coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नौबिसे–नागढुंगा सडकमा कालाेपत्रे फेरि सुरु

त्रिभुवन राजपथस्थित नौबिसे–नागढुंगा सडकखण्डका खाल्डाखुल्डीमा कालोपत्रे गरिदैँ। तस्बिर : सरिता/नागरिक

धादिङ – खाल्डाखुल्डी बनेको नौबिसे–नागढुंगा सडकखण्डको कालोपत्रेको काम पुनः सुरु गरिएको छ। दसैंअघि सवारी रोकी कालोपत्रे सुरु गरे पनि अत्यधिक सवारी जामका कारण स्थगित गरिएको थियो। सडक विभागलाई सवारी चाप नहुने समयमा कालोपत्रेको काम गर्न अनुरोध गरे पनि ठेकेदारले अटेर गर्दै आइरहेका छन्। सडक मर्मतले अत्यधिक सवारी जाम भएर बिरामीको मृत्युसमेत भएपछि दबाबमा परेको निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन भएका थिए। दसैं सकिएलगत्तै मंगलबार मध्यान्नदेखि त्रिभुवन राजपथको कानाकोटबाट मर्मतको काम पुनः सुरु गरिएको छ।

मर्मतको काम जतिसक्दो चाँडो सक्न ठेकेदार कम्पनीले पहिलेभन्दा बढी कामदार परिचालन गरेका छन्। सडक विभागले बिहान १० बजेदेखि नै कालोपत्रेको काम सुरु गर्ने भनेर प्रहरी, प्रशासनलाई जानकारी दिएको थियो। टाढाबाट आएका रात्रिबसहरू यही समयमा काठमाडौं प्रवेश गर्दा सवारीको लाम लाग्ने भएका कारण विभागले दिउँसोको समयमा मात्रै काम गर्न अनुरोध गरेको हो।

वर्षौंदेखि जीर्ण नेपालकै पुरानो त्रिभुवन राजपथअन्र्तगत नौबिसे–नागढुंगा पार गर्दै यात्रुहरू देशका ६५ भन्दा बढी जिल्ला आवातजावत गर्छन्। सडक वर्षौदेखि जीर्ण भएका कारण प्रत्येक वर्ष मर्मतका लागि लाखौं रकम खर्चिने गर्छन्। यस वर्ष पनि डिभिजन सडक कार्यालय भरतपुरले जिएमआर कम्पनीलाई सडक मर्मतको जिम्मा दिएको थियो। असारअगावै सकिसक्नुपर्ने काम वर्षा र विविध कारण देखाउँदै चाडपर्वको मुखमा आएर झारा टार्ने किसिमले गरेको यात्रुहरूले आरोप लगाएका छन्।

काठमाडाैंबाट बाहिरिने र उपत्यका छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत गरे पनि बढी भारले गर्दा धेरै दिन टिक्दैन ।

सवारीको चाप कम हुने समयमा सडक मर्मतको काम गर्नका लागि अनुरोध गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले बताए। ‘बिहान र बेलुकाको समयमा सवारी चाप बढी हुन्छ, दिउँसोको समयमा गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘चाडपर्वको समयमा सडक मर्मत भन्दा पनि यात्रुलाई सुरक्षित र सहज रूपमा गन्तव्यमा पु-याउन प्रहरी खटिएका छौं।’ दसैं अगाडिदेखि नै बढेको सवारी चाप अहिले पनि उत्तिकै भएका कारण ठाउँठाउँमा ट्राफिक व्यवस्थापनका लागि प्रहरी खटाइएको उनले बताए।

साँधुरो सडक र बढी मोड भएका कारण कालोपत्रे गरिएको समयमा एकतर्फी रूपमा मात्रै सवारी आवागमन गर्नुपर्ने हुन्छ। कुनै कारणले १० मिनेट मात्र अवरुद्ध हुँदा लामो लाइन हुने यस सडकखण्डमा सडक मर्मतले घण्टौं रोकिनुपर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको उदाहरण धेरै छन्। दसैं–तिहारमा दैनिक १२ हजारदेखि १८ हजार सवारीसाधन र मालवाहक गाडी राजधानी भित्रिन्छन्। दैनिक १८ हजार बढी सानाठूला सवारीसाधन राजधानीबाट बाहिरिन्छन्। यसरी गन्तव्यमा हिँडेका सवारीसाधन बीचमा नै रोकिने गर्छ।

सडकखण्डमा खाल्टाखुल्टी भएको उकालो र साँघुरो बाटो, घुमाउरो मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम त्यतिकै हुने गर्छ। चाडपर्वको समयमा अत्यधिक भार बोकेर आएका सवारीसाधनले सडक नै भासिने गर्छ। काठमाडौंबाट बाहिरिने र उपत्यका छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत गरे पनि बढी भारले गर्दा धेरै दिन टिक्दैन । सवारी चापले मर्मत गरेको महिना दिनमै सडक जीर्ण हुन थाल्छ । अत्यधिक भार बोकेका सवारीसाधनले काठमाडौं प्रवेशको देब्रे लेन बिगारेर खाल्डाखुल्डी बनाउने गर्छ।

नौबिसे–नागढुंगा सडक मर्मतको काम गत असारभित्र सक्नुपर्ने भए पनि मर्मत नसकिएकाले दसैं अगाडिदेखि नै हतार–हतार टालटुल गर्न थालिएको हो। दसैंअघि सडक खाल्डाखुल्डी भएपछि नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा पाएको चितवनस्थित जिएमआर कन्स्ट्रक्सनले कालोपत्रेको काम थालेपछि जाम सुरु हुन थालेको थियो। चितवनस्थित सडक डिभिजन कार्यालयले सूचना नै जारी गरेर कालोपत्रेको समयमा सवारी आवागमन ठप्प हुने बताएका छन्।

काठमाडौं छिर्ने नाका सडकको देब्रे लेनको अवस्था दयनीय बन्दै गएको छ। कालोपत्रे उक्किएर काम नलाग्ने भएको छ भने सडकका ठाउँठाउँमा खाल्टाखुल्टी मात्र होइन, कुलोजस्तै बनेको छ। सामान बोकेका सवारीसाधनको भार बढी हुने भएका कारण देब्रे लेन प्रायः खाल्डाखुल्डी हुने गर्छ। हरेक वर्ष सडक मर्मत–सम्भारका नाममा करोडौं बजेट विनियोजन हुन्छ। वर्षभरि कुनै न कुनै स्थानमा मर्मत पनि भइरहेको हुन्छ, तर कहिल्यै बनिसक्दैन। दुनियाँका आँखामा छारो हालेर गरिएको हतारे कामले जनतालाई जहिल्यै सास्ती दिने काम गरेको यात्रुहरूको गुनासो छ।

प्रकाशित: २९ आश्विन २०७६ ००:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App