८ वैशाख २०८१ शनिबार
समाज

मापदण्डविपरीत प्रवेशद्वार

पूर्वपश्चिम राजमार्गमा पर्ने चिसापानीमा सडक अतिक्रमण गरी बनाइएको प्रवेशद्वार। तस्बिर ः सौजन्य/भावुक योगी

बर्दिया - बर्दिया र कैलालीको सिमानामा पर्ने चिसापानीस्थित पूर्वपश्चिम राजमार्गमा प्रवेशद्वार (गेट) सडक अतिक्रमण गरी निर्माण भइरहेको पाइएको छ। सुदूरपश्चिम प्रवेशबिन्दु चिसापानीमा सम्पन्न हुने तरखरमा रहेको सो प्रवेशद्वार सडक मापदण्डविपरीत निर्माण भइरहेको हो।

पूर्व–पश्चिम राजामार्गअन्तर्गत चिसापानीको पुलभन्दा पूर्वपट्टि निर्माण भइरहेको सो प्रवेशद्वार हचुवाको भरमा सरकारी ढुकुटी खर्च गरेर बनाइएको खुलेको छ। पूर्वपश्चिम राजमार्ग चार लेनको बनाउन प्रक्रिया अघि बढिरहेको बेला निर्माण भइरहेको प्रवेशद्वार सरकारी ढुकुटी सिध्याउने विकास निर्माणको नमुनामध्येमा पर्छ। सडक विस्तार गर्दा सो द्वार भत्काएर बनाउनुपर्ने भए पनि सडक अतिक्रमण गरेरै बेरोकटोक निर्माण भइरहेको छ।

औचित्यहीन प्रवेशद्वार निर्माणका लागि प्रदेश ५ को भौतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन कार्यालयले डिजाइन र लगत स्टिमेट गरी ठेक्का आह्वान गरेको खुलेको छ। सो प्रवेशद्वार निर्माणको टेन्डर आह्वान पनि बुटवलस्थित ५ नम्बर प्रदेशस्थित भौतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गतको एकाइले गरेको हो।

यता सडक अतिक्रमणमा परेको संरचना सडक विभागले प्रवेशद्वार भत्काउन पहल गरेको छ भने प्रदेश ५ को भौतिक तथा पूर्वाधार मन्त्रालय जथाभावी र हचुवाको तालमा जबरजस्ती निर्माणलाई तीव्रता दिइरहेको छ। प्रवेशद्वारका तलका पिलर निर्माण भइसकेका छन् भने माथिपट्टिको निर्माण गर्ने काम मात्र बाँकी छ। निर्माण सम्पन्न भएपछि तुरुन्त निर्माण व्यवसायीलाई भुक्तानी दिने काम पनि मिलेमतोमा हुने स्रोतको दाबी छ।

हेर्दा पनि कुनै हिसाबले उपयुक्त नदेखिने ठाउँमा लाखौं खर्च गरेर प्रवेशद्वार निर्माण गरिनु दुखद भएको एक स्थानीयले गुनासो गरे। यस ठाउँमा भद्दा प्रवेशद्वार हाम्रा आँखाले उपयुक्त ठान्दैन,’ उनले भने, ‘प्राविधिकका आँखाले यही ठाउँमा प्रवेशद्वार बनाउनुपर्ने देख्यो, अचम्म लाग्छ।’

सडक अतिक्रमण गरेर निर्माण भइरहेको सो प्रवेशद्वार औचित्यहीन भएको सडक डिभिजन कार्यालय प्रमुख रामकुमार देवले बताए। ‘सडक अतिक्रमण गरेका संरचना हटाइरहेका छौं,’ उनले भने, ‘सडक मापदण्डभित्र नयाँ संरचना पूर्ण रूपमा रोक छ।’ संघीय कार्यक्षेत्रभित्र पर्ने पूर्वपश्चिम राजमार्गमा निर्माण भइरहेको प्रवेशद्वार सडक अतिक्रमण गरी अनधिकृत रूपमा निर्माण भएको उनले जानकारी दिए। उनका अनुसार अतिक्रमण गरेर बनाएको सो प्रवेशद्वार भत्काउन परिपत्र सडक डिभिजन कार्यालय, बाँकेले गरिसकेको छ।

सडक मापदण्डमा पर्ने कुनै ठाउँमा कुनै पनि संरचना निर्माण गर्दा सडक विभागसँग अनुमति लिएर बनाउनुपर्ने बाध्यकारी नियम प्रवेशद्वार निर्माण गर्ने क्रममा लत्याइएको छ। मापदण्डविपरीत प्रवेशद्वार निर्माण नभएको सहरी विकास तथा भवन कार्यालय, बुटवलका प्रमुख रामआत्रे शाहले बताए। नागरिक संवाददाताले प्रमुख शाहसँग प्रवेशद्वारको लागत स्टिमेट र निर्माण अवधिबारे जानकारी लिन खोज्दा कर्मचारी नभएको बहाना बनाएर तर्किए।

प्रकाशित: २८ आश्विन २०७६ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App