coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रिजर्भको बहानामा यात्रु ठगिँदै

चरिकोटबाट मंगलबार बिहान राजधानी हिँड्न लागेका बस। तस्बिर : रमेश/नागरिक

दोलखा – जिल्लाको लापिलाङ गाउँका महेश खत्री दसैं मनाएर राजधानी फर्किने गाडी चढ्न आइतबार चरिकोटस्थित सातदोबाटो चोकमा रहेको बस काउन्टरमा पुगे। काउन्टरले टिकट सकिएको जनाउ दियो। बाहिरपटि बसेका एउटा बसका सहचालकले राजधानी जाने भए रिजर्भमा गाडी छ तर एक हजार भाडा लाग्छ भनेर उनको कान फुक्न पुगे। जानैपर्ने भएकाले उनी एक हजार तिर्न राजी भए।

महेश खत्री त प्रतिनिधि पात्र मात्र हुन्। रिजर्भको नाममा यात्रु बोक्ने सार्वजनिक बसले चर्को भाडा असुलेर यात्रु ठगिरहेका छन्। दसैंका यात्रुको चाप बढेको फाइदा उठाउँदै दोलखाआसपासमा सञ्चालित अरनिको र रोल्वालिङ यातायातले चार गुणासम्म बढी भाडा असुलेर यात्रु ठगिरहेको चारैतिरबाट गुनासो आइरहेको छ। यात्रुका अनुसार मंगलबारसम्म पनि बसका कर्मचारीको यो कार्य जारी छ।

चरिकोटबाट काठमाडौं पुगेको भाडा ३ सय ६० रुपैयाँ पर्छ। तर यी दुई समितिका गाडीले १ हजार रुपैयाँसम्म असुलिरहेका छन्। रिजर्भ भन्दै १ हजार रुपैयाँ लिइरहेका बसहरूले बाटोमा ट्राफिकले सोधे ३ सय ६० रुपैयाँ तिरेर आएको बताउन बाध्य पार्ने गरेको यात्रुहरू बताउँछन्।

चरिकोट बजारबाट रोल्वालिङको एउटा र अरनिको यातायातका पाँचओटा बस राजधानीका लागि छुट्छन्। यीबाहेक सदरमुकामबाहिरका गाउँबाट दैनिक तीन दर्जन बस सदरमुकाम हुँदै राजधानी आउजाउ गर्छन्। ती बसले रिजर्भ भन्दै १ हजार रुपैयाँ लिएर दसैंमा घर आएका यात्रु ओसारिरहेका छन्। अरनिको यातायातको चरिकोट काउन्टरका कर्मचारी रविन चौलागाईंले आफ्ना गाडीले त्यसरी ठगी नगरेको दाबी गरे। ‘हाम्रो यहाँको काउन्टरमा पाँचओटा बसको टिकट काटिन्छ,’ उनले भने, ‘दसैंलगतै बसहरू समितिको सम्पर्कमा आउन समय लाग्ने भएकाले अस्तिदेखि क्यु नियमित भएयता काउन्टरबाटै अरू बेलाको नियमित दरअनुसार भाडा लिएर टिकट काटिरहेका छौं।’ चौलागाईंले छुटेका बसको चलानी काटेर पठाउने गरेकाले बाटामा त्यस्तो चलानी चेकजाँचमा कडाइ गरिए बढी भाडा लिने काम स्वतः नियन्त्रण हुने बताए।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने दुवै समितिका गाडीलाई रिजर्भमा कडाइ गरेको छ। ‘टीकाको भोलिपल्टदेखि चल्ने बसलाई रिजर्भ भनेर हिँड्न रोक लगाएका छौं,’ ट्राफिक प्रहरी दोलखाका प्रमुख सई गोकर्ण नेपालले भने, ‘तर प्रहरीको आँखा छलेर एकान्त ठाउँबाट यात्रु चढाउने गर्दा ठगिने काम पूर्ण नियन्त्रण गर्न कठिनाइ भइरहेको छ।’ उनले चेकजाँचमा भने कडाइ गरेको सुनाए। हालसम्म त्यसरी यात्रु ठग्ने सातओटा बसलाई नियन्त्रणमा लिएर कारबाही गरिसकिएको नेपालले बताए। टीकाको भोलिपल्ट यता त्यसरी बढी भाडा लिने ती सातओटा बसबाट यात्रुलाई लिइएको बढी भाडा फिर्ता गर्न लगाएर सवारी ऐनअनुसार कारबाही गरेको नेपालले सुनाए। जिल्लाको खरिढुंगा, बोच, चरिकोट, किरातीछाप, सिंगटी, मैनापोखरीलगायत स्थानमा चेकजाँच कडा पारिएको ट्राफिक प्रहरीले बताएको छ।

ट्राफिकले चेकजाँच बढाए पनि यात्रुले आफू ठगिएको कुरा उजुरी नगर्दा समस्या भएको प्रहरी अधिकारीको अनुभव छ। ‘हामीले चेकजाँच कडाइ पारे पनि आफू ठगिएको कुरा यात्रुहरू नै भन्दैनन्,’ सई नेपाल भन्छन्, ‘बसले कागजात बोकेरै हिँड्ने गरेकाले हामीले यात्रुलाई सोधेर वा टिकट हेरेर अनुसन्धान गर्ने हो तर उनीहरू नै चलनचल्तीकै भाडा तिरेर हिँडेको भनेर ढाँट्छन्।’ आफूहरूलाई पुग्ने हतारोका कारण यात्रुले उजुरी नगर्दा बसलाई कारबाही गर्न समस्या परेको ट्राफिक प्रहरीले बताउने गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने बढी भाडा लिइएको भेटिए अनिवार्य उजुरी गर्न यात्रुलाई आह्वान गरेको छ।

प्रकाशित: २९ आश्विन २०७६ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App