८ वैशाख २०८१ शनिबार
अर्थ

अमलेखगन्ज डिपोबाट भैरहवा र विराटनगरमा पनि डिजेल आपूर्ति

बारा– भारतीय आयल निगमको डिपोहरुबाट भैरहवा र विराटनगरको लागि डिजेल आपूर्ति गर्दै आएको नेपाल आयल निगमले अहिले अमलेखगन्ज डिपोबाट नै भैरहवा र विराटनगरको लागि आपूर्ति गर्न थालेको छ।

निगमले यसअघि भैरहवालाई भारत उत्तर प्रदेशको बनारस क्षेत्रबाट र विराटनगरलाई बिहारको बनौनीमा रहेको भारतीय आयल निगमको डिपोबाट डिजेल आपूर्ति गर्दै आएको थियो।

मोतिहारी– अमलेखगन्ज  पेट्रोलियम पाइपलाइनबाट अमलेखगन्ज डिपोमा आपूर्ति  गरिएको डिजेललाई विराटनगर र भैरहवा ट्याकरहरुमा लोड गरि पठाउँदा भारतबाट ढुवानी गरिएको भन्दा कम खर्चिलो हुने गरेको नेपाल आयल निगमका अधिकारीहरुले बताएका छन्। 

‘विराटनगरको लागि बिहारको बरौनी र भैरहवाको लागि बनार क्षेत्रमा रहेको भारतीय आयल निगमको डिपोहरु अमलेखगन्ज डिपोभन्दा दुरीमा रहेका छन’, नेपाल आयल निगम अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले भने, ‘बढी दुरीमा पर्ने भारतीय डिपोहरुबाट डिजेल ढुवानी गर्दा ढुवानी खर्च बढ्ने भएकोले विराटनगर र भैरहवाको लागि कम दुरीमा पर्ने अमलेखगन्जबाट डिजेल सप्लाई गर्दा ढुवानी खर्चमा बचत हुने गरेको छ।’

नेपाल आयल निगमले  पाइपलाइनबाट अमलेखगन्ज डिपोसम्म दैनिक ३३ लाख लिटरसम्म डिजेल आपूर्ति गरि देशको विभिन्न भागमा रहेका निगमको डिपोहरुमा पठाउने कार्य गरिएको डिपो प्रमुख यादवले बताए।

अमलेखगन्ज डिपोले विराटनगरमा ८ लाख , काठमाडौंमा ६ लाख, पोखरामा २ लाख, भैरहवामा २ लाख र यस क्षेत्रमा ८ लाख गरी दैनिक करिब २६ लाख लिटर डिजेललाई विभिन्न डिपोहरुमा ट्यांकरको माध्यमले पठाउने गरेको यादवले बताए।

अमलेखगन्ज डिपोबाट देशको विभिन्न भागमा रहेको डिपोहरुमा डिजेल पठाउँदा दैनिक एक यस ५० भन्दा बढी डिजेल ढुवानी गर्ने ट्यांकरहरुको आवश्यकता पर्ने गरेको यादवले बताए।

अमलेखगन्ज डिपोमा दुई करोड चार लाख डिजेलको भण्डारण क्षमता रहेको र पाइपलाइनबाट आएको बढी डिजेललाई भण्डारण गर्ने गरिएको यादवको भनाई छ।

देशमा दैनिक अधिकत्म ६० लाख लिटर डिजेल खपत हुने गरेका र पाइपलाइनको माध्यमले अमलेखगन्ज सम्म डिजेल ढुवानी गर्दा ढुवानी खर्च ट्यांकरको भन्दा न्यून रहेको बताइएको छ।

भदौ २४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट र प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट स्वीच चिथेर ६९ किलोमिटर लामो मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको संयुक्त रुपमा उद्घाटन गरेका थिए।

उदघाटन गरिएको पाइपलाइनबाट प्रतिघण्टा लगभग तीन सय केएलसम्म डिजेल आपूर्ति भई रहेको छ। पाइपलाइनबाट डिजेल आपूर्ति गर्दा प्रति लिटर डिजेलमा एकदेखि एक रुपैयाँ ५० पैसासम्म निगमलाई बचत भैरहेको छ।

प्रकाशित: २८ आश्विन २०७६ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App