८ वैशाख २०८१ शनिबार
समाज

योगमय होइन, नेतामय बन्यो वीरगञ्ज

स्वामी रामदेवको योग शिविरमा सभामुख ओनसरी घर्ती ।

वीरगञ्ज–योगमय बनाउने भनिएको वीरगन्जको आदर्शनगर रंगशालामा सञ्चालित योग शिविर नेतामय बनाउँदै सोमबार समापन भएको छ । भारतको हरिद्वारबाट आएका योग गुरु स्वामी रामदेवको शिविरलाई राजनीतिक ओज कायम राख्दै सभामुख ओमसरी घर्तीले पाँचौ तथा अन्तिम दिनको शिविर समापन गरिन्।

कार्यक्रमको निर्धारित तालिका अनुसार प्रधानमन्त्री पुष्पकमल दहालले समापनको दिनमा प्रमुख अतिथिको भूमिका गर्ने तय थियो। तर व्यस्त कार्यतालिका र संविधान संशोधनको प्रस्तावमा सहमति जुटाउने चटारोमा प्रधानमन्त्री दाहाल एक दिन अगाडि आइतबार नै स्वामी रामदेवको शिविरमा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए। प्रमुख दलका शीर्ष नेता सहभागी भएका योग शिविरको अन्तिम दिने शिविरमा सभामुख घर्ती उपस्थित भएकी थिइन्।

कार्यक्रमको निर्धारित तालिकामा नाम नरहेकी सभामुखलाई स्वामी रामदेवको शिविरमा ल्याउन रातारात कार्यक्रमको कार्यतालिका परिवर्तन गरेका थिए। सभामुखसँगै स्वामी रामदेवको आर्शिवाद थाप्न आउनेमा उच्च राजनीतिक नेताहरुको उपस्थिति उल्लेख्य रह्यो।

स्वामी रामदेवको योग शिविरको उद्घाटन गत बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका वरिष्ठ नेता झलनाथ खनाल र मुख्य मधेसी दलका सबै अध्यक्षहरु शिविरमा आएर आर्शिवाद थापेर फर्किसकेका छन्।

योग शिविर समापन सत्रका सभामुख घर्तीले मुलुकका समस्या राजनीतिक दलकै सहमतिमा सामाधान हुने बताइन्। राजनीतिक दलकै सहमतिमा नेपाली राजनीतिले अग्रगामी फड्को मार्न सफल भएको भन्दै सभामुख घर्तीले वर्तमान जटिलताको समाधान खोज्न विगतका अनुभवलाई उपयोग गर्ने बेला आएको बताइन् । नेपालमा आयुर्वेद उद्योग स्थापना गरेर पतञ्जलीले नेपाल भारत सम्बन्धमा नयाँ आयाम थपेको उनको भनाइ थियो। विगत पाँच दिनदेखि सञ्चालित योग विज्ञान शिविरको समापन समारोहलाई सम्बोधन गर्दै स्वामी रामदेवले मुलुकलाई बलियो र समृद्ध बनाउन राष्ट्रिय एकतामा जोड दिए।

प्रकाशित: १३ मंसिर २०७३ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App