coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मेयरमा हर्क सम्पाङको स्वतन्त्र उम्मेद्वारी

धरान– आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानको मेयर पदको लागि हर्क सम्पाङ राईले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन्।

जनसरोकार मञ्च नेपाल र राष्ट्रिय एकता सञ्जाल नेपालले मंगलबार धरानमा संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै राईलाई स्वतन्त्र उम्मेदवारको रुपमा उठाउने घोषणा गरेको हो। धरान १८ निवासी राईले आफ्नो उम्मेदवारी धराने जनताको हितको लागि हुने बताए। आफ्नो चुनावी एजण्डासमेत सार्वजनिक गरेका राईले संविधानको मर्म र भावना अनुसार धराने जनताको सेवक भएर इमान्दारीपुर्वक काम गर्ने पनि प्रतिवद्धता जनाए। ‘अहिले धरानको नेतृत्वले नगरबासीको हितमा काम गर्न सकेन, विकास निर्माणलाई अघि बढाउन सकेन,’ उम्मेदवारी घोषणा गर्दै राईले भने, ‘यसरी धरानलाई बन्धक बनाएर राख्न हुँदैन, त्यसैले मैले उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ।’

एयरपोर्ट, सर्दु जलाधार क्षेत्र, बसपार्क, खानेपानीलगायतका दीर्घकालिन आयोजनाहरुको विवादलाई वर्तमान उपमहानगरको नेतृत्व गर्ने पार्टी र जनप्रतिनिधिले समाधान गर्न नसकेको उल्लेख गर्दै उनले उपचुनावबाट आफु विजयी भए यी विवादहरुलाई निकास दिने पनि दाबी गरे। उनले जनताले तिरेको करबाट जनप्रतिनिधि भनिएकाहरुले सुखसुविधा भोग गर्नु उचित नभएको पनि बताए। ‘जनताको सेवा गर्न भनेर त्यो ठाउँमा जाने हो, त्यहाँ पुगेपछि करोडको गाडी चढ्न सुहाउँदैन,’ राईले भने, ‘चुनावमा जिते भने म यस्तो सुविधा केही पनि लिन्नँ।’

स्वतन्त्र उम्मेदवार राईले सुचनाको अधिकार, सुदृढ शान्ति सुरक्षा, सुशासनको प्रत्याभुति, चुस्तदुरुस्त प्रशासन, जनमुखी तथा जवाफदेही उपमहानगर, बैज्ञानिक कर प्रणाली लागु गर्ने घोषणा गरेका छन्। यस्तै, स्थानीय तहलाई दिइएको अधिकारलाई अधिकतम अभ्यास गर्दे संविधानले दिएको जनताको मौलिक हकहरुको ग्यारेन्टी, खानेपानी व्यावस्थापन, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, बसपार्क स्थानान्तरण, भुमिहिनहरुलाई धनीपूर्जा, आकाशे पुलहरुको निर्माण, रिङरोड निर्माण, विवादित एयरपोर्टबारेको ठोस निर्णयलगायतको योजनाहरु चुनावी एजेण्डाकोरुपमा उनले अघि सारेका छन्। 

स्वतन्त्र उम्मेदवार घोषणा गरेका राई धनकुटे रोड संघर्ष समितिका अभियन्ता पनि हुन्। १४० फुटको सहायक राजमार्ग विस्तार गरिँदा स्थानीयबासीको घरजग्गा ठूलो क्षति पुग्ने भएपनि धनकुटे रोडबासीहरु आन्दोलनमा उत्रिदा नेतृत्वकर्तामध्ये उनी पनि एक हुन्। राईको उम्मेदवारी  भ्रष्टचार विरोधी र सुशासन कायम गर्नको लागि भएको कारण समर्थन गरिएको जनसरोकार मञ्च नेपालले जनाएको छ। मञ्चका अध्यक्ष कृष्ण नारायण पलिखेले धरानको विकासको लागि साथै भ्रष्टाचार र माफियाकरणको विरुद्ध उभिने व्यक्ति भएकोले राईलाई उम्मेदवारीमा समर्थन जनाएको बताए। 

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट विजयी मेयर तारा सुब्बाको निधन पछि धरानमा मेयर पद रिक्त छ। यस्तै, वडा नं ७ का अध्यक्षको पनि निधन भएकोले वडा ७ मा पनि अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले मंसिर १४ मा उपनिर्वाचन गर्ने तयारी गरिरहेको छ। आयोगको तयारीसँगै धरानमा उपनिर्वाचनको माहोल तातिँदै गएको छ। 

प्रमुख दल नेकपाबाहेक अन्य दलहरुले उम्मेदवारी चयन प्रक्रिया अघि बढाइसकेका छन्। नेपाली कांग्रेसले उपमहानगर समिति सभापति तिलक राईलाई सर्वसम्मतरुपमा मेयर पदको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने समाजवादी पार्टीले नगर अध्यक्ष ताजुब लिम्बू, गजेन्द्र इस्वो र शुभचन्द्र राईलाई सिफारिस गरेको छ। 

यस्तै, संघीय लिम्बूवान मञ्चले जिल्ला अध्यक्ष अमर इजम र नगर अध्यक्ष सञ्जुहाङ साँवालाई सिफारिश गरिसकेको छ। उम्मेदवारको आकांक्षी धेरै भएको नेकपाले भने उम्मेदवार चयन प्रक्रियालाई औपचारिकरुपमा अघि बढाएको छैन।  

प्रकाशित: २८ आश्विन २०७६ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App