धनुषा - राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको छ । बुद्ध एयरको टिकट काउन्टर तोडफोड गरेको भन्दै प्रतिनिधिसभाका सांसद साहलाई सोही पक्राउ पूर्जीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न पत्र काटेको केही घण्टाको अन्तरालमै सांसद साह विमानस्थलबाट पक्राउ परेको विमानस्थलका प्रहरी प्रमुख डिआइजी सूर्य उपाध्यायले बताए। उनका अनुसार पक्राउ परेका सांसद साहलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइने छ।
सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।
आजै नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको थियो ।
जनकपुरबाट काठमाडौंका लागि ११ः४० बजेको उडान समय तोकिएको बुद्ध एयरको ५१० एटिआर ७२ का लागि बोर्डिङ पास लिएर सांसद साह विशिष्ट पाहुना कक्षमा बसेका थिए।
‘एयरक्राफ्ट होल्डमा परेकाले निर्धारित समयभन्दा ढिला उडान हुने जानकारी निरन्तर गराइरहेका थियौं,’ बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले भने, ‘सबै यात्रु शान्तिपूर्वक बसिरहनुभएको थियो, सांसद प्रमोद साहले भने विशिष्ट कक्षबाट जंगिँदै आएर हाम्रो काउन्टरको सिसा फुटाउनुभयो।’ उनले सांसदको त्यस्तो व्यवहारले आफूहरू चकित भएको प्रतिक्रिया दिए। ‘शान्त पार्न खोज्दा विशिष्ट कक्षको टेबलको सिसा पनि फुटाउनुभयो,’ उनले भने।
नियमित पाँच उडान रहेको जनकपुरमा आइतबार सबै विमान रद्द भएपछि सोमबार उडान थप गरिएकाले एयर ट्राफिक बढेको र उडानमा ढिलाइ भएको बताउँदै सिंहले सांसदजस्तो मान्छे तोडफोडमा उत्रिनु दुःखद भएको उल्लेख गरे। उक्त तोडफोडबाट जनकपुरस्थित विमास्थलमा रहेको बुद्ध एयरको काउन्टर, कम्प्युटर तथा भिआइपी कक्षमा केही सिसा फुटेको जनकपुर विमानस्थल प्रमुख सन्तोष ढकालले जानकारी गराए।
आइतबार चिनियाँ राष्ट्रपति सी चिङफिङको स्वदेश फिर्ताको समयमा जनकपुरको उडान तालिका रद्द गरेको कम्पनीले सोमबार मात्र उडान भरेको जनाइएको छ। सांसदले गरेको तोडफोडबारे बुद्व एयरले सोमबारको चापका कारण र दसैंपछि कम्पनीले थप विमान उडान सेवा थप गरेका कारण काठमाडौंबाट जनकपुरका लागि विमान उड्न केही ढिलाइ भएको स्विकारे।
घटनाबारे स्पष्ट पार्दै कम्पनीका बजार प्रबन्धक तथा सहायक प्रवक्ता रूपेश जोशीले आइतबार उडान भर्न नसकेकोे ७२ सिट क्षमताको ५०६ एटिआर विमान सोमबार पनि निश्चित समयमा उड्न नसकेपछि सांसदले तोडफोड गरेको बताए।
‘विमानस्थलमा रहेका कम्पनी कर्मचारीमाथि सांसदले अभद्र व्यवहार देखाउँदै तोडफोड गरेको रहेछन्,’ उनले भने, ‘विमानस्थलमा केहीबेर स्थिति तनावग्रस्त बनेपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सांसद साहलाई सम्झाइबुझाइ गरी उडान भयो।’ प्रजिअले सम्झाएपछि सांसद साहले गल्ती स्विकारेको र बोर्डिङ पास गराई उनलाई उडाएका उनले बताए।
प्रकाशित: २८ आश्विन २०७६ ०७:३७ मंगलबार