताएपछि उनलाई सम्मान स्वरूप मन्त्रीमा लैजाने कुरा प्रधानमन्त्रीले गरेको स्रोतले बतायो। खानेपानी मन्त्री बिना मगरलाई राजीनामा गर्न लगाएर उनलाई सो मन्त्रालयमा उपसभामुख तुम्बामहाम्फेलाई लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेको स्रोतले बतायो। तर उपसभामुखले आफूले नै सभामुख पाउनु पर्ने दाबी गरेकी थिइन्। निवर्तमान सभामुख महराको गल्तीको सजाय आफूलाई दिन नमिल्ने कुरा उनले प्रधानमन्त्रीसँग गरेकी थिइन्।

पूर्व सभामुख तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई सभामुखका लागि अघि सारेका छन्। तर, त्यस कुरालाई माओवादीतर्फका नेताले असहमति जनाएका छन्। माओवादीतर्फका नेताले माओवादीतर्फ बाटैका सांसदबाट सभामुख बनाउनुपर्ने अडान लिइरहेको स्रोतले बताएको छ। सम्भावित नाम जुन आए पनि माओवादीलाई दिने कुरामा सहमति भएपछि मात्रै उमेदवारको टुंगो लाग्ने स्रोतले बतायो। माओवादीबाट नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङको बढी जोड रहेको स्रोतले बतायो। पूर्व सभामुख ओनसरी घर्तीका तर्फबाट पनि लबिङ सुरु भएको छ। यसबाहेक अन्य सांसदमा लेखराज भट्ट, अग्नी सापकोटाको कुरा पनि चर्चामा छ।

सभामुखको लागि विभिन्न नाम चर्चामा रहँदै गर्दा अन्तिममा प्रधानमन्त्री केपी ओलीले पूर्व सभामुख सुवास नेम्वाङलाई नै सभामुखका लागि प्रस्ताव गरेर सहमती जुटाउने सम्भावना पनि बलियो रहेको स्रोतले बतायो। सभामुखबाट कृष्णबहादुर महरालाई संसद्को स्वास्थ्य शाखाकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि असोज १३ गते उनले राजीनामा दिएका थिए।

सभामुख नहुँदा विधेयक प्रमाणित गर्ने, संवैधानिक परिषद्को बैठकमा भाग लिनेलगायतका काम रोकिएका छन्। संविधानको धारा ९१ उपधारा ४ ले सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नेछ भन्ने व्यवस्था गरेकाले संसद्को बैठक सञ्चालनमा भने बाधा पर्ने भने देखिदैन। असोज २ गते बर्खे अधिवेशन अन्त्य भएको छ। हिउँदे अधिवेशन बोलाउने विषयमा स्पष्ट भएको छैन। पुसको अन्तिम साता हिउँदे अधिवेशन बोलाउने योजना भए पनि सभामुखको निर्वाचनका लागि मंसिरमा नै अधिवेशन बोलाउने सुझाव प्रधानमन्त्रीलाई एकथरी राजनीतिक सल्लाहकारले दिएका छन्। संसद्मा बिजनेस नभएकाले कसैले विशेष अधिवेशन बोलाएर सभामुखको टुंगो लगाउनुपर्ने सुझाव पनि अर्कोथरीको छ। तर उम्मेदवारमा सहमति भएमा विशेष अधिवेशन पनि बस्न सक्ने सम्भावना रहेको स्रोतले बतायो।

संविधानको धारा ९३ को उपधारा ३ ले विशेष अधिवेशन बोलाउन सकिने व्यवस्था गरेको छ। अधिवेशन चालु नभएको अवस्थामा एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा प्रतिनिधिसभाको अधिवेशन प्रारम्भ हुने संविधानको व्यवस्था छ। राष्ट्रपतिको विदेश भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रको शिखर सम्मेलनमा भाग लिनका लागि अजरबैजानको राजधानी बाकु जाँदैछन्। जसबाट तिहारअघि सभामुख चयनका प्रक्रिया सुरु हुनेछैन। प्रधानमन्त्री स्वदेश फर्केपछि उमेदवारमा सहमति गराउने र आवश्यकता परे विशेष अधिवेशन पनि बोलाउने सम्भावना रहेको स्रोतले बतायो।

प्रकाशित: २९ आश्विन २०७६ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App