८ वैशाख २०८१ शनिबार
राजनीति

सांसद साहलाई जनकपुर ल्याइयो

सांसद प्रमोदकुमार साह पक्राउ विरोधमा जनकपुर विमानस्थलभित्र प्रदर्शन गर्दै राजपा समर्थकहरु ।

लहान– काठमाडौं विमानस्थलबाट पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) प्रमोदकुमार साहलाई विमानबाटै प्रहरीले जनकपुर ल्याएको छ। साह चढेको बुद्ध एयरको विमान ४ः४० बजे जनकपुर विमानस्थलमा अवतरण भएको थियो। उनलाई विमानस्थलबाट कडा सुरक्षा घेरामा राखेर जिल्ला प्रहरी कार्यालय जनकपुर लगिएको छ।

दिउँसोदेखि राजपा समर्थकहरुको ठूलो भिड जनकपुर विमानस्थलभित्र प्रदर्शन गरिरहेका थिए। भिडलाई नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। साहलाई कडा सुरक्षा स्कर्टिङबिच विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय जनकपुर लगिएको छ।

साह पक्राउ प्रकरणले निम्त्याउन सक्ने असहज अवस्थालाई मध्य नजर गर्दै विमानस्थलदेखि जनकपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। चोकचोकमा सुरक्षाकर्मी तैनाथ छन्।

मंगलबार राजपा संयोजक महन्थ ठाकुरले विज्ञप्ती जारी गर्दै सांसद साहको अविलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन्। विमानस्थलमा घण्टौं छटपटाइरहेका विरामीको पीडाबारे बुद्ध एयरको काउन्टरमा जानकारी गराउँदा उत्पन्न समान्य विवादलाई अतिरन्जीत बनाएर सांसद साहलाई काडमाडौं विमानस्थलबाट पक्राउ गरेको घटनालाई पार्टी भत्र्सना गर्दछ, विज्ञप्तीमा उल्लेख गरिएको छ।

सांसद साहलाई रिहा नगरिए उत्पन्न हुन सक्ने अहसज परिस्थितको जिम्मेवार स्यंम सरकार हुने विज्ञप्तीमार्फत चेतावनी दिइएको छ। प्रहरीले मंगलबार दिउँसो काठमाडौं विमानस्थलबाट सांसद साहलाई पक्राउ गरेको थियो।

सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको टिकट काउन्टर तोडफोड गरेको भन्दै साहमाथि मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएको छ।  सोही आधारमा उनीमाथि जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गर्यो। र, पक्राउ पूर्जीको आधारमा प्रहरीले साहलाई पक्राउ गरेको छ।

प्रकाशित: २८ आश्विन २०७६ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App