६ वैशाख २०८१ बिहीबार
समाज

खडेरीपीडितलाई खाद्यान्न

नगरपालिकाले उपलब्ध गराएको चामल ट्याक्टरमा हालेर घर लैजाँदै हलेसीका स्थानीय। तस्बिरःदमन राई/नागरिक

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले ८ वटा वडाका खडेरीपीडितलाई खाद्यान्न वितरण गरेको छ। लामो समयसम्मको खडेरीले मकैलगायत वर्षे बाली छर्न नपाएको तथा छरेको बालीनाली पनि खडेरीले सुकेर मर्दा खाद्य संकट झेल्न बाध्य नगरवासीलाई नगरपालिकाले चामल वितरण गरेको हो।

नगरपालिकाका ११ वडामध्ये डिकुवा, च्यास्मिटार, बडहरे, मंगलटार, महादेवस्थान, धितुङ, अर्खौले र सल्लेका खडेरीपीडितलाई खाद्यान्न वितरण गरिसकिएको मेयर इवन राईले बताए। हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेबाट खडेरी प्रभावितलाई असोज १५ गतेदेखि खाद्यान्न वितरण सुरु गरिएको हो। दसैं अघि ८ वटा वडाका खडेरीपीडितलाई राहतस्वरूप चामल वितरण गरेको नगरपालिकाले तिहारअघि बाँकी वडामा पनि खाद्यान्न वितरण गर्ने जनाएको छ। नगरपालिकाका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, ५ को दुर्छिम र ११ को राजापानीमा खाद्यान्न वितरण गर्न बाँकी छ। बाहुनीडाँडामा भने गत वर्षाका बेला सडक भत्किएकाले गाउँगाउँमा चामल पु¥याएर वितरण गर्न नसकिएको मेयर राईले बताए।

नगरपालिकाका करिब ५ हजार ५ सय घरधुरीका खडेरीपीडितलाई जनही १० केजीका दरले चामल वितरण गरिएको छ। खडेरीले मकैका बिरुवा भासभुस मर्न थालेपछि नगरसभाबाटै खाद्यसंकट क्षेत्र घोषणा गरेर खाद्य सुरक्षाको कार्यक्रम ल्याएको नगरपालिकाले करिब १ करोड ३० लाख रुपैयाँबराबरको चामल खरिद गरिएको जनाएको छ।

खडेरीका कारण खाद्य संकट बेहोरिरहेका सर्वसाधारणलाई दसैंतिहार मनाउन समेत अप्ठ्यारो परिरहेको अवस्थामा नगरपालिकाले खाद्यान्न वितरण गरेको हो। खाद्यान्न वितरणका कारण दसैंतिहारमा खाद्यान्न जुटाउन मजदुरी गर्न बाध्य स्थानीय हर्षित देखिएका छन्। खाद्य संकट क्षेत्र घोषणा गरेर खाद्य सुरक्षाको कार्यक्रम सञ्चालनका लागि नगरपालिकाको टोली प्रदेश र संघीय सरकारलाई गुहार्नसमेत पुगेको थियो। तर, प्रदेश र संघीय सरकारबाट सहयोग प्राप्त नभएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: २८ आश्विन २०७६ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App