सर्लाही – सोमबार बिहान ईश्वरपुर नगरपालिकाअन्तर्गत कालिञ्जोर निवासी टीकामाया विश्वकर्मा खेतमा छरपष्ट धानको बाला एक–एक गरी धमाधम टिपिरहेकी थिइन्। विगतका वर्षहरुमा धानको बोट काटेपछि खलमा पु-याएर झार्ने गरेकी विश्वकर्मालाई यस वर्ष भुँईभरी छरपष्ट धानको बाला टिप्नुपर्ने बोझ थपिएको छ।
‘के गर्नु थाहै नपाई धानको बाला किराले काटेर भुँईभरी छरपष्ट पारेछ, बोटमा त थोरै मात्र बाला बाँकी छ,’ उनले गुनासो गरिन्, ‘धान काटेर त सकियो अब भुँईभरी छरपष्ट बालाहरु टिप्नु परेको छ।’ विश्वकर्मा मात्र हैन दुई दिनयता ईश्वरपुर, लालबन्दी, हरिवन, बागमतीलगायत नगरपालिकाका हजारौं किसान यसरी नै भुइँभरी छरपष्ट धानको बाला टिप्न व्यस्त छन्।
‘दसैं लागेयता फौजी किराले रातभर धानको बाला काट्ने गरेको रहेछ, दिउँसो लुकेर बस्ने किरा साँझ पर्दै गएपछि टुप्पामा चढेर बाला काट्दो रहेछ,’ विश्वकर्माले भनिन्, ‘दुई दिनअघि धान काट्न सुरु गरेपछि मात्र पो फौजी किराले बाला काटेर सखाप पारेको थाहा पाइयो, यसपालि आधाभन्दा बढी धान नोक्सान भयो।’ डेढ बिघामा लगाएको धानबाली फौजी किराले सखाप पारेको विश्वकर्माले गुनासो गरिन्। ‘ठाडो बोटमा मात्र हैन र काटेर सुकाउनका लागि खेतमै फिँजाएको धानमा समेत फौजी किराले नोक्सान पु-याइरहेको छ,’ उनले भनिन्, ‘कतिपय धानको बोटमा त पराल मात्रै छ, अधिकांशमा आधाभन्दा बढी बाला भुइँभरी छरपष्ट छ।’
गत विगत वर्षहरुमा प्रतिकट्ठा पाँच मनसम्म धान फल्ने गरे पनि यो वर्ष मुस्किलले दुई मन पुग्ने किसानको गुनासो छ। बाला पसाउने बेला भदौ अन्तिम तथा असोज पहिलो साता अविरल वर्षा भएकाले यस वर्ष धानको उत्पादन निकै बढ्ने अनुमानसहित हर्षित बनेका किसानलाई फौजी किराको आतंकले निरास बनाएको छ। दिनभर लुकेर बस्ने र रातपरेपछि मात्र बाहिर निस्कने भएकाले विषादी छर्किंदासमेत फौजी किराको प्रकोप नरोकिएको किसानले बताएका छन्।
सर्लाही र महोत्तरी जिल्ला हेर्ने कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द राय यादव फौजी किराको प्रकोपले धान रोपेका किसान यो वर्ष निकै मारमा परेको बताउँछन्। ‘फौजी किराले धानको बाला काटेर सखाप पारेकाले यो वर्ष उत्पादन निकै घट्ने अनुमान छ,’ उनले भने, ‘दिनभर भुइँ वा धानको गुभाभित्र लुक्ने र रात परेपछि बोटको टुप्पामा चढेर बाला काट्ने भएकाले विषादीले समेत फौजी किराविरुद्ध त्यति सारो प्रभावकारी काम गर्न सकेको छैन।’
यादवका अनुसार सर्लाहीमा यो वर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ। गत विगत वर्षहरुमा एक लाख ८५ हजार मेट्रिक टन हाराहारीमा धान उत्पादन हुने गरे पनि यो वर्ष भने फौजी किराको प्रकोपका कारण आधाले घट्ने अनुमान गरिएको छ।
प्रकाशित: २८ आश्विन २०७६ ०२:२९ मंगलबार