८ वैशाख २०८१ शनिबार
विचार

दसैंमा देखिएको लैंगिक विभेद

लक्ष्मी सापकोटा
घरको छतमा एक जोडी परेवा सँगै बस्छन्, सँगै आकाशमा उड्छन्। म कल्पना गर्छु– कहिले त्यो दिन आउला र हामी महिला र पुरुष पनि त्यसैगरी समान रूपमा जीवनयापन गर्न पाऔंला ? अनि फेरि सोच्छु– त्यसको सुरूवात त आफू र आफ्नै घरबाट गर्नुपर्छ। अनि पो समानता आउँछ।  

विजयादशमी अर्थात् बडादसैंं, माता शक्तिको पूजा गर्ने पर्व हो। यस पर्वले महिला शक्तिको सम्झना गराउँछ। यो चाडले साँच्चै महिलाको, माताको अथवा प्रकृतिको शक्ति महसुस गर्न मद्दत गर्छ। तर यस्तो पर्व व्यावहारिक रूपमा कसरी मनायौं  भन्ने कुराले महŒवपूर्ण अर्थ राख्छ। हेरौं केही उदाहण ः  

महिलाले पनि पुरुषसरह मदिरापान गरी तास खेल्नु समानता होइन, बरु पुरुषले पनि घरको काममा सघाउनुचाहिँ समानता हो।

उदाहरण १
टीका लगाउने बेला भयो। हामी श्रीमान्–श्रीमती सँगै बस्यौं। हाम्रा मान्यजनले भन्नुभयो– टीका लगाउँदा श्रीमान् दाहिने, श्रीमती देबे्र बस्ने।  मैले आज्ञा मानें र श्रीमान्को देब्रेतिर बसें। मेरी छोरीले प्रश्न गरिन्, ‘ममी किन देब्रे र बाबा दाहिने बस्नुपर्ने ?’ मान्यजनले भन्नुभयो– बाबा पुरुष हो र ममी महिला, त्यसैले महिला पुरुषको देब्रेतिर बस्नुपर्छ। पछि पनि छोरीले मलाई सोधी, ‘ममी किन हजुर बाबाको देब्रेतिर बसेको ? मैले जवाफ दिएँ, ‘ठूलो मान्छेले भनेको मान्नुपर्छ, त्यसैले म देब्रेतिर बसेको।’ छोरीको जिज्ञास त मेटियो, तर मेरो मनमा यो प्रश्न रहिरह्यो– साँच्चै किन म उठेर देब्रेतिर बस्नुप¥यो ? कानुनमा त कतै पनि यस्तो लेखेको छैन। बरु महिला–पुरुष समान भनिएको छ।

उदाहरण २
पदार्थले चेतना निर्माण गर्छ भनेर कार्ल माक्र्सले भनेका थिए। सोहीबमोजिम हाम्रो पितृसत्ताले हाम्रो चेतना निर्माण गरेकोे छ। टीका लगाउन बसियो, मान्यजनले आशिष दिनुभयो। उहाँहरूले दिएको आशिषको कुरा गरौं। पुरुषलाई संस्कृतमा दिइएको त्यति लामो आशिषको अर्थ थियो– अस्वस्थामाको जस्तो आयु होस, दशरथको जस्तो कीर्ति होस्, भीमको जस्तो बल होस, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कीर्ति होस्।  अनि महिला अर्थात् मलाई संस्कृतमै दिइएको आशिषको अर्थ थियो– तिमी जयन्ती हो, मंगला हो, काली हो, कपाली हो, भद्रकाली हो, दुर्गा हो, क्षमा हो, शिवा हो, धात्री हो, स्वाहा हो, स्वधा हो, तिमीहरू ११ वटा देवीलाई मेरो नमस्कार छ।

महिलालाई पित्तृसत्ताले यस्तो सोचेको थियो र यसरी राखेको छ। त्यहाँ पुरुषलाई दिने आशिषमा विदुरजस्तो विद्वान् भन्ने थियो। हामी महिलाचाहिँ विद्वान् हुन सक्दैनौं...आदि ? यस्ता प्रश्नहरूले मन उद्वेलित भयो।

महिला मान्यजनले आशिष दिँदा अर्कोचोटि छोरा पाएस् भन्ने नै थियो। उहाँहरू सबैलाई थहा थियो– मेरा दुई छोरी छन्। पहिले–पहिले दिइने आशिष सन्तानले डाडाँकाँडा ढाकुन् भन्ने थियो। तर अहिलेको महँगीले गर्दा होला, ‘सन्तानले डाडाँकाँडा ढाकुन्’ होइन, छोरा पाएस् भन्ने आशिष पाइयो। दुईवटा छोरी भए पनि छोरा पाएस् भनेर आशिष दिइन्छ। यहाँ पनि महिला–पुरुष भनेर भेदभाव गरेको देखियो।

उदाहरण ३
दसैं भनेको आशिष लिने र दिने पर्व हो। तर अहिले यस पर्वलाई दक्षिणा लिने÷दिने चाडका रूपमा पनि हेरिन्छ। म यो चलनको विरोधी हुँ। दक्षिणा लिने÷दिने गरेर कसैलाई पनि भार गराउनु हुँदैन भन्ने मेरो सोच हो। तर यो चलन चलेको छ र यस चलनमा पनि भेदभाव छ जस्तै ः पुरुषले अर्थात् हजुरबुबा, बुवा, मामा, दाइ, भाइले दक्षिणा धेरै दिनुपर्ने रे ! तर महिलाले अर्थात् हजुरबुआमा, आमा, माइजू, दिदीले थोरै दिए पनि हुने ! यसलाई अन्यथा मानिँदैन। तर महिलाले पुुरुषले भन्दा धेरै दक्षिणा दिएमा चर्चा नै हुन्छ। यसको कारण महिला आर्थिक रूपमा सक्षम नभएर अथवा हुँदैनन् भन्ने सोचेर होला अर्थात् कमाउने त पुरुष नै हो भन्ने सोचेर होला। अनि छोरीलाई भन्दा बढी ज्वाइँलाई दक्षिणा दिने पनि चलन छ। कतै बराबरी दिने चलन पनि होला, तर कति ठाउँमा अझै घटीबढी नै दिने परम्परा छ। यसले पनि भेदभाव देखाउँछ।

उदाहरण ४
आफ्नो घरमा टीका लगाउँदा होस् वा अन्य आफन्तकहाँ टीका लगाउन जाँदा होस्, भान्सामा गएर खाना तयार गर्ने जिम्मा महिलाकै हुने। खाना तयार गर्ने चटारो महिला मात्रै किन हुने ? सामाजिक सञ्जालतिर महिलालाई घरको काम अनि पुरुषचाहिँ मदिरापान र तासमा व्यस्त भनेर प्रश्न गरेको पाइयो। तर महिलाले पनि पुरुषसरह मदिरापान गरी तास खेल्नु समानता होइन, बरु पुरुषले पनि घरको काममा सघाउनुचाहिँ समानता हो। तर दसैंमा महिलालाई मात्र भान्साको चटारो धेरै देखियो। यस्तो चटारो पुरुषलाई परेको देखिएन।  

नेपालको संविधानको धारा १८ ले समानताको हक दिएको छ। तर व्यवहारमा लागू हुन सकेको छैन। माथि उल्लेख उदाहरणमा जस्तो चलन देशका सबै ठाउँमा नभए पनि देशका अधिकांश स्थानमा यस्तै परम्परा छ। यो मैले देखेको र भोगेको छु। अब हाम्रो पुस्ताले चाहिँ यसमा परिवर्तन गरी महिला–पुरुष भनेर भेदभाव नगरी दुवैलाई समान मानवको व्यवहार गर्नुपर्छ।  उपप्राध्यापक, काठमाडौ स्कुल अफ ल

प्रकाशित: २८ आश्विन २०७६ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App