८ वैशाख २०८१ शनिबार
समाज

बढी भाडा लिएको आरोपमा मुद्दा दायर

खोटाङ- यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ। तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरिएको हो।     
     
खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही एक हजार ४ सय ५० रुपैयाँ लिनुपर्नेमा दुई हजार रुपैयाँ लिएको गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। यातायातमा कालोबजारी भएको गुनासो आए पनि उजुरी नपरेपछि प्रहरी आफैँ यात्रु भएर जाँदा कालोबजारी गरेको पुष्टि भएपछि उनीहरू पक्राउ परेका थिए।     

पक्राउ परेकाहरूविरुद्ध सोमबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्नाका साथै १० दिनको म्याद थप गरेर कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए। कालोबजारी आरोपमा एक वर्षसम्म कैद तथा १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने कानूनी प्रावधान छ।     
     
दशैँ–तिहारको बेलामा जिल्ला भित्रिने र बाहिरिने यात्रुबाट मनपरी भाडा लिएकाले जाँचका लागि ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए। ऐँसेलुखर्क, बाक्सिलालगायत ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनले यात्रुबाट मनपरी भाडा लिइरहेको गुनासो आएको थियो। रासस

प्रकाशित: २८ आश्विन २०७६ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App