८ वैशाख २०८१ शनिबार
समाज

मिनी चिडियाघरमै वन्यजन्तु असुरक्षित

भद्रपुर- पर्यटक आकर्षणका लागि झापाका थुप्रै सामुदायिक वनले मिनी चिडियाघरका नाममा पालेका वन्यजन्तु असुरक्षित भएका छन्।

मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वनमा तारजालीको कडा घेराभित्र पालिएका चार वयस्क हरिणलाई एक महीनाअघि कुकुरले चिथोरेर मारेपछि चिडियाघरका वन्यजन्तुको सुरक्षामा प्रश्न उठन थालेको छ। एकैखेपमा यति धेरै दुर्लभ वन्यजन्तु मारिएपछि सर्वसाधारण, वन्यजन्तु संरक्षणमा लागेका संस्था, सञ्चार माध्यम र सरकार सबैको ध्यान यसतर्फ तानिएको छ।    

जिल्ला वन कार्यालयबाट दुई वर्षअघि मात्र पर्यापर्यटनका लागि वन्यजन्तु पाल्ने इजाजत लिएको बाँसबारी सामुदायिक वनका अध्यक्ष शम्भु राजवंशीले जनावरको लालनपालन, उपचार र रुचिकर आहारका बारेमा उचित जानकारी नभएका कारण पालिएका वन्यजन्तु मर्ने गरेको जानकारी दिए। उनले आफ्नो सामुदायिक वनले सञ्चालन गरेको चिडियाघरमा पालिएका अजिङ्गर र निगाले बाघको बच्चासमेत मरेको बताए।  

गाउँलेले भेट्टाएका वन्यजन्तु वन कार्यालयलाई बुझाउने र वन कार्यालयले संरक्षणका लागि सामुदायिक वनहरुलाई जिम्मा लगाउने गर्दै आएका छन्। घाइते अवस्थामा उद्धार गरिएका वन्यजन्तुसमेत सामुदायिक वनमै राख्ने गरिएको छ। झापा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बाँसबारी, थोप्लेविरान, आदर्श र जुकेखाडी सामुदायिक वनले पर्यापर्यटनका नाममा वन्यजन्तु पाल्दै आएका छन् भने।

त्यहाँका वनमा हरिण, हाडखोर, गिद्ध, बँदेल, खरायो, लाटकोसेरा, ढेडु बाँदर, बँदेल, भालु, अजिङ्गर, मृग, मलसाप्रो, खरायो, बेलायती मुसा र हुचिल, वनढाडेलगायत दुई दर्जन वन्यजन्तु र पक्षी पालिएका छन्।  

उनका अनुसार उद्धार गरिएका र घाइते अवस्थामा फेला पारिएका वन्यजन्तुलाई कार्यालयमा संरक्षण गरेर राख्ने ठाउँ नभएका कारण सामुदायिक वनलाई नै बुझाउनुपर्ने बाध्यता रहेको छ। सामुदायिक वनहरुले पालेका वन्यजन्तु उचित संरक्षणको अभावमा मरेका घटना गुपचुप हुने गरेका छन्।

झापामा विगत पाँच वर्षमा १५ भन्दा बढी अजिङ्गर नै सामुदायिक वनको मिनी चिडियाखानामा मरिसकेको अनुमान छ तर यसको आधिकारिक तथ्याङ्क कुनै निकायले राखेको पाइँदैन। कालिका सामुदायिक वनले डेढ वर्षअघिदेखि वन्यजन्तु पाल्न शुरु गरेको हो। चारआली पशु सेवा केन्द्रबाट प्राविधिक बोलाएर कर्मचारीलाई वन्यजन्तु स्याहारसम्बन्धी तालीम दिन थालिएको उक्त सामुदायिक वनका अध्यक्ष योगेश भट्टराईले बताए।   

महीनामा २३ हजार रुपैयाँ वन्यजन्तुको आहारमा खर्च हुँदै आएको र वनमा पालिएकामध्ये एउटा हरिण, दुई अजिङ्गर र केही बँदेल मरिसकेका उनको भनाइ थियो। जिल्लामा सबैभन्दा बढी वन्यजन्तु पाल्ने सामुदायिक वन कनकाइको जामुनखाडी हो। उक्त वनका अध्यक्ष ख्याम सिटौलाका अनुसार भालु, अजिङ्गर, मृग, मलसाप्रो, खरायो, बेलायती मुसा र हुचिल, वनढाडेलगायत दुई दर्जन प्रजातिका जीवजन्तु र चरा त्यहाँ पालिएका छन्।   

प्रदेश नं १ को नमूना चिडियाघरको रुपमा इजाजत पाएको यस सामुदायिक वनमा समेत कुन बेला कति जनावर मरे भन्ने लेखाजोखा छैन। यहाँ हरिणको बथान नै पालिएको छ। डिभिजन वन कार्यालय झापासँग विसं २०६५ यता चितुवा, अजिङ्गर, चित्तल, डल्फिन, हाडखोरलगायत १० र जङ्गली हात्ती १० गरी २० वन्यजन्तु मरेको तथ्याङ्क छ। सामुदायिक वनको चिडियाघरमा कति वन्यजन्तु मरिसके भन्ने तथ्याङ्क राख्ने गरेको पाइएन।    

सामुदायिक वनहरुले सञ्चालन गर्दै आएको मिनी चिडियाघरले आन्तरिक पर्यटन र वन्यजन्तुको संरक्षणमा योगदान पुर्‍याएको यथार्थलाई नकार्न नसकिए पनि आम्दानी दिने चिडियाघरमा पालिएका निरीह वन्यजन्तुको सुरक्षा, स्याहार र उपचारमा पर्याप्त ध्यान पुग्न नसकेको सरोकारवालाहरूले बताए।    

पर्यटन प्रवद्र्धनका लागि काठेपुलमा गाउँपालिकाको बैठक     
झापाको हल्दिबारी गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्थानीय जलाशययुक्त भेलागढी उद्यानको बीचमा निर्मित काठेपुलमा हल्दिबारी महोत्सव आयोजना गरिने भएको छ। भेलागढी सामुदायिक वनको हाताभित्र रहेको सो उद्यानलाई लोकतान्त्रिक शहीद स्मृति उद्यान नामाकरण गरिएको छ।

सोमबार बसेको उक्त गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष काग तिहारदेखि छठपर्वको भोलिपल्टसम्म सो उद्यानमा हल्दिबारी महोत्सव आयोजना गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए। रासस

प्रकाशित: २८ आश्विन २०७६ ०५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App