८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ४० पुग्यो

टोकियो – हागिबिस आँधीका कारण जापानमा मृत्यु हुनेका संख्या ४० पुगेको छ। दशकौंपछिको शक्तिशाली आँधीसँगै आएको बाढी र पहिरोमा परी कैयौं व्यक्ति हराइरहेको र उनीहरुको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन्। आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि जापानमा सेनासमेत परिचालन गरिएको छ।

शक्तिशाली हागिबिस आँधीका कारण कम्तीमा १७ व्यक्ति हराइरहेको र कम्तीमा एक सयजना घाइते भएका क्योदो समाचार समितिले जानकारी दिएको छ। घाइतेको संख्या अझै बढ्नसक्ने अनुमान पनि गरिएको छ।

आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन्। यस आँधीका कारण जापानमा सञ्चालित लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता पनि अन्यौलमा परेको थियो। आँधीका कारण तीनवटा खेल रद्द गरिए पनि जापान र स्कटल्यान्डबीचको खेल भने तोकिएको समयमै सञ्चालन गरिएको छ। खेल जापानले जितेको छ। जितलाई आँधी प्रभावितसँगको खुसीमा बाँड्न चाहेको जापानी रग्बी टोलीका प्रशिक्षक ज्यामी जोसेफले बताएका छन्।

आँधीको बखत रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन्।  जापानको रक्षा मन्त्रालयले सोमबारसम्म करिब एक लाख १० हजार हजारलाई उद्धार अभियान सञ्चालन गर्नका लागि परिचालन गरिएको जानकारी दिएको छ। आइतबार बिहानदेखि आँधीको वेगमा कमी आएको छ तर मध्य जापानको नागानोमा भने बाढीको खतरा देखिएको अधिकारीहरुले बताएका छन्। नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीले बताएका थिए।

जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन्। मानिसले घरका झ्याल र बाल्कोनीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको भिडियो सञ्चारमाध्यमले  प्रसारण गरिरहेका छन्। नागानोमा एउटा बुलेट ट्रेन माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनले आइतबार नै प्रसारण गरेको थियो।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो। हालैका वर्षमा जापानमा आएको यो निकै शक्तिशाली आँधी हो। यो आँधी प्रतिघण्टा दुई सय १६ किलोमिटरभन्दा बढीको वेगमा आएको जापानको मौसम विभागले जानकारी दिएको छ।

प्रकाशित: २८ आश्विन २०७६ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App